News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ मा क्रिकेट र चेस प्रशिक्षणका लागि 'क्रिकेट एरेना एकेडेमी' को औपचारिक उद्घाटन गरिएको छ ।
- नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेको उक्त एकेडेमीमा ग्रासरुट तहबाटै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको सञ्चालक रुपक अर्यालले बताए ।
- पूर्वराष्ट्रिय क्रिकेटर प्रदीप गुरुङले प्रशिक्षण दिने यस एकेडेमीमा हाल १० जना खेलाडीले अभ्यास गरिरहेका छन् ।
३० साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको औपचारिक उद्घाटन भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार आयोजित कार्यक्रममा एकेडेमीको शुभारम्भ गरेका हुन् । ‘क्रिकेट एरेना : स्कुल अफ क्रिकेट, स्कुल अफ चेस’ नाम दिइएको एकेडेमीमा क्रिकेटसँगै चेसको प्रशिक्षण दिइनेछ ।
बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित ओमनगर समाजमा रहेको एकेडेमी करिब साढे ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमीमा क्रिकेटका लागि दुईवटा इन्डोर नेटसँगै खुला क्रिकेट मैदान निर्माण गरिएको छ । मैदानमा स्ट्यान्डर्ड पिचसमेत निर्माण गरिएको सञ्चालक रुपक अर्यालले जानकारी दिए । उनका अनुसार मैदानमा एक टिममा आठ खेलाडी राखेर खेल्न सकिनेछ ।
पछिल्लो समय क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्रासरुट तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याइएको अर्यालले बताए ।
‘बच्चाहरूलाई खेल मात्र नभई मानसिक विकासका लागि पनि क्रिकेट र चेसको प्रशिक्षण दिने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएका छौँ,’ उनले भने ।
हाल एकेडेमीमा १० जना खेलाडीले प्रशिक्षण लिइरहेका छन् । आगामी दिनमा ४० देखि ५० जनासम्मलाई प्रशिक्षण दिने लक्ष्य राखिएको अर्यालले बताए । त्यसका लागि प्रवेश खुला गरिने र सातामा तीन दिन तथा छ दिन प्रशिक्षण लिन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । प्रशिक्षणमा भर्ना हुने खेलाडीलाई क्रिकेट ब्याट र टिसर्टसमेत उपलब्ध गराइनेछ ।
एकेडेमीमा पूर्वराष्ट्रिय क्रिकेटर प्रदीप गुरुङले प्रशिक्षण दिनेछन् । राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका गुरुङ बालुवाटार क्रिकेट क्लबका पूर्वखेलाडीसमेत हुन् ।
एकेडेमीको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले क्रिकेटका एकेडेमी सञ्चालनमा आउनु खुशी र गौरवको विषय भएको बताए । उनले एकेडेमीबाट भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।
अधिकारीले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पछिल्लो समय युवापुस्तामा क्रिकेटप्रति आकर्षण बढ्दै गएको बताए । बुढानीलकण्ठ नगरपालिकाले क्रिकेटलगायत विभिन्न खेललाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले नयाँ क्रिकेट एकेडेमीको स्थापनाले स्थानीय खेलकुद विकासमा थप योगदान पुग्ने बताए।

प्रतिक्रिया 4