
२८ साउन, पोखरा । नेपाल आदिवासी जनजाति महासंघ फोनिजको २१ औं स्थापना दिवसका अवसरमा पोखरामा २ जना आदिवासी पत्रकार सम्मानित भएका छन् ।
फोनिजको स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा कास्कीका रुद्रबहादुर थापामगर र बाग्लुङका राजेशचन्द्र राजभण्डारीलाई ‘कञ्चन पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मान गरिएको हो ।
लामो समयदेखि पत्रकारितामा सक्रियसम्मानित दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद २५ हजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुले आफ्ना स्वर्गीय माता–पिता वेदमान र नेत्रकुमारीको नामबाट सो पुरस्कार स्थापना गरेका थिए भने फोनिज गण्डकी प्रदेशले संयोजन गरेको हो ।
सम्मान पश्चात कार्यक्रममा बोल्दै पत्रकार राजभण्डारीले आफूलाई पत्रकारितामा अझै अगाडि बढ्न ऊर्जा मिलेको बताए । त्यस्तै थापामगरले इमान्दारिताका साथ पत्रकारितामा नै जीवन बिताउने बताए ।
पुरस्कारदाता गुभाजुले कार्यक्रममा आदिवासी जनजाति पत्रकारका लागि आफ्नै स्व. आमाबाबाको नाममा ६ लाखको अक्षयकोष स्थापना गर्ने घोषणासमेत गरे । कार्यक्रममा संस्थालाई पु¥याएको योगदानका आधारमा आभारपत्रसहित पुरस्कार तथा अक्षयकोषदाता गुभाजु, अधिवक्ता जुनाकुमारी गुरुङलाई समेत सम्मान गरिएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले फोनिजले लामो समय पत्रकारितामा बिताएका अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने काम गरेको बताए ।
उपाध्यक्ष दिल श्रीष, पुरस्कार छनौट समितिका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र थापामगर, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुम गुरुङलगायतले फोनिज आदिवासी पत्रकारका सवालमा जोडिने गरी काम गर्दै आएको बताए ।
प्रतिक्रिया 4