Comments Add Comment

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

हामीकहाँ नेताहरुको अगाडि जोडिने विशेषण हो, युवा । जब कुनै नेताको अगाडि ‘युवा’ फुर्को जोडेर सम्बोधन गरिन्छ, जग हाँस्छ । यसकारण कि, ति नेताको उमेरले डाँडा काटिसकेको हुन्छ । तर, चिन्तकहरु भन्छन्, ‘युवा हुनु र नहुनुको सम्बन्ध उमेरसँग जोडिदैन ।’ अर्थात कोही व्यक्ति उमेरले ५० बर्ष पुगेका छन् । तैपनि उनी युवा हुनसक्छन् । कोही व्यक्ति उमेरले २५ बर्षका हुनसक्छन् । तर, उनमा युवापन नरहन सक्छ ।

किनभने ‘युवा’ले उमेरको भेद छुट्याउने भन्दा पनि गुणलाई दर्शाउँछ । त्यसैले कुनै व्यक्तिको अगाडि युवा विशेषण यसकारण उपयुक्त हुनसक्छ कि, उनमा उत्साह, जोश, उर्जा, जाँगर, गतिशिलता छ । यी तमाम् गुणहरुले नै कुनै व्यक्तिलाई ‘युवा’ बनाउने हो ।

ओशोले एक प्रवचनमा भनेका छन्, ‘हामीकहाँ धेरैजसो नागरिक जन्मदै बुढो छन् ।’ बुढो हुनु भनेको निस्क्रिय, शिथिल, उदास, कमजोर, गतिहिन हुनु हो ।

कोही व्यक्ति यस्ता हुन्छन्, जो उमेरले ६०–७० बर्ष पुगिसकेका हुन्छन् । यद्यपि उनीहरुमा युवापन ज्युँको त्यूँ हुन्छ । उनीहरु उत्तिकै उत्साहित र उमंगित हुन्छन् । उत्तिकै उर्जावान र गतिशिल हुन्छन् । हरेक कुरामा आफुलाई जागरुक राख्छन् । उनीहरु सधै सचेत र सर्तक अवस्थामा हुन्छन् । परिवर्तनलाई सहजै आत्मसात गर्ने गुण हुन्छ ।

युवा भनेको आफुलाई उर्बर बनाइराख्नु हो । युवा सधै जागरुक हुन्छन् । युवा सधै उत्सुक हुन्छन् । युवा सधै उत्साहित हुन्छन् । युवा हुनुको गुण हुन् यी । रजनिश भन्छन्, ‘सबै युवा युवा हुँदैनन्, सबै बुढा बुढा हुँदैनन् । जसलाई युवा हुने कला आउँछ, ऊ उमेरले बुढो भएर पनि युवा नै रहन्छन् । र, जसलाई युवा हुने कला आउँदैन, ऊ युवा भएर पनि बुढो रहन्छ ।’

तपाईं २५ बर्षको हुनुहुन्छ । आफुलाई जवान ठान्नुहुन्छ । युवा ठान्नुहुन्छ । तर, त्यो तपाईंको भ्रम पनि हुनसक्छ । किनभने यत्तिका उमेरमा पनि तपाईं निस्क्रिय, उदास, निरास रहनुहुन्छ भने तपाईं युवा रहनुहुन्न । युवाको गुण होइन, उदासी, निरास । युवा सधै आशावादी हुन्छ । युवाहरु समस्यासँग जुध्न तयार रहन्छन् । उनीहरु हरेक समस्यामा संभावना देख्छन् । अवसर देख्छन् । जुझारुपन पनि युवा हुनुको लक्षण हो । कुनैपनि समस्याबाट हार नखाई जुधिरहने व्यक्ति युवा हुन् । युवाहरु शिथिल हुँदैनन् । कमजोर र शक्तिहिन हुँदैनन् ।

हामी युवाको कुरा गर्छौं । युवा नेता भन्छौं, युवा उद्यमी भन्छौं, युवाशक्ति भन्छौं । यद्यपी यी युवाहरु नाममा होइन, गुणमा निर्भर रहन्छ ।

तपाईं कति बर्ष पुग्नुभयो ? प्रश्न यो होइन । तपाईंमा कति युवापन छ ? घोत्लिनुपर्ने विषय हो यो । तपाईंमा ति तमाम गुणहरु छन् भने तपाईं युवा नै हुनुहुन्छ । र, तपाईंको अगाडि अनन्त संभावना छन् । उमेरको कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment