+
+
Shares

२५ म्यानपावरलाई मात्रै छनोट गरेपछि मलेसियालाई सरकारको पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका २५ वटा म्यानपावर कम्पनी सूचीकृत भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ।
  • मन्त्रालयले विद्यमान प्रणाली निरन्तरता दिन वा नयाँ प्रणाली लागू गर्न द्विपक्षीय छलफल र संवादबाट टुङ्गो लगाउन मलेसियालाई आग्रह गरेको छ।
  • सयौं म्यानपावर कम्पनी रहँदा सीमित कम्पनीलाई अनुमति दिँदा सिन्डिकेट लागेको भन्दै व्यवसायीहरूले विरोध जनाएपछि मन्त्रालयले कूटनीतिक पहल थालेको हो।

७ भदौ, काठमाडौ । २५ वटा म्यानपावर कम्पनी सूचीकृत भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई पत्राचार गरेको छ ।

मलेसिया सरकारले नेपालबाट श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई सूचीकृत गरेको विषयमा श्रम मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्राचार गरिएको बताए ।

नेपालमा सयौं म्यानपावर कम्पनी इजाजत लिएर काम गरिरहेको अवस्थामा केही सीमित कम्पनीलाई मात्रै अनुमति दिँदा व्यवसायमा एकाधिकार (सिन्डिकेट) लादिएको भन्दै व्यवसायीहरूले विरोध जनाएपछि मन्त्रालयले कूटनीतिक पहल सुरु गरेको हो ।

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पठाएको पत्रमा विद्यमान प्रणालीलाई नै निरन्तरता दिन वा नयाँ प्रणाली लागु गर्ने भए द्विपक्षीय छलफल र संवादबाट टुङ्गो लगाउन आग्रह गरिएको हो ।

‘हामीले परराष्ट्र मार्फत मलेसियालाई एउटा पत्र पठाएका छौँ । जसमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता र संयुक्त प्राविधिक समितिको बैठक मार्फत यस्ता विषयमा छलफल हुनुपर्ने उल्लेख गरिएको छ,’ प्रवक्ता घिमिरेले भने । मन्त्रालयले सुधार र पारदर्शिताका लागि नेपाल सकारात्मक रहे पनि सिन्डिकेटको पक्षमा नरहेको प्रस्ट पारेको छ ।

मन्त्रालयले हाललाई पुरानै संयन्त्र मार्फत कामदार पठाउने वातावरण मिलाउन र कुनै पनि नयाँ परिवर्तन गर्दा आपसी समझदारीमा गर्न जोड दिएको छ । मलेसिया सरकारले यस पत्राचारको जवाफ कसरी दिन्छ भन्नेमा अबको थप कदम निर्भर हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?