Comments Add Comment

फुटबल टिमको प्रशिक्षण स्थगित

२८ साउन, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले भदौदेखि शुरु गर्ने भनिएको प्रशिक्षण स्थगित भएको छ । अक्टोबर/नोभेम्बरमा हुने भनिएको फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट खेलहरु २०२१ मा सरेपछि नेपाली फुटबल टिमको प्रशिक्षण सुरु नहुँदै स्थगित भएको हो ।

नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले अब एएफसीबाट अर्को सूचना नआएसम्मका लागि फुटबल खेलाडीको प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

‘एएफसीबाट अर्को सूचना नआएसम्मका लागि प्रशिक्षण स्थगित गरिएको छ’ उपाध्यायले भने । उनले कोरोना परीक्षण गरिएका खेलाडीहरु अब आ-आफ्नो घर जाने बताए ।

विश्वकप छनोट अन्तर्गतका खेलहरु २०२१ मा हुने भनिएपनि कुन मितिमा हुने तोकिएको छैन । छनोट खेल सरेपछि अब नेपाली फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्न २०२१ सम्म कुर्नुपर्नेछ । यसको अर्थ २०२० को बाँकी साढे ४ महिना नेपालले कुनै खेल खेल्ने छैन ।

सरकारले केही समयअघि लकडाउन खुला गर्दै भदौ १ देखि जनस्वास्थयको मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण सुरु गर्न सकिने निर्णय गरेको थियो ।

त्यसै अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले उपत्यकाबाहिर रहेका खेलाडीसमेत बोलाएर कोरोना संक्रमण परीक्षण समेत गराएको थियो ।

परीक्षणका लागि स्वाब दिएका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ  । अब ३४ जनाको बाँकी छ  ।

एन्फाले खेलाडी, कोचिङ स्टाफ, अफिसियल र होस्टलको स्टाफ गरेर कूल ५४ जनाको कोरोना परीक्षण गराएको थियो ।

एन्फाले प्रशिक्षण सुरु गर्नका लागि एन्फाको होस्टल खाली गरेर निर्मलीकरणसमेत गरेको थियो । तर पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको दर बढेपछि सातदोबाटोस्थित एन्फा केन्द्रीय कार्यालय पनि बिहीबारदेखि एक साता बन्द भएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment