Comments Add Comment

नेपालका पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने सन्देश दिनुपर्छ : जोशी

३० साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरुत्थान सहज हुने बताएका छन् ।

लकडाउनपछि पर्यटन क्षेत्र खुला गरिएको अवस्थामा नेपालसुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्‍याउनुपर्ने जोशीले बताए ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वसीईओ जोशीले कोभिड १९ को असरपछि पनि नेपालको पर्यटन महंगो छैन भन्ने सन्देश पनि प्रवाह गर्नुपर्ने धारणा राखे ।

‘कोरोनाको महामारीपछि आफु जाने गन्तव्य कति सुरक्षित छ भनेर पनि हेर्नुपर्छ । त्यसका लागि हाम्रो एयरपोर्टदेखि, गाडी, होटल, रेस्टुरन्टदेखि घुम्ने साइटहरुमा आधारभूत कुराहरु धेरै हाइफाइ पनि खोजेको छैन पर्यटकहरुले । त्यहाँचाहिं एउटा सुरक्षा चाहिँ छ भन्ने खालको कुरा उसले खोज्छ’ उनले भने ।

कोरोना महामारीपछि भ्रमणमा विभिन्न खालका झण्झटहरु थपिएका छन् त्यसैले नयाँ मापदण्डले आफू जाने गन्तव्य महंगो छ कि छैन भन्ने पनि पर्यटकले हेर्ने जोशीको भनाइ छ । ‘महँगो छैन है भन्ने हिसाबले हामीले एउटा बुझाउन सक्नुपर्छ’ उनले भने ।

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्र चलायमान हुने र यसले नेपाल खुल्ला छ भन्ने सन्देश बाह्य बजारमा पुर्‍याउने जोशी बताउँछन् । ‘अन्नपुर्ण क्षेत्रमा सेप्टेम्बर अक्टुबरबाट हाई ट्रेकिङ सिजन हो । बाहिरको हुँदैन भने नेपालीहरुलाई पनि ग्रीन जोनहरु बनाएर जाने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने केही न केही भएपनि चलायमान हुन्छ र यसले आन्तरिक खुल्दा वित्तिकै नेपाल तयार छ है भन्ने सन्देश दिन्छ’ उनले भने ।

बाह्य पर्यटन प्रवर्द्धनका लागि भिसा निःशुल्क बनाउनुपर्नेमा उनले जोड दिए । भिसा शुल्क नलिने र पीसीआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटनको वातावरण बन्ने जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment