Comments Add Comment

भजनीका बाढीपीडितलाई सरकारी आश्वासनको बाढी !

मृतकका आफन्तको गुनासो - नेता आउँछन्, फोटो खिचाएर जान्छन्

३१ साउन, धनगढी । कैलालीको भजनी नगरपालिका-८ काँडाढिककी पार्वती देवी शाहीको सानो परिवार हाँसीखुसी थियो । अविरल वर्षासँगै १४ साउनमा आएको बाढीले काँडाढिक डुबानमा पर्दा शाहीको घर पूर्णरुपमा क्षतिग्रस्त भयो ।

अहिले उनी छोरा र बुहारीसँग हुलाकी सडकमा पाल टाँगेर बसरहेकी छन् । ‘धन्न ज्यान जोगियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘१८ दिनदेखि सडकमा छौं ।’

शाहीले १५ कठ्ठामा लगाएको धान पनि बाढीले सोत्तर बनायो । उनको परिवार विभिन्न संघ सस्थाले दिएका चाउचाउ, चिउरा र बिस्कुटको भरमा दिन काटिरहेका छन् ।

वडा नम्बर ८ कै सागर शाह पनि अहिलेसम्म घर फर्किन सकेका छैनन् । घर डुबानमा परेपछि विस्थापित भएका शाह शाहीजस्तै सडकमा आश्रति छन् ।

उनीहरु बसेको स्थानसम्म जाने बाटो नदीले कटान गरिदिएको छ । राहत लिएर आउनेहरु समेत बीच बाटोबाटै फर्किने गरेको भन्दै शाह भन्छन्, ‘राहत बोकेर आएको गाडी देख्दा हर्ष पलाउँछ । तर, यहाँसम्म नपुग्दा पीडा हुन्छ ।’

काडा, पथरैया, मोहना र कन्द्रा नदीको सङ्गम क्षेत्रका रुपमा रहेको भजनी नगरपालिकामा १४ साउनमा आएको बाढीले काँडाढिकका ५३ घर पूर्णरुपमा क्षतिग्रत छन् ।

भजनी नगरपालिकामा २ हजार १८० र कैलालीभरमा ६ हजार ३२० घर डुबानमा परेका थिए । बाढी प्रभावितहरु मध्ये केही अहिले पनि सडकमा त्रिपाल टाँगेर बसेका छन् त कोही आफन्तको शरणमा छन् ।

भजनी-३ का रोशन यादवको परिवार सडकमै छ । नदीमा पानीको सतह कम भएपनि गाउँमा पसेको पानी निकास नहुँदा उनीहरु घर फर्किन नसकेका हुन् । ‘कोही परिवार अहिले पनि सडकमा र शिविरमा छन्’ भजनीका मेयर शेरबहादुर चौधरी भन्छन्, ‘केही भने आफ्नो घर फर्किएका छन् ।’

अनुगमन भयो, काम भएन

१४ साउनमा बाढी गाउँ पसेपछि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह दलबलसहित प्रभावित क्षेत्रको निरीक्षणमा पुगे । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरी पनि प्रतिनिधिसभाका सांसद गौरीशङ्कर चौधरीलाई लिएर भजनी पुगिन् ।

प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको जम्बो टोली र प्रमुख नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावल पनि प्रभावित क्षेत्रमा पुगे । संसदीय समिातिले तत्काल राहत र पुनर्स्थापनाका लागि निर्देशन पनि दियो ।

तर, पीडितहरुको व्यवस्थापन राम्रो हुन सकेन । बाढी गएको १७ दिनपछि शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्ट पनि केही मन्त्री र सांसदलाई लिएर त्यहाँ पुगेका छन् । उनले तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताए ।

मृतक परिवारलाई आश्वासन मात्रै

१४ साउनको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो । बाढीले बगाएर भजनी नगरपालिका-८ का ३२ वर्षीय चन्द्र बिक, ११ वर्षीय स्केल चौधरी र ४० वर्षीय ईश्वर शाहीको मृत्यु भएको हो । उनीहरूका परिवारले किरिया खर्चवापत नगरपालिको २५ हजार रुपैयाँ बाहेक अरू केही नपाएको गुनासो गरेका छन् ।

‘हामीले नगरपालिकाका २५ हजार बाहेक राहत र क्षतिपूर्ति केही पाएका छैनौँ’ मृतक ईश्वरीकी श्रीमती शोभा देवीले भनिन् ‘अब त खान नै समस्या हुन थाल्यो ।’

अनुगमनका नाममा थुप्रै टोली आएपनि आफूहरुको समस्या समाधान नभएको उनले बताइन् । ‘हिजो भर्खर मुख्यमन्त्री आउनुभयो । १ लाख दिन्छौँ भन्नुभएको छ, हेरौं’ उनले भनिन् ।

मृतक ३ जनासँगै बगेका थिए स्थानीय हेमन्त शाह पनि । उनी आफू त बाँचे, तर अरूलाई बचाउन सकेनन् । ‘अहिलेसम्म नेताहरू आउने फोटो खिचाउने र जाने गरेका छन्’ उनले भने ‘हामी मरेर बाँचिरहेका छौं । कसैलाई केही चासो छैन ।’

उनले प्रत्येक वर्ष उही समस्या दोहोरिँदा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment