Comments Add Comment

नेकपामा फेरि टर्‍यो ओलीको संकट

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै ओलीको संकट टरेको हो ।

ओली र प्रचण्डले सहमति खोज्न शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलममा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच मोटो सहमति भएर नै कार्यदल गठन भएको देखिन्छ । ‘ओलीले प्रचण्डलाई अहिले कार्यकारी अध्यक्षको व्यवहारिक अभ्यास गर्न दिने र आसन्न महाधिवेशनपछि अध्यक्ष र आम चुनावपछि प्रधानमन्त्रीको बचान दिइएको छ’ स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच समझदारी भइसकेकाले कार्यदलले त्यसलाई औपचारिकता दिनेबाहेक थप केही गर्दैन होला ।’

यद्यपि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ प्रकाशसँग शनिबार भएको भेटमा प्रचण्डले कार्यदल बनाउने बाहेक थप सहमति नभएको बताए । कार्यदल गठनको निर्णय स्थायी कमिटी वा कम्तिमा सचिवालयबाट गर्नुपर्ने नेताहरुको रायमा ठीक भएको प्रचण्डले समेत बताए ।

भेटमा वरिष्ठ नेता खनाल र नेपालले प्रचण्डको कार्यशैलीबारे असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्रीलाई अर्को मौका

प्रधानमन्त्री ओली वैशाखमा पनि पार्टीभित्र संकटमा परेका थिए । पार्टीमा छलफल नै नगरी दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुले चर्को विरोध गरे । उनले अध्यादेश पनि फिर्ता लिए ।

तर, १७ गते बसेको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागे । सचिवालयमा अल्पमतमा परेका ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफूतिर तान्न सफल भएपछि २० गते सचिवालयको अवस्था फेरियो । ओलीले आत्मालोचना गरे, गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र २५ गते स्थायी कमिटीको बैठक निर्णय भयो । निर्णयसँगै प्रधानमन्त्री ओलीको सत्ता संकट तत्कालका लागि टर्‍यो ।

स्थायी कमिटी पूर्वनिर्धारित समयमा बसेन । आत्मालोचना अनुसार ओलीको व्यवहार परिर्वतन नभएको भन्दै फेरि प्रचण्ड, वामदेव गौतमहरु रुष्ट बन्न थाले । र, १० असारमा स्थायी कमिटी बैठक सुरु भएसँगै प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।

प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छाडेर गल्ती गरेको महसुस भएको बताए । अरु नेताहरुले सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको बताए । दुई दिनका लागि बैठक स्थगित गरेर १४ असारमा मदन भण्डारी स्मृति दिवसको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु पनि लागेको आरोप लगाए ।

त्यसले नेकपाको आन्तरिक विवादलाई थप चर्कायो । १६ असारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरे । आफ्नो प्रतिकुल माहौल बनेपछि ओली अर्का अध्यक्ष प्रचण्डसँग समझदारी नगरी स्थायी कमिटीलाई निरन्तरता नदिने मुडमा देखिए ।

अध्यक्षद्वयबीच चरणवद्ध भेटवार्ता भए, विष्णु पौडेल, जनार्दन शर्माहरुको दौडधुप चलिरहृयो । र, ३ साउनमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखे, जसमा प्रचण्ड सहमत देखिए । बैठक लगतै ओली, प्रचण्ड, पौडेल, शर्मालगायतका नेता शीतल निवास पुगे ।

स्रोतहरुका अनुसार ओलीले त्यसबेला प्रचण्डलाई व्यवहारिकरुपमा प्रचण्डलाई कार्यकारी अध्यक्षको अभ्यास गर्न दिने, आगामी महाधिवेशनबाट एकल अध्यक्ष र चुनावपछि प्रधानमन्त्रीको आश्वासन दिएका थिए । र, उनी सहमत पनि देखिन्थे । तर, बालुवाटारबाट बाहिरिँदै गर्द महाधिवेशनमा ‘जनताको बहुदलीय जनवादचाहिँ बोक्नुपर्छ है’ भनेका थिए । त्यही कारण शीतलनिवास पुग्दासम्म प्रचण्डको मन फेरिएको र सहमति हुन नसकेको स्रोतको दाबी छ ।

त्यसपछि ओली र प्रचण्डबीच दुरी बढ्यो । दुबैले आ-आफ्नो गुटका स्थायी कमिटी सदस्यहरुको भेला गरे । प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रधानमन्त्री र अध्यक्ष दुई मध्ये एक पद छाड्नुपर्ने अडान राख्यो भने ओलीले दुबै पद नछाड्ने बताए । त्यसको क्लाइमेक्सका रुपमा १३ साउन बन्यो ।

ओलीले एकपक्षीय रुपमा स्थायी कमिटीको बैठक स्थगित गरे । प्रचण्डले आफ्नो अध्यक्षमा २९ स्थायी कमिटी सदस्यको सहभागितामा बैठक मात्र राखेनन्, स्थायी कमिटी स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको निर्णय समेत गराए । त्यसपछि ओलीसँग भिड्ने मुडमा देखिएको प्रचण्ड माधव समूहले पार्टीको अन्तरसंघर्षलाई बैचारिक राजनीतिक भएको स्थापित गर्ने प्रयास गरे ।

प्रचण्डले सहमति नभए आआफ्नो प्रस्ताव लिएर केन्द्रीय कमिटीमा जाने प्रस्ताव राखे । यदि त्यसो भएको भए प्रचण्ड-माधव समूह पार्टी संसदीय दलका साथै देशभर आफ्नो समूहलाई वैचारिकरुपमा संगठित गर्न सफल हुने थियो ।

तर, प्रचण्ड फेरि अर्का अध्यक्ष ओलीसँग सहमति गर्न पुगेको र यसले ओलीमाथि आएको संकट दोस्रोपटक पनि टरेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । ‘सुरुमा दुबै पद छाड्नुपर्छ भन्ने गल्ती थियो, अब एउटा पनि नछाड्ने अवस्था आयो’ प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य भन्छन् ।

ओलीसँगको सहमतिले प्रचण्ड-माधवकुमार नेपाल समूहमा भने विश्वासको संकट पैदा भएको छ । ‘उहाँमाथि गम्भीर विश्वासको संकट पैदा भएको छ’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भन्ने टुंगो भइसकेको छ । यसका लागि केही समय पर्खिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment