Comments Add Comment

सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

३२ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गर्दै फ्रेन्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार राति भएको अन्तिम क्वाटरफाइनल लियोनले सिटीलाई ३-१ ले पराजित गरेको हो । सेमिफाइनल पुग्ने लियोन दोस्रो टिम हो ।

यसअघि पेरिस सेन्ट जर्मेन पनि सेमिफाइनल पुगिसकेको छ । यस्तै जर्मनीबाट आरबी लाइपजिग र बायर्न म्युनिख पनि सेमिफाइनल पुगेका छन् ।

अब लियोनले सेमिफाइनलमा बायर्नसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनल लाइपजिग र पिएसजीबीच हुनेछ ।

पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेडमा भएको खेलको २४औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गर्दै लियोनलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सिटीका लागि ६९औं मिनेटमा केभिन डे ब्रुएनाले बराबरी गोल फर्काए ।

७९औं मिनेटमा माउसा डेम्बेलेले गोल गर्द लियोनलाई २-१ को अग्रता दिलाए । ८७औं मिनेटमा माउसाले व्यक्तिगत दोस्रो गोल गरेपछि लियोन ३-१ ले विजयी हुँदै सेमिफाइनल पुगेको हो ।

लियोन दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००९-१० को सेमिफाइनलमा लियोन जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो । यस पटक पनि लियोनले बायर्नसँग नै सेमिफाइनल खेल्दैछ ।

अब मंगलबार लाइपजिग र पिएसजीबीच पहिलो सेमिफाइनल हुनेछ । लियोन र बायर्नको दोस्रो सेमिफाइनल बिहीवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment