
१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण न्युजिल्याण्डमा हुन गइरहेको निर्वाचन चार साता पर सरेको छ ।
प्रधानमन्त्री ज्यासिन्डा अर्डनले महामारीको कारण देखाउँदै चार साताका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेकी हुन् ।
पछिल्लो समय अकल्याण्डलगायतका क्षेत्रमा पुनः कोरोना भाइरसका संक्रमित देखिएको भन्दै अर्डनले १७ अक्टोबरसम्मका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेकी हुन् ।
न्युजिल्याण्डमा एक सयभन्दा लामो समयसम्म कुनै पनि स्थानीय संक्रमित फेला परेका थिएनन् । तर, अकल्याण्डमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै त्यहाँको सरकारले अकल्याण्डमा पुनः लकडाउन गरेको छ । यसअघि पनि न्युजिल्याण्डले पाँच साताको कडा लकडाउन गर्ने निर्णय गरेको थियो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले मुलुकमा अझै धेरै संक्रमितहरु फेला पर्न सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेकी छिन् । साथै उनले अब पुनः निर्वाचनको तालिका परिवर्तन गर्ने आफ्नो मनसाय नरहेको पनि स्पष्ट पारेकी छिन् ।
अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसका एक हजार ६३१ संक्रमित फेला परिसकेका छन् भने २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4