Comments Add Comment

एकलब्य अच्युतरमण अधिकारीको सुस्त धुन

तीसको दशकमा अच्युतरमण अधिकारी र मेरोबारे साहित्यकारहरु भन्थे, ‘अच्युतरमण अधिकारी र गोविन्दको खुट्टामा मिटर राख्ने हो भने कस्कोमा बढी अङ्क चढ्दो हो !

कारण, हामी दुबै जहाँ पनि हिंडेरै पुग्ने । साहित्यिक कार्यक्रम, पत्रपत्रिकाको अफिस, एकेडेमी, साझा प्रकाशन, मदन पुरस्कार गुठी -पाटन ढोका) जता पनि हिंडेरै पुग्ने । अनि आआˆनो जागिरे जीवनको ब्यस्तता त छँदै थियो ।

अच्युत रमण अधिकारीले साहित्यिक पत्रकार संघमा निकै लामो समय योगदान गरे, बिभिन्न पद हुँदै सभापतिसम्म भएर । उनले आˆनो कार्यकालमा साहित्यिक पत्रकार संघबाट उल्लेख्य कामहरु गरेका थिए । वीपी कोइरालालाई अभिनन्दन यौटा कोसे ढुङ्गा थियो । वार्षिरुपमा साहित्य यात्रा अर्को उल्लेख्य काम थियो ।

साहित्यिक पत्रकार संघको बनभोजको पनि आफ्नै प्रकारको ईतिहास थियो जसमा वालकृष्ण सम जस्ता हस्ती आउँथे र कविता वाचन गर्थे । जसलाई सफलतापूर्वक निकै बर्ष सम्म कायम राखिएको थियो । उनी साहित्यिक पत्रकार संघको कामका लागि दिन रात नभनी खटिरहे र कार्यक्रमहरु भइरहे । साहित्यिक पत्रकार संघबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा प्रदर्शन गरिएको अशेष मल्लद्वारा लिखित ‘सडकदेखि सडकसम्म’ नाटकमा उनले पनि अभिनय गरेका थिए । उनी हरप्रकारका गतिविधिमा सामेल हुन सहज मान्थे ।

उनी पद्मकन्या क्याम्पसमा नेपाली पढाउँथे । उनले पढाउने हुनाले बिभिन्न साहित्यिक कार्यक्रम गर्न पद्मकन्या क्याम्पसको कक्षा कोठा सुरुमा निशुल्क र पछि न्यूनतम शुल्कमा उपलब्ध हुन सहज भएको थियो ।

२०३८ सालमा साहित्यिक पत्रकारसंघले आयोजनामा गरेको ३ दिने ऐतिहासिक साहित्य संगोष्ठी पद्मकन्या क्याम्पसमै सम्पन्न भएको थियो । दीपिका मासिक पत्रिकाले आयोजना गरेको उपत्यकाब्यापि अन्तर क्याम्पस कविता प्रतियोगिताको कार्यक्रम पनि त्यही भएको थियो । यस्ता अनेकन कार्यक्रम पद्मकन्या क्याम्पसमा सम्पन्न हुनुमा अच्युतरमण अधिकारीको गुनिलो सहयोग थियो ।

संगठनात्मक गतिविधिसँगै अच्युतरमणले ‘उन्नयन’ त्रैमासिक साहित्यिक पत्रिका सम्पादन/प्रकाशन गरे । हुन त साहित्यिक पत्रकारिताका हिसाबले उन्नयनमा सम्पादकीय खुवी, कला र प्रस्तुतिमा ठूलो आकर्षण देखिँदैनथ्यो तर उन्नयन झोलामा बोकेर अच्युतरमण काठमाडौं उपत्यका चहार्थे र हजारौं हातमा पुर्याउँथे । त्यसरी उन्नयनले सहृदयी र सहयोगी हातहरु भेट्टाउँथ्यो ।

अच्युतरमणसँग मेरो सम्बन्ध राम्रो थियो । हरेक पल्ट भेटेको बेला उनी लेख रचना माग्दथे । उन्नयनको काम हुने जीवन नेपालको मानवमिति टङ्कण कार्यालय -बागबजारको रत्न पुस्तक भण्डार नजिकै)मा म पनि कम्प्यूटर टाइपको काम लिएर पुग्ने गर्थें । तर मैले यौटा रचना भने मेरै आग्रहमा उन्नयनमा छपाएँ जसले मेरो लेखनमा यौटा नयाँ ब्रेक दियो । त्यो थियो- ‘फेरो’, आत्मपरक यात्राख्यानको प्रकाशन ।

म सन् १९९२ मा बेलायत पुगेको थिएँ निकै सुन्दर सपना साँचेर जुन दिवास्वप्न मात्र सावित भयो । त्यो मेरो पहिलो बिदेश यात्रा थियो । मैले त्यसको नियात्रा उपन्यासको शैलीमा लेखेको थिएँ जुन फूटकर रुपमा प्रकाशित गर्न सम्भव थिएन । कुनै प्रकाशकलाई प्रकाशनार्थ दिन उपयुक्त वातावरण थिएन । मैले अच्युतरमणलाई त्यो सिंगो कृति उन्नयनको एकै अङ्कमा प्रकाशनका लागि प्रस्ताव गरें । उनलर भने, “ल्याउनोस् पढौं, राम्रो भए छाप्न मलाई के को आपत्ती !”

मैले पाण्डुलिपि दिएँ । उनले पढेपछि मन पराए । अनि उन्नयनको यौटा अङ्कमा पूरै प्रकाशित भयो । अनि उनले आˆनो शैली अनुसार त्यो पत्रिका हातहातमा पुर्याए, घर घरमा पुर्याए र त्यो कृति छोटो समयमै बहुचर्चित भयो । त्यति मात्र होइन, उन्नयनमा बर्षभरिमा प्रकाशित रचनामध्ये सर्वश्रेष्ठ ठहरिएर फेरोले ‘शिवप्रसाद उन्नयन पुरस्कार’ समेत प्राप्त गर्यो । यो अच्युतरमणको सदासयताका कारण सम्भव भएको थियो ।

मैले कुनै प्रकाशक पर्खेको भए वा आफैंले प्रकाशित गरेको भए उन्नयनमा छापिएर जसरी चर्चित भयो, त्यो पक्कै हुन्नथ्यो भन्ने लाग्छ मलाई ।

उन्नयनका साधारण अङ्कहरु साधारणै हुन्थे । तर जस्तो भए पनि वितरण राम्रो भएकोले धेरैले पढ्थे । तर उनले केही साह्रै उम्दा विशेषाङकहरु प्रकाशन गरे जुन नेपाली वाङमयको भण्डारका लागि उच्च खालको उपहार हो । उनले उन्नयनको प्रकाशनको शुरुवातका बर्षहरुमा ‘भूपि स्मृति अङ्क’ प्रकाशित गरेका थिए । सानो रुपमा भए पनि त्यो निकै महत्वपूर्ण अङ्क थियो । पछि उनले निकालेका बृहत् विशेषाङ्कहरु भने कीर्तिमानी थिए ।

उनले गोविन्द गोठाले, विजय मल्लका पिता उपन्यासकार तथा शारदा पत्रिकाका सम्पादक सुव्वा ऋध्दिवहादुर मल्ल विशेषाङ्क प्रकाशित गरे । त्यसै गरी साहित्यकारको जीवन कालमै उनले निकालेका विशेषाङ्कहरु विशेष थिए । तिनीहरुमा मदनमणि दीक्षित बिशेषाङ्क तथा केशवराज पिंडाली बिशेषाङ्क विशेष उल्लेखनीय छन् । पिंडाली विशेषाङ्क प्रकाशित गरेर त्यसको सार्वजनिकिकरण समारोह गरेकोमा पिंडाली पत्नीले प्रकट गर्नु भएको प्रशन्नता म कहिल्यै भुल्दिन ।

अच्युतरमणले सँगसँगै यौटा अर्को अभियान पनि जारी राखेका थिए- साहित्यिक पुस्तक तथा पत्रपत्रिकाको सङ्कलन । उनी भेटेजति साहित्यकार, शुभचिन्तकलाई पुस्तक पत्रिका नष्ट नहोस्, म सङ्कलन-संरक्षण गर्छु भन्थे र घर घर गएर ल्याउँथे । उनको घरमा यौटा बृहत् सङ्कलन तयार भएको थियो । तर उनले सङ्कलन गरेका पुस्तक र पत्रिकाको सही तरिकाले ब्यवस्थापन गर्न उनले भ्याएका थिएनन् । तीनको गोदाम मात्र भएको थियो ।

यसै वीच उनले आˆनो छोराको साथ वाँकी जीवन अष्ट्रेलियामा विताउने निर्णय गरेछन् । अनि ती सारा सङ्कलनहरु बिभिन्न सङ्कलकहरुलाई दिएछन् । जीवन भर सँगालेका ती दुर्लभ सामाग्री त्यसरी वितरण गर्नु पर्ला भन्ने उनले शायदै सोचेका थिए । तर मान्छेको जीवन भनेकै नसोचेको, कल्पना नगरेको मोडमा पुग्छ जसलाई स्वीकार्नुको विकल्प रहँदैन ।

उनी त्रिभुवन विश्वविद्यालयबाट अवकास लिएर अष्ट्रेलिया गएपछि नेपालमा उनले गरेका र थालेका सारा कुरा स्थगित भए । उनी कलम पनि चलाउँथे, तर उनको लेखन दरो हुन सकेन । उनी समीक्षात्मक लेखहरु बढी लेख्थे तर त्यसका लागि पर्याप्त तयारी गर्न र अध्ययन गर्न उनीसँग समय हुँदैनथ्यो जसले गर्दा उनको कलमको उच्च उपयोग हुन सकेन । उनी सम्पादन र साहित्यिक गतिविधिमै बढी केन्द्रित भए र त्यसैमा रमाउँथे ।

तर मान्छेले सोचेजस्तो सधैं कहाँ हुन्छ ? जीवनभर नेपाली भाषा साहित्यको क्षेत्रमा चुर्लुम्म डुवेका र प्राध्यापनमा हेलिएका उनलाई अष्ट्रेलिया उपयुक्त जँचेन । उनी अष्ट्रेलियाबाट फर्किए । यो फर्काई उनका लागि शारिरीक मानसिक दुवै हिसावले थिलथिलो वनाउने कारण हुन पुग्यो । उनले आर्जेको संकलन छैन, उन्नयनलाई पनि त्यो रुपमा अगाडि बढाउन सम्भव भएन र उनी सुस्त भए । उनको जीवन सुस्त भयो । सुस्त जीवनलाई उनी सपत्नी काठमाडौंमा डोर्‍याइरहेका छन् ।

तर मान्छेले बनाउने ईतिहास हो, कर्मको इतिहास । अच्युतरमणले साहित्यिक सकृयताको ईतिहास बनाए । उनले उन्नयन र उच्च मूल्यका विशेषाङ्कका इतिहास बनाए । त्रिभुवन विश्वविद्यालय अन्तरगत पदमकन्या क्याम्पसमा उनले शिक्षणको माध्यमले हजारौं विद्यार्थीलाई दीक्षित बनाएर ईतिहास वनाए । उनको योगदानको खातामा यी ईतिहासहरु सुरक्षित छन् र रहिरहनेछन् । आजको सुस्तताले त्यो ईतिहासको गर्व धमिलो हुँदैन ।

(बृन्दावन, भारत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment