Comments Add Comment

मुख्य पर्यटकीय गन्तब्यका २२० पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिइने

१ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डले मूख्य पर्यटकीय क्षेत्रका रुपमा चिनिएका तीन वटा गाउँपालिकामा पर्यटन मजदुरलाई लक्षित गरी रोजजारी सिर्जना गर्ने भएको छ । सो प्रयोजनका लागि बोर्डले गाउँपालिकासँग प्रस्ताव आहृवान समेत गरेको छ ।

कोभिड १९ को महामारीका कारण रोजगारी गुमाएका वा दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका पर्यटन क्षेत्रसँग सम्बन्धित श्रमिकका लागि अल्पकालीन रोजगारी सिर्जना गर्न लागेको बोर्डले जनाएको छ । यो कार्यक्रम संचालन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सहयोग गरेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बु, मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिका -कास्की)मा कार्यक्रम सञ्चालन गरिने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सगरमाथा आधार शिविर जाने पदमार्गमा ६० जना कामदारलाई रोजगारी दिइनेछ । मादी गाउँपालिका कास्कीमा १ सय जना कामदारले टोनी हेगन पदमार्गमा काम पाउनेछन् ।

अन्नपूर्ण आधार शिविरमा ६० जनालाई रोजगारी दिने गरी कार्यक्रम अगाडी बढेको हो । यो अन्नपूर्ण गाउँपालिकामा पर्छ । नेपाल पर्यटन बोर्डका अनुसार पदमार्ग सरसफाई, पदमार्ग मर्मत तथा व्यवस्थापन, साइनेज मर्मत तथा व्यवस्थापनमा काममा लगाइने छ ।

यसका साथै पहिरो व्यवस्थापन, झाडी तथा झारपात व्यवस्थापनमा समेत कामदारको प्रयोग गरिने भएको छ । उता, पर्यटनसँग आवद्ध विभिन्न संघ-संस्थाले भने सिमित क्षेत्रमा मात्र कार्यक्रम ल्याएको भन्दै विरोध गरेका छन् ।

नेपाल ट्रेकिङ, ट्राभल, र्‍याफि्टङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गो कुरियर श्रमिक यूनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले सिमित गाउँपालिका मात्र कार्यक्रम ल्याएको भन्दै विरोध गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment