Comments Add Comment

नेपाली क्रिकेट क्लबले तास्मानियामा फड्को मार्दै

२ भदौ, तास्मानिया (अष्ट्रेलिया) । विगत दुई वर्षदेखि अष्ट्रेलियाको तास्मानिया राज्यमा अवस्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएका नेपाली खेलाडीहरु अहिले एकदमै उत्साहित छन् ।

नहोउन् पनि किन, स्थानीय टिमविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्दै आएका उनीहरु यही अक्टोबरमा आयोजना गरिएको तास्मानिया क्रिकेट लिगको ए ग्रेड खेल्ने तयारीमा जुट्दैछन् ।

गत वर्ष तास्मानिया क्रिकेट लिगले आयोजना गरेको ए रिजर्भमा खेलिएका १० टिमहरुमध्ये पहिलो खेलमै उत्कृष्ट तीनमा पर्न सफल भई लन्चेस्टन नेपाली क्रिकेट क्लब ग्रेड ए खेल्न छनोट भएको थियो ।

क्रिकेटको आफ्नै टिम बनाएर लिग खेल्ने यो नेपाली क्लब सम्भवतः अष्ट्रेलियाकै पहिलो नेपाली क्रिकेट टिम हो । ‘अब हाम्रो लक्ष्य भनेको प्रिमियर खेल्नु हो,’ टिम म्यानेजर पोषण कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यो खेल्न पाउनु हाम्रोलागि ठूलो सफलता हुनेछ ।’ टिम त्यही अनुसारको तयारीमा जुटेको पनि उनले बताए ।

प्रिमियर लिग तास्मानिया क्रिकेट लिगको सबैभन्दा ठूलो प्रतिस्पर्धी खेल मानिन्छ ।

नेपाली लन्चेस्टन क्रिकेट क्लबको सुरुआत

क्रिकेट खेलप्रति रुचि राख्ने लन्चेस्टनका केही नेपाली युवाहरुले सन् २०१५ देखि स्थानीय मैदानहरुमा मनोरञ्जनका लागि मात्र भनेर खेल्न सुरु गरेका थिए ।

तर, आउँदा दिनहरुमा क्रिकेट खेल्ने आकांक्षीहरुको संख्या बढ्दै गएको र तास्मानिया क्रिकेटमा पनि नेपालीहरुको उपस्थिति जनाउनुपर्छ भन्ने सोंच राखेर उनीहरुले सन् २०१९ मा क्रिकेट क्लब गठन गरी तास्मानिया क्रिकेट लिगमा आवद्धसमेत भए ।

‘खेलाडीहरुको कडा मेहनत र स्पोन्सरहरुको पर्याप्त सहयोग पाएकाले पहिलो वर्ष नै तास्मानिया क्रिकेट लिगको ए रिजर्भ खेलमा उत्कृष्ट तीनमा पर्न सफल भयौं,’ लन्चेस्टन नेपाली क्रिकेट क्लबका निवर्तमान अध्यक्ष आदित्य सिंहले अनलाइनखबरलाई बताए ।

पहिलो वर्ष नै क्रिकेट तास्मानियाले नेपाली टिमलाई तास्मानिया राज्यमा क्रिकेट खेलप्रति पुर्याएको योगदानको कदर गर्दै ‘इन्क्लुजन एण्ड डाइभर्सिटी अफ द इयर’ अवार्डबाट सम्मान गरेपछि पनि उनीहरुलाई थप उत्साह मिल्यो ।

त्यति मात्रै होइन, गत वर्षको ए रिजर्भ खेलमा आधारित तास्मानिया क्रिकेट लिगले छनोट गरेका ११ उत्कृष्ट खेलाडीहरुमध्ये २ जना नेपाली खेलाडीहरु पनि छनोट भएका थिए ।

‘यसरी हाम्रो टिमलाई तास्मानियाकै ठूलो क्लबले मान्यता दिनु र खेलाडीहरुलाई हौसला प्रदान गरिनुले हाम्रा खेलाडीहरुमा थप जोश र जाँगर थपिएको छ,’ क्लबका वर्तमान अध्यक्ष रामकुमार श्रेष्ठले भने ।

आगामी दिनहरुमा पनि अझै उत्कृष्ट प्रदर्शन गर्दै जाने श्रेष्ठले प्रतिवद्धता जनाए ।

हाल उक्त टिममा ३० जना खेलाडीहरु रहेका छन् ।

क्लबको पहिलो साधारण सभा सम्पन्न

यही आइतबार क्लबको पहिलो साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले पुरानो समितिलाई खारेज गर्दै रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कमिटी सर्वसम्मतले पारित गरेको छ । नयाँ कमिटीको अध्यक्षमा रामकुमार श्रेष्ठ, उपाध्यक्षमा शुलभ मास्के, सेक्रेटरीमा महेश्वर पराजुली र टिम म्यानेजरमा पोषण कोइरालालाई चयन गरेको छ ।

त्यसैगरी सुदीप गिरी र अनिल ढकाल क्रमशः टिमको कप्तान र उपकप्तानमा चयन भएका छन् ।

त्यस्तै, टिमको सल्लाहकारहरुमा अमृत शर्मा, आदित्य सिंह, रोशन डल्लाकोटी र प्रशान्त खनाल चयन भएका छन् ।

उक्त कार्यक्रममा गत सिजनमा खेलेका ५ खेलाडीहरुलाई विभिन्न अवार्डबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment