Comments Add Comment

च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजी र लाइपजिग भिड्दै

२ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि सेमिफाइनल खेल हुँदैछ । कोरोना महामारीपछि यस सिजन क्वाटरफाइनलदेखि च्याम्पियन्स लिगका खेलहरु सिंगल लेगमा एउटै देशमा भइरहेको छ ।

जसलाई ‘फाइनल अइट’ अर्थात ‘मिनी टुर्नामेन्ट’समेत भनिएको छ । त्यही मिनी टीर्नामेन्टको पहिलो सेमिफाइनलमा मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र जर्मन क्लब आरबी लाइपजिग भिड्दैछन् ।

यी दुई टोलीमध्ये जसले जिते पनि त्यो इतिहास बन्नेछ । दुवै टोली पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा छन् ।
स्थापनाको ५०औं वर्षको अवसरमा पीएसजी दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो ।

यस्तै लाइपजिग भने स्थापना भएको जम्मा ११ वर्ष भएको छ । अझ जर्मन शीर्ष श्रेणीको पुटबल खेल्न थालेको जम्मा ४ वर्ष मात्र भएको छ ।

स्पानिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गर्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँदै इतिहास बनाइसकेको लाइपजिग पीएसजीलाई पनि स्तब्ध बनाउँदै फाइनल पुग्न चाहन्छ । उता कतारी व्यापारीको लगानी रहेको विश्वकै उत्कृष्ट खेलाडी नेमार, किलियन एमबाप्पे जस्ता स्टार रहेको पीएसजी जुनसुकै हालतमा फाइनल पुग्न चाहन्छ ।

करौडौं रकम खर्च गर्दा पनि पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । त्यसैले यो पटक उसको लागि राम्रो अवसर छ । फ्रेन्च फुटबलमा पछिल्लो समय एकछत्ररुपमा राज गरेको पीएसजी युरोपियन प्रतियोगितामा भने उस्तै छैन ।

युरोपियन च्याम्पियन्स लिगकै इतिहासमा पहिलो पटक सेमिफाइनलमा इंग्ल्याण्ड स्पेन र इटलीका कुनै क्लब छैनन् । यसपटक सेमिफाइनल पुगेका चार मध्ये दुई जर्मनी र दुई फ्रान्सका क्लब छन् । अर्को सेमिफाइनल पनि जर्मन भर्सेस फ्रेन्च अर्थात बायर्न म्युनिख र लियोन बीच हुनेछ ।

पीएसजीले अन्तिम समयमा दुई गोल गर्दै क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टालाई २-१ ले पराजित गरेको थियो । उता एट्लेटिकोलाई स्तब्ध बनाएको लाइपजिगलाई हराउनु पीएसजीको लागि पनि त्यति सहज भने छैन ।

पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुग्ने लक्ष्यमा रहेको यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । स्टार र नाम चलेका खेलाडीको हिसाबले पीएसजी लाइपजिगभन्दा अघि छ । तर न्युट्रल मैदान अनी बिना दर्शक खेल्नुपर्ने अवस्थामा कुनै टिमले पनि विपक्षीलाई कमजोर आँकन् मिल्ने छैन ।

चोटबाट पुनरागमन गर्दै एटलान्टाविरुद्ध मैदान उत्रिएका एमबाप्पेको आगमनले पनि पीएसजीलाई थप फाइदा पुग्ने पक्का छ । गोलकिपर केइलर नाभास भने चवटका कारण लाइपजिगविरुद्ध खेल्ने छैनन् । उनकव स्थानमा सर्जि रिकोले खेल्नेछन् ।

के भन्छन् प्रशिक्षक ?

लाइपजिगका प्रशिक्षक युलियन नगेल्सम्यान

फेरि फुटबल सुरु भएपछि हामीले चाहेजस्तो फुटबल हामिले खेल्न सकेका छैनौँ । खेलाडीमा जित्ने चाहना हुनैपर्छ र मैले उनीहरुको अनुहारमा देखेको छु । हामी जितका लागि भोका छौँ । हामी अर्को स्टेप अगाडि बढ्न चाहन्छौँ र तयार छौँ । नेमार र एमबाप्पे के गर्छन् भन्न सकिन्न उनीहरु उत्कृष्ट खेलाडी हुन् ।

हामीले टिमको रुपमा उनीहरुलाई रोक्नुपर्छ । यो कठिन छ तर हामीले उनीहरुलाई अझै राम्रो खेल्नु दबाब दिनुपर्छ । फुटबल तब रमाइलो हुन्छ जब दुवै टिमले अट्याक गर्छ ।

पीएसजीका प्रशिक्षक थोमस टुचेल

हामी यहाँ छौँ किन कि हामी यसको लायक छौँ । हामीले यस सिजन राम्रो खेल्यौँ र धेरै मिहिनेत गरेका छौँ । हरेक खेललाई सिरिजली लिएका छौँ । हामी बितेको दिनको बारेमा कुरा गर्न चाहदेनौँ वर्तमान मात्र कुरा गर्न चाहन्छौँ । हामी सफलताको भोका छौँ र सफल हुन चाहन्छौँ । हामी कडा मिहिनेत गर्न चाहन्छौँ । लाइपजिगले धेरै दबाब दिनेछ । उनीहरु युवा र छिटो टिम छन् । जुन एटलान्टामा थियो । हाम्रो आफ्नै स्टाइल छ र उनीहरुको आफ्नै स्टाइल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment