Comments Add Comment

गोकर्णेश्वर मन्दिर सिल, कुशे औंसीमा लागेन मेला

३ भदौ, काठमाडौं । भाद्र कृष्ण औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला नलाग्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष लाग्दै आएको मेला यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेका अनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्न जान नपाउने व्यवस्था गरिएको छ ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

बाबुको मुख हेर्ने दिन पिता दिवंगत भएका छोरा–छोरी गोकर्णेश्वर मन्दिरमा गएर तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औंसीका दिन यहाँ हजारौं भक्तजनको भीड लाग्ने गर्दछ । उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ । जसलाई महत्वका साथ पुजिन्छ ।

विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदिशप्रसाद भट्टले जानकारी दिए ।

कोरोनाको जोखिम बढ्दै गएपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सबै प्रकारका जात्रा, मेला र भिडभाड हुने गतिविधि गर्न पूर्णरुपमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment