Comments Add Comment

सांसदको लोगो संसद सचिवालयद्वारा गल्ती स्‍वीकार

३ भदौ, काठमाडौं । सांसदले लगाउने नयाँ ब्याच पिन (लोगो) को आलोचना भएपछि संघीय संसद सचिवालयले गल्ती स्वीकार गर्दै त्यसलाई फिर्ता पठाएको छ ।

संसदले पारित गरेको नेपालको नयाँ नक्साअनुसार बनाइएको नयाँ लोगो संरचनात्मक र साजसज्जासम्बन्धी समस्या देखिएकाले त्यसलाई फिर्ता पठाएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

संघीय संसदले अद्यावधिक नक्साअनुसार सांसदहरुले लगाउने नयाँ लोगो तयार पार्न घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मा दिएको थियो ।त्यसअनुसार घरेलु कार्यालयले संघीय संसदका पदाधिकारी र सदस्यले लगाउने ३५० थान लोगो तयार पारेको थियो ।

तर सामाजिक सञ्जाल र सार्वजनिक रुपमा उक्त लोगो राम्रो नभएको टिप्पणी भएपछि भदौ २ गते सुधार र परिमार्जनका लागि फिर्ता पठाएको पाण्डेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मंगलबार १९० वटा लोगो फिर्ता लगेको र बाँकी लैजाने प्रक्रियामा रहेको जनाइएको छ । कतिपय लोगोहरु वितरण समेत भइसकेका छन् । सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायतले नयाँ लोगो लगाइसकेका छन् ।

नक्सा नै नमिलेको लोगो लगाएको भनेर आलोचना भएपछि सभामुखले मंगलबार बैठक राखेर फिर्ता पठाउने निर्णय गराएका हुन् ।

सांसदहरुले छातीमा लगाउने लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो । सुरुमा ३५० थान लोगो बनाएको थियो ।

दोब्बर खर्च कसले ब्यहोर्छ ?

घरेलु उद्योग कार्यालयका हस्तकला इकाइ अधिकृत गणेश राउतले लोगो पुनः बनाउँदा लाग्ने खर्च हस्तकला इकाइ ललितपुरले नै व्यहोर्ने मौखिक कुराकानी भएको बताएका छन् ।

तर, आफूहरुले पटक पटक देखाएर मात्रै लोगो पठाएका कारण दोष आफूहरुको भन्दा संसद सचिवालयकै भएको घरेलु उद्योग कार्यालयको भनाइ छ । त्यसको सजाय आफूहरुलाई दिन नहुने कार्यालयका अधिकारीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment