 
																			२ भदौं, काठमाडौं । पछिल्लो समय बैङ्कमा लगानीयोग्य पुँजी (तरलता) थुपि्रएको छ । नेपाल राष्ट्र बैङ्कले ३ पटक गरेर ६० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत प्रशोचन गर्दा पनि बैङ्कमा यतिबेला पर्याप्त तरलता छ । अहिले बजारमा २ खर्ब बढी तरलता रहेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
तरलता अधिक हुँदा त्यसको असर निक्षेपमा परेको छ । निक्षेपको ब्याजदर पछिल्लो ५ महिनामा ४ प्रतिशत हाराहारीमा झरेको छ । निक्षेपको ब्याजदर घटेसँगै सोही अनुपातमा कर्पोरेट ऋणीहरूले कर्जा पनि पाएका छन् । उता साना ऋणीहरूको भने ब्याज घटेको छैन । कर्पोरेट ऋणीहरूलाई एकदमै कम प्रिमियम शुल्क जोडेर ब्याज लिइरहेका बैङ्कहरूले साना ऋणीहरूलाई भने अधिकतम पि्रमियम शुल्क जोडेर ब्याज लिइरहेका छन् ।
घर कर्जा तथा सवारी साधन कर्जामा समेत बैङ्कहरूले आधार दर (बेस रेट) मा ६.५० प्रतिशतसम्म जोडेर ब्याजदर लिने गरेका छन् । यसरी हेर्दा अहिले पनि घर कर्जा तथा सवारी साधनमा जाने कर्जाको ब्याज १४ प्रतिशत हाराहारीमा देखिन्छ । जुन अन्य कर्जाको तुलनामा महँगो हो ।
राष्ट्र बैङ्कका प्रवक्ता डा. भट्ट कर्पोरेट ग्राहकमा रिक्स देखेर बैङ्कहरूले पनि कम ब्याजदरमा लगानी गरेको हुन सक्ने बताउँछन् । बैङ्कहरूले जोखिम कुन क्षेत्रमा छ त्यो हेरेर पनि कर्जा लगानीमा ध्यान दिने तथा अर्कोतर्फ व्यापारिक सम्बन्धले पनि यसमा असर पर्ने उनले बताए ।
पछिल्लो समय कर्जा लगानी हुन नसक्दा तरलता थुपि्रएको र त्यसको प्रभाव ब्याजदरमा देखिएको उनी बताउँछन् । तरलता अधिक हुँदा बैङ्कहरूले निक्षेपको ब्याज घटाएको र निक्षेपसँगै कर्जाको ब्याज पनि घटेको उनले बताए । केही क्षेत्रको ब्याज धेरै नघटाउनुको कारण भने जोखिम मूल्याङ्कन र व्यापारिक सम्बन्धको कारण हुन सक्ने उनको तर्क छ ।
नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल बैङ्कहरूले अटो क्षेत्रलाई प्राथमिकतामा नै नराखेको बताउँछन् । अन्य क्षेत्रको भन्दा ब्याजदर सस्तो हुनुपर्नेमा अहिले अटो लोनमा धेरै ब्याजदर हुनु दुखद् भएको अध्यक्ष दुलालको भनाइ छ ।
कुनै बेला स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ६ प्रतिशतमा नै अटो लोन दिएको भन्दै उनले अहिले यतिधेरै महँगो ब्याज लिन नहुने बताए । उनले सरकारले पनि अटो क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाए । नीतिले समेत कसेका कारण पनि समस्या भएको उनी बताउँछन् । डाउनपेमेन्टमा होस् या भन्सारमा, राज्यले यो क्षेत्रलाई कसेको उनले बताए ।
‘डाउनपेमेन्ट पनि धेरै गर्नुैपर्छ, भन्सार पनि ३०० प्रतिशत तिर्नुपर्छ’ अध्यक्ष दुलालले भने, ‘अब कर्जाको ब्याज पनि अति नै बढी हुनु त ठीक होइन, यो क्षेत्रको ब्याजदर घटाउनुपर्छ । अझ यस्तो बेलामा त व्यक्तिगत सवारी साधनलाई प्राथमिकतामा राख्नुपर्छ ।’
आंशिक लकडाउनका बेला अर्थतन्त्र जोगाउनका लागि निजी सवारी साधनले भूमिका खेलेको भन्दै उनले भने, ‘पब्लिक भेइकल चढ्न नदिने, प्राइभेटले अर्थतन्त्र धान्नुपर्ने अनि किन्ने कस्ने ?’
सरकारी नीति पनि यसका लागि लचक हुनुपर्ने उनी बताउँछन् । यो क्षेत्रमा जाने कर्जालाई प्राथमितामा राखे बैङ्कलाई पनि राम्रै हुने उनको तर्क छ ।
कति छ त अहिले ब्याजदर ?
केही दिन पहिले राष्ट्रिय वाणिज्य बैङ्कले ७.२५ प्रतिशतमै १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा पाइने आकर्षक स्किम ल्यायो । यो स्किममा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने उल्लेख छ । घर कर्जाका लागि बेलाबेलामा यस्ता स्किमहरू आइरहेका छन् ।
सवारी साधन कर्जाका लागि भने खास त्यस्तो स्किम छैन । आजको मितिमा पनि अटो क्षेत्रमा जाने कर्जा १४ प्रतिशत हाराहारी छ । कर्जा विस्तारमा निकै आक्रामक रहेको एनआईसी एसिया बैङ्ककै अटो कर्जाको ब्याजदर १३ प्रतिशत हाराहारीमा छ ।
साधारण बचत २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म र मुद्धती निक्षेपमा ६.५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म दिने उल्लेख गरेको एनआईसी एसियाले घर कर्जाका लागि पि्रमियममा ५ प्रतिशत र अटो लोनमा पनि ५ प्रतिशत नै पि्रमियममा उपलब्ध गराउने जनाएको छ ।
अर्थात्, यो बैङ्कले आफ्नो बेस रेटमा ५ प्रतिशतसम्म जोडेर घर तथा सवारी साधनमा जाने कर्जाको ब्याजदर कायम गर्छ । यो बैङ्कको बेस रेट अहिले ७.७० प्रतिशत भएकोले यस्तो कर्जा लिनेले १२.७० प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।
अझ सेञ्चुरी कमर्सियल बैङ्कमा त अटो लोन लिनुपर्दा करिब साढे १४ प्रतिशतसम्म ब्याजदर भुक्तानी गर्नु पर्नेछ । घर कर्जा पनि १३ प्रतिशतभन्दा माथि नै छ । बैङ्कको बेसरेट अहिले ९.३८ प्रतिशत छ । यसमा अटो लोन लिँदा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र होम लोन ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म पि्रमियम जोड्ने बैङ्कले बताएको छ । अर्थात् अटो लोनका लागि १४.३८ प्रतिशतसम्म र होम लोनका लागि १३.३८ प्रतिशतसम्म ब्याजदर हुन आउँछ ।
प्राइम कमर्सियल बैङ्कले यस्तो कर्जामा अधिकतम ६.५० प्रतिशतसम्म पि्रमियम तोकेको छ । यो बैङ्कको बेस रेट ८.६२ प्रतिशत रहेको छ । अधिकतम पि्रमियम चार्ज गर्ने हो भने यो बैङ्कको यस्तो कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा माथि हुन जान्छ ।
मुलुककै जेठो बैङ्क नेपाल बैङ्कले घर कर्जाका लागि ३.८० प्रतिशतसम्म पि्रमियम जोड्ने बताएको छ । अटो लोनका लागि भने २.५५ देखि ४.१६ प्रतिशतसम्म पि्रमियम जोड्ने बताएको छ । बैङ्कको अहिले बेस रेट ६.९९ प्रतिशत छ । यसरी हेर्दा बैङ्कको घर कर्जा करिब ११ प्रतिशतसम्म र सवारी साधनमा जाने कर्जा ११ प्रतिशतभन्दा माथि हुन जान्छ ।
होम र अटो लोनमा ५ प्रतिशतसम्म पि्रमियम जोड्ने बताएको मेगा बैङ्कको ब्याजदर १४.३२ प्रतिशतसम्म हुन आउँछ । यो बैङ्कको बेस रेट ८.३२ प्रतिशत छ । कुमारी बैङ्कको त झन् १५ प्रतिशत नै पुग्न जाने देखिन्छ । असार मसान्तसम्म बेस रेट १०.०८ रहेको यो बैङ्कले होम तथा अटो लोनमा ५ प्रतिशत प्रिमियम थपेर लिने जनाएको छ ।
अधिकांश बैङ्कहरूको ब्याजदर यस्तैयस्तै हुन आउँछ । घरकर्जा तथा सवारीसाधन कर्जामा यति धेरै पि्रमियम जोड्ने बैङ्कहरू अन्य कर्पोरेट ऋणीहरूका लागि भने निकै ‘लोयल’ छन् । बैङ्कहरूले ठूला कर्पोरेट ऋणीहरूलाई बढीमा २ प्रतिशत वा कतिपय अवस्थामा त्योभन्दा पनि कम पि्रमियम जोडेर कर्जाको ब्याज लिने गरेका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4