Comments Add Comment

वीरगञ्जमा कोरोना कहर : युद्धको बेला कमाण्डर हटाइयो

३ भदौ, वीरगञ्ज । युद्ध चलिरहेको बेला अचानक कमाण्डर परिर्वतन भयो भने लडाईको मैदानमा रहेका सैनिकहरुको मनस्थिति कस्तो होला ? वीरगञ्जमा कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुको अहिले त्यस्तै अवस्था छ ।

कोरोनाले आक्रान्त वीरगञ्जमा हरेक दिन संक्रमितको संख्या मात्र होइन, मृत्यु पनि बढिरहेको छ । संक्रमितलाई राख्ने वेड, आईसीयू, भेल्टिलेटर सबको अभाव छ । कोरोना संक्रमण भएका मात्र होइन, नभएका गम्भीर विरामीले पनि समयमै उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आइसक्यो ।

स्वास्थ्य मन्त्रालयले भने कोरोनाको हटस्पट वीरगन्जको फ्रन्टलाइनमा रातदिन खटेका एक कमाण्डरलाई सरुवा गरेको छ । कोरोना महामारी शुरु भएदेखि नै राम्रो काम गरेकोमा प्रसंसित मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. मदन उपाध्याय नारायणी अस्पतालबाट मन्त्रालय तानिएका छन् ।

मन्त्रालयले नारायणी अस्पतालको मेसु तोकेका डा. सञ्जय ठाकुर वीरगन्ज आइपुगेका छैनन् ।

अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंह एउटा रणनीतिमा काम गरिरहेको बेला अचानक नेतृत्व परिवर्तन हुँदा असर पर्नुलाई स्वाभाविक मान्छन् । ‘उहाँले बसाउनुभएको एक किसिमको सिस्टम अब ब्रेक भयो’, उनी भन्छन्, ‘नयाँ मेसु पनि कुशल हुनुहोला, तर उहाँलाई वस्तुस्थिति बुझ्न समय लाग्न सक्छ । तर, यो वस्तुस्थिति बुझ्ने बेला होईन, युद्धको समय हो ।’

०००

प्रदेश २ का कुनै पनि अस्पताल कोरोना संक्रमितको उपचारका लागि तयार नभएको बेला गत चैतमा डा. उपाध्याय नेतृत्वको टोलीले नारायणीमा आइसोलेसन वार्ड बनाएर उपचार थालेको थियो । परिणाम, पर्साका मात्र होइन, बारा, रौतहट लगायत जिल्लाका संक्रमितले नारायणी अस्पतालमा उपचार पाएका थिए ।

डा. उपाध्यायकै महत्वपुर्ण भूमिकाले नारायणीमै पीसीआर विधिबाट कोरोनाको परीक्षण पनि सुरु भयो । संक्रमितको संख्या बढेसँगै वीरगञ्ज महानगरसँग मिलेर गण्डक अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्नमा पनि उनी खटे । असार अन्तिम र साउन पहिलो सातातिर वीरगञ्जमा दैनिक भेटिने संक्रमित संख्या एक अंकमा झर्नुमा डा. उपाध्यायको मेहनतले पनि काम गरेको थियो ।

तर साउन दोस्रो साताबाट समुदायमा संक्रमण पुगेको संकेतहरु देखिए । डा. उपाध्यायकै जोडबलमा नारायणीमा पेड पीसीआर परीक्षण  (पैसा तिरेर गरिने कवरोना परीक्षण)  सुरु भएको थियो, जहाँ लक्षण र ट्राभल हिस्टी नभएकाहरुमा कोरोना संक्रमण देखायो । त्यसपछि संक्रमितको संख्या मात्र बढेन, उपचारका क्रममा वा अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएका घटना बढे । नारायणी अन्तर्गत नै रहने गरी वीरगञ्ज हेल्थकेयरलाई पनि कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइयो ।

यो अवस्थासम्म स्वास्थ्य मन्त्रालयले ‘स्थलगत अध्ययनका लागि’ टोली पठाउनेबाहेक कुनै काम गरेन । वीरगन्जमा खटेका स्वास्थ्यकर्मीहरुले समुदाय स्तरमा संक्रमण फैलिसक्यो भनेर बारम्बार कराउँदा पनि मन्त्रालयले न समुदायमा फैलिएको छैन भन्न सक्यो न त स्वस्थकर्मीको थप टोली पठाउन सक्यो ।

लक्षण भएका संक्रमितलाई राख्न बेड अभाव भएपछि जिल्ला संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध भएका भनिएका बसरुद्धिन अन्सारीको नेशनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने भनियो । तर, मन्त्रालयले फेरि नारायणीलाई नै कोभिड अस्पताल बनाउनू भनेर पत्र पठायो ।

अहिले कोरोना संक्रमित बाहेकका विरामीहरुले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ । मन्त्रालयले यो अवस्थालाई नजरअन्दाज गर्दै नारायणीलाई कोभिड अस्पतालमा परिणत गर्न दबाब दियो ।

गण्डकलाई कोरोना विशेष अस्पताल बनाएपछि नारायणीमा कोभिडको जनरल सेवा शुरु पनि भएको थियो । तर, चिकित्सक, स्वास्थ्यकर्मी र उपचाररत अन्य रोगका बिरामीमा समेत कोरोना संक्रमण देखिएपछि साउन ९ गतेबाट इर्मजेन्सीबाहेक अरु सेवा बन्द गरिएको थियो । जनरल सेवा सुरु नगरेको भन्दै सरकार समर्थक एउटा समुहले मेसु उपाध्यायलाई मोसो दल्ने प्रयाससमेत गरेको थियो ।

त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले सुरक्षा माग गर्दै नत्र सामूहिक राजीनामा दिने चेतावनी दिए । त्यहीबेला सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)का केही नेता मेसु उपाध्ययको सरुवा गराउन स्वास्थ मन्त्रालयसम्म पुगेको गाइँगुइ वीरगञ्जमा चलेको थियो ।

अन्ततः डा. उपाध्यायलाई वीरगञ्जबाट पन्छाइएको छ । यो सरुवाले उनलाई वीरगन्जमा रातदिन खट्नुभन्दा आरामको अवसर पनि जुटाएको होला, तर वीरगञ्जका लागि भने यो कूबेलाको सरुवा भएको छ ।

नारायणीका निमित्त मेडिकल सुपरीटेन्डेन्ड डा. वीरेन्द्र प्रधान शुरुदेखि नै कोभिड महामारीमा खटिएका प्रशासकको सरुवा हुनु अस्वभाविक भएको बताउँछन् । ‘डा उपाध्यायको सरुवा हुनु अस्वाभाविक छ’ उनले भने, ‘अहिले साधरण समय त होइन, महामारीको समयमा नयाँ व्यक्तिलाई बुझ्नै ५/७ दिन समय लाग्छ ।’

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक रहिसकेका जनस्वास्थ्य विज्ञ बाबुराम मरासिनी अहिले वीरगञ्जको अवस्था भयावह देख्छन् । यस्तो बेला काम गरिरहेका मेसु सरुवाको औचित्य पुष्टि नहुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment