Comments Add Comment

क्रिकेटरको तलबका लागि आईसीसीमा २३ जनाको नाम पठाइयो

४ भदौ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा २३ जनाको नाम पठाएको छ ।

आईसीसीले तलब पठाउनका लागि खेलाडीको हस्ताक्षरसहित डकुमेन्ट पठाउन भनेपछि क्यानले २३ जनाको नाम पठाएको हो । क्यान निलम्बनमा रहँदा क्रिकेट खेलाडीको तलब आईसीसीले नै दिँदै आएको थियो । त्यसै अनुसार २०१९ को तलबको लागि नामावली संकलन गरेर आईसीसीमा पठाइएको क्यान सचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरलाई बताए ।

‘आईसीसीले २०१९ को तलब बाँड्नुपर्ने हो । यो पुरानो नै हो । त्यसको प्रकियाको लागि खेलाडीले कन्ट्रयाक्ट गर्नुपर्ने थियो । त्यो कन्ट्रयाक्ट गरेर सबै उता पठाउनुपर्ने माग भएको थियो । त्यसैको लागि हामीले पठाएका हौं,’ प्याकुरेलले भने ।

पछिल्लो पटक आईसीसीले सन् २०१८ मा दुई वर्षको एकमुष्ट तलब राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीलाई पठाएको थियो । त्यसपछि अहिलेसम्म खेलाडीको तलब आएको छैन ।

२०१८ मा विभिन्न ३ श्रेणीमा रहेका २१ खेलाडीको तलब आएको थियो । क्यानका सचिव प्याकुरेलका अनुसार २०१९ मा आईसीसीले नै २२ जनाको तलब पठाउन लागेको बताए ।

‘२०१९ को लागि तलबका लागि २२ जना खेलाडी छन् । आईसीसीले नै २०१९ मा २२ जनाको सूची बनाएको छ,’ प्याकुरेलले भने,’ त्यसमा एक जना भिडियो एनालिस्टसहित २३ जना छन् ।’

प्याकुरेलले यो क्यानको निलम्बन फुकुवा हुनुअघिको सूची रहेको बताए । ‘२२ जनाको नाम उतैबाट आएको हो । यो हामी फुकूवा हुनुअघिको हो । हामीले पठाउनुपर्ने नामहरु पठाएका छौँ । हाम्रो काम यसलाई सहजीकरण गर्ने मात्र हो,’ उनले भने ।

पछिल्लो ग्रेडिङ सम्झौताअनुसार ग्रेड ‘ए’मा रहेका खेलाडीले ३५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले १५ हजार पाउनेछन् ।

ग्रेडिङमा रहेका २१ खेलाडीसहित एमसीसीविरुद्ध टीयू मैदानमा फस्ट क्लास क्रिकेट खेलेका राजु रिजालको नामसमेत थपेर आईसीसीमा पठाइएको स्रोतले जनाएको छ ।

यस्तै क्यान निलम्बनमा रहँदा नेपाली टिमको व्यवस्थापन पनि सम्हाल्दै आएका भिडियो एनालिस्ट रमन शिवाकोटीको नाम पनि पठाइएको छ ।

सचिव प्याकुरेलले यताबाट गर्नुपर्ने काम गरिसकेको र अब सकेसम्म चाँडै खेलाडीको तलब निकासा हुने बताए । ‘उहाँहरुले प्रोसेसिङमा छौँ भन्नुभाछ । उताको पनि काम लामै हुन्छ । उहाँहरुले केही हप्ता लाग्छ भन्नुभाछ । सम्भवत अर्को हप्तासम्म हुन्छ होला,’ प्याकुरेलले भने ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपाली खेलाडीले तलब पाउन पनि ढिलाइ भइरहेको छ । यसैगरी क्यानले महिला र पुरुष १८-१८ जना गरी ३६ खेलाडी र स्टाफहरुको कवरोना विमा गर्ने भएको छ ।

ग्रेडिङमा रहेका २१ खेलाडीहरु

ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी ।

बी श्रेणी : शक्ति गौचन, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी ।

सी श्रेणी  :  सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी ।

तलबको लागि पठाइएका थप दुई नाम

राजु रिजाल (खेलाडी)

रमन शिवाकोटी (भिडियो एनालिस्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment