Comments Add Comment

विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिन बन्द

४ भदौ, विराटनगर । रिएजेन्ट किन सकिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको पीसीआर जाँच गर्ने मेसिन बन्द भएको छ ।

प्रदेश प्रयोगशालामा ठूलो पीसीआर मेसिन र साना पोर्टेबल तीनवटा मेसिनबाट कोरोना जाँच हुँदै आएको थियो । तर बिहीबारबाट एकै पटक ९६ वटा नमुना जाँच गर्न सक्ने मेसिन बन्द भएको प्रदेश प्रयोगशाला निर्देशक जयबेन्द्र यादवले बताए ।

ठूलो मेसिन सञ्चालनमा आउँदा ल्याबले दैनिक ८ सय सम्म पीसीआर जाँच गरेको थियो । तर बन्द भएपछि पीसीआर जाँचको क्षमता घटेको छ ।

साउन पहिलो साता स्वीस सरकारले प्रदेश १ लाई दुई वटा पीसीआर मेसिन दिएको थियो । सोही मेसिनको रिएजेन्ट लोइल प्लेट सकिएको हो । ‘मेसिनसँगै आएको प्लेटले यतिका दिनसम्म पुग्यो’ उनले भने ‘एउटै कम्पनीको प्लेट प्रयोग गर्नुपर्ने रहेछ सो मेसिनको प्लेट बजारमा पाइएन ।’

उनले मंगलबारसम्म आइपुग्ने बताए । ‘मेसिन दुबई हुँदै आउने सप्लायर्सले बताएका छन्’ उनले भने ‘हामीले बुझ्दा दुबईबाट आउने प्लेनमा ल्याउने तयारी छ भन्थे, प्लेन रित्तै आएका कारण अर्काे प्लेनमा ल्याउँछ भन्दैछन् ।’

रिएजेन्ट सकिएका कारण बिहीबार प्रदेश १ मा १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको थियो । जसमा ४२ जनाको रिपोर्ट पोजटिभ आएको थियो । ४२ संक्रमितमध्ये सुनसरीका १२, मोरङका १०, तेह्रथुमका ९, उदयपुरका ३, धनकुटा र झापामा १–१ जना र प्रदेश १ बाहिरका ६ जनाको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ छ ।

कोशी कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर

उद्घाटनको पाँच महिनापछि प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर जडान भएको छ । कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्नेगरी आईसीयू र भेन्टिलेटर जडान गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमितको उपचारका लागि १० वटा आईसीयू र पाँचवटा भेण्टिलेटरसहितको बेड राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment