Comments Add Comment

तीजको व्रत फलाहार गरेर बस्ने कि निर्जला ?

काठमाडौं । आज हरितालिका तीज । नेपाली हिन्दु महिलाहरू भाद्र कृष्ण तृतीयाको दिन विधिपूर्वक व्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । शिव पुराणका अनुसार शिवजी पति पाउँ भनी पार्वतीले बसेको सफल व्रतको विधि र तालिका हरि अर्थात् विष्णुले दिएको भन्ने अर्थमा त्यसको नाम हरितालिका राखिएको भन्ने मान्यता छ ।

भाद्र कृष्ण तृतीयाको दिन महिलाहरूले विशेषगरी पानी पनि नपिई व्रत बस्ने गर्छन् । धार्मिक नियमअनुसार निर्जला व्रतको महत्व ठूलो रहेको कुरा शिव पुराणमा उल्लेख गरिएको छ । शिव पुराणअनुसार हरितालिका तीजका दिन पार्वतीले भगवान् शिव पति पाउँ भनेर १०८ वर्षसम्म तपस्या गरेको भन्ने धार्मिक मान्यता छ । त्यसैको नक्कल गरी अहिले पनि निर्जला व्रतको प्रावधान राखिएको छ ।

तर पोषणविद्हरू भने निर्जला जस्तो कठोर व्रत बस्न नहुने तर्क गर्छन् । पोषणविद् डा. अरुणा उप्रेती व्रत बस्ने बेलामा निर्जला जस्तो कठोर व्रत बस्न नहुने तर्क गर्छिन् । उनी व्रत सकेसम्म सातामा एक दिन र नसके पनि महिनामा एक दिन बस्नुपर्ने तर्क गर्छिन् । ‘कोभिडको असर थिएन भने साथीहरूसँगै म पनि व्रत बस्ने गर्थें । व्रत बस्नु स्वास्थ्यको लागि आवश्यक पनि छ । धार्मिक मान्यतालाई पनि लत्याउनु त भएन तर निर्जला व्रतले भने स्वास्थ्यलाई फाइदा गर्दैन ।’  उप्रेतीले व्रत बस्दा फलाहार गरेर व्रत बस्नु उपयुक्त हुने सुझाव दिइन् ।

अर्काेतर्फ महिलाले व्रत बसेर पतिको आयु बढ्छ भन्ने तर्क धार्मिक रूपमा स्वीकार्य भए पनि यसको वैज्ञानिक आधार नरहेको उनी बताउँछिन् । त्यसैले महिला मात्रै भन्दा पनि पुरुष समेत व्रत बस्न सके दुवैको स्वास्थ्यको लागि यसले फाइदा गर्र्ने उनको तर्क छ ।

कसरी रह्यो हरितालिका र तीजको नाम ?

हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने घर न थर भएका, विष भाङ, धतुरो खाने दिगम्बर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन् । पार्वतीले चुपचाप आँसु बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जलि नदिई विद्रोहमा उत्रिइन् ।

पार्वतीले आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गर्ई पानी पनि नखाई व्रत सुरु गरिन् । हरितालिकाको शाब्दिक अर्थलाई केलाउँदा ‘हरिता’ र ‘अलिका’ भन्ने शब्दबाट बनेको हो । यसमा रहेको हरिता भन्ने शब्दले हरण गरिएको भन्ने अर्थ र अलिकाको अर्थ साथीहरूद्वारा भन्ने अर्थ बुझाउँछ । साथीहरूद्वारा हरित पार्वतीले निर्जला व्रत बसेकोले यसदिन महिलाहरूले निर्जला व्रत बस्ने गरेको परम्परा छ ।

तीज भन्ने पर्व एउटा किराको नामबाट राखिएको हो । तीज भन्ने किरा भदौको समयमा निस्कने एक प्रकारको किरा हो । वर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित छ ।

तीजको साँझ १०८ सुते बत्ती प्रज्वलन गरिन्छ र ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्रमाको पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment