Comments Add Comment

अहोरात्र खटिने स्थानीय सरकारलाई सलाम !

राजेन्द्र ढुंगाना (वायाँ) र मौसमकाजी

७ भदौ, पोखरा । १२ चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमै तरंग आएको थियो । कतार एअरवेज हुँदै चैत ४ गते नेपाल आइपुगेकी उनी गण्डकी प्रदेशकै पहिलो संक्रमित थिइन् भने नेपालकै पाँचौं ।

त्यसको ८ दिनपछि बागलुङकै ६५ वर्षीया महिलामा संक्रमण देखा परेपछि थप सन्त्रास फैलियो । ती दिन सम्झिँदै बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना भन्छन्, ‘त्यसबेला धेरैको होसोहवास उड्यो । बागलुङमा त भुसको आगो सल्केझैं सल्केको हुनसक्छ भनेर पूरै त्रास फैलिएको थियो ।’

कोरोना संक्रमित थपिँदै गए, मानिसहरुले पनि जो कोही संक्रमित हुनसक्छन् भनेर बुझ्दै गए । अहिले गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८४४ पुगिसकेका छन् ।

सुरु–सुरुमा १÷२ जनामा कोरोना देखिँदा ठूलो सन्त्रास फैलिएको बागलुङमा मात्र संक्रमितको संख्या २ सय ८० पुगिसकेको छ । कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसिरहेकामध्ये एक जना हुन्, बागलुङ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना ।

वडाध्यक्ष मौसमकाजी जिल्ला आइसोलेसनमा बसेको ७ दिन भयो । अहिले फोनमार्फत मिल्ने काममा समन्वय र सहजीकरण गर्छन्

ढुंगानासहित ३ जना जनप्रतिनिधि छन् । ढुंगाना र बडिगाड गाउँपालिकाका वडा नम्बर ६ र ७ का वडाध्यक्ष पनि यतिबेला जिल्ला आइसोलेसनमा छन् । उनीहरु सबै कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सुरुदेखि नै खटिएका थिए । उनीहरु भन्छन्, ‘यदि स्थानीय सरकारले कोभिड–१९ को रोकथाम, व्यवस्थापन र नियन्त्रण गर्न भूमिका देखाउन नसकेको भए नेपालमा भयावह अवस्था आउँथ्यो ।’ स्थानीय सरकारले निभाएको भूमिका र सरकार जनप्रतिधिकै कारण कोरोना संक्रमण भयावह हुन नपाएको उनीहरुको ठम्याइ छ ।

मान्छे क्वारेन्टिन छोडेर भाग्थे, अहोरात्र खटियौं : वडाध्यक्ष

बागलुङमा अहिलेसम्म ५ हजार ७ सयभन्दा बढीको स्वाब परीक्षण भएको छ । त्यसमध्ये अधिकांश भारतबाट आएका छन् ।

‘कोरोना संक्रमणको डर एकातिर छँदै थियो । अर्कोतर्फ नाकामा अलपत्र परेका नेपालीलाई गाडी पठाएर ल्याइरहेका थियौं । यसो हुँदा जोखिम बढिरहेको थियो,’ बडिगाडका वडाध्यक्ष मौसम काजीले भने, ‘बडिगाड गाउँपालिकामा मात्र ७ सय जनाको हाराहारीमा भारतबाट आएकालाई व्यवस्थापन गर्नु पर्ने अवस्था थियो ।

बडिगाडमा मध्यपहाडी लोकमार्गसँग जोडिएका विद्यालयलाई क्वारेन्टिन बनाउने गाउँपालिकाले निर्णय गरेको थियो । राजमार्गसँग जोडिएका विद्यालयमा क्वारेन्टिन बनाउँदा उद्धार गरेर ल्याइएकाको व्यवस्थापनमा सजिलो पर्थ्यो । ‘बडिगाडका ७ वटा विद्यालयमा क्वारेन्टिन बनाउने भनियो । वडा नम्बर ६ मा बुद्ध माविलाई क्वारेन्टिन बनाइयो,’ वडाध्यक्ष मौसमकाजीले भने, ‘अवस्था यस्तो आयो कि भारतबाट आएकाहरु क्वारेन्टिनबाटै भाग्न थाले । दिनभरि क्वारेन्टिनमा बस्ने, रात परेपछि सुटुक्क घर गइदिने ।’

यस्तो अवस्थामा क्वारेन्टिनको क्यवस्थापनसँगै कुरेर बस्ने कामसमेत जनप्रतिनिधिले गरेको उनले बताए । क्वारेन्टिनबाटै मान्छे भाग्ने डर भएपछि एक वडाबाट अर्को वडामा साटेर राख्ने कामसमेत भएको वडाध्यक्ष मौसमले सुनाए ।

सुरुमा भारतबाट फर्केका र कोरोना संक्रमितको व्यवस्थापनसमेत गरेर फर्किँदा जनप्रतिनिधिसँग समेत स्थानीय त्रसित हुने अवस्था आएको उनले अनुभव सुनाए । ‘स्थानीय हामीसँगै डराउँथे । तर, बिस्तारै अवस्था सामान्य हुँदै गयो । क्वारेन्टिन हटाएर अब होम क्वारेन्टिनमा राख्ने भनियो,’ उनले भने, ‘सुरुमा मान्छे निकै डराए, घरबाट निस्किएनन् । समय बित्दै गयो, हेलचेक्र्याइँ पनि बढ्दै गयो । मान्छे अनावश्यक हिँड्न थाले, जोखिम पनि बढ्दै गयो ।’

बागलुङको बडिगाड गाउँपालिकामा मात्र ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २ जना वडाध्यक्ष छन् । ‘कसरी संक्रमण स¥यो भन्ने कुनै जानकारी भएन । तर यति थाहा छ, जनताको काम गर्दागर्दै संक्रमण लागेर अब कोरोनालाई जितेर फेरि जनताकै काममा फकिँदै छौं,’ उनले भने, ‘समय मिलाएर काठमाडौं परिवार भेट्न जाने योजनामा पिसिआर टेस्ट गराउँदा पोजेटिभ देखियो ।’

कोरोना रोकथाम, नियन्त्रण गर्न खटिएका जनप्रतिनिधिलाई मनसुन सुरु भएयता काम अरु थपियो । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा पहिरो खसे । मेसिन लगाएर पहिरो हटाउने, फसेका गाडी निकाल्ने काममा समेत लागिरहेको अवस्थामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

उनले गाउँमा पोलिक्लिनिक पनि चलाउँछन् । बिरामीको रेखदेख, औषधि पु¥याउनेदेखि डाक्टरलाई लैजाने कामसमेत उनले यो बीचमा गर्दै आएका थिए । ‘पोहोर साल पनि यही समयमा बिरामी परेको थिएँ । यस पटक पनि हल्का ज्यान दुख्ने, ज्वरो आउला जस्तो हुने भएको थियो । तर, नियमित ठानेर पचाइयो । पछि पो कोरोना पोजेटिभ आयो,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘यो जो कोहीलाई, सुनसुकै बेला पनि लाग्न सक्ने संक्रमण हो । त्यसैले हतास, सन्त्रास होइन, साबधानी अपनाऔं, सुरक्षित रहौं, आत्मबल बढाऔं ।’

जनताको सरकार भनेकै स्थानीय सरकार भन्ने देखियो । जो जनतासँग असली रुपमा जोडिए

वडाध्यक्ष मौसमकाजी जिल्ला आइसोलेसनमा बसेको ७ दिन भयो । अहिले फोनमार्फत मिल्ने काममा समन्वय र सहजीकरण गर्छन् । फ्रन्टलाइनमा काम गरिरहेका २ जना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले बडिगाड सिल छ । ‘संक्रमणको जोखिम अझै बढेपछि हटाइएको क्वारेन्टिन फेरि बनाउने कि भन्ने सल्लाह भइरहेको छ,’ उनले भने, ‘सबै जनप्रतिनिधि अहोरात्र खटिएका हौं ।’

स्थानीयबाहेक अरु सरकार कहाँ छ पत्तो थिएन : ढुंगाना

काठमाडौंमा मन्त्रिपरिषदको बैठक बस्दै गर्दा चैत १० गते बागलुङमा विपत व्यवस्थापन समितिको बैठक बसिरहेको थियो । त्यो बैठकमा जिल्ला समन्वय समिति प्रमुख ढुंगाना पनि सहभागी थिए ।

‘माहामारी फैलिन नदिन जिल्लामा कसरी तयारी गर्ने छलफल चल्दै थियो । मन्त्रिपरिषदको बैठकले ११ गतेबाट लकडाउन घोषणा गरिहाल्यो,’ ढुंगानाले त्यो बेलाको भने, ‘लकडाउन भएकै भोलिपल्ट गण्डकी प्रदेशमै पहिलो बागलुङमा संक्रमित फेला प¥यो । त्यो बेला यस्तो भयावह अवस्था थियो कि मान्छेहरु साह्रै डराएका थिए ।’ अहिले उनी आफैं ७ दिनदेखि आइसोलेसनमा छन् ।

बागलुङमा सुरुमै संक्रमण देखिएका कारण पनि तयारी र व्यवस्थापनमा सजिलो भएको उनको अनुभव छ । ‘सुरुमा देखिएपछि बेलैमा तयार गर्ने अवसर मिल्यो । सुरुमा बिरामी निको भएर फर्केपछि मान्छेहरुमा डर पनि कम भयो ।’

बागलुङमा पहिलो चरणमा १ हजार १ सयभन्दा बढीको पीसीआर टेस्ट गर्नु परेको थियो । पछि भारतबाट धमाधम मान्छेहरु आउन थाले । नाकाबाट स्थानीय तहले नै गाडी पठाएर आफ्ना नागरिकलाई गाउँसम्म ल्याउने काम गरे । ‘स्थानीय तहका व्यवस्थापनमा ठूलो चुनौति थियो । नेपाल सरकारले समयमै निर्णय नगर्दा सयौं नागरिक नाकामा अलपत्र परे । ह्वारह्वार्ती ल्याउनुपर्ने अवस्था आयो,’ ढुंगाना सम्झन्छन्, ‘बागलुङको निसिखोला गाउँपालिकामा मात्र एकै पटकमा ६ सय जनालाई कसरी व्यवस्थापन गर्न सकियो होला ?’

संघीय तथा प्रदेश सरकारले ठीक ठंगले काम गर्न नसकेको अवस्थामा स्थानीय सरकारले जनताको नजिक रहेर काम गरेको उनको बुझाइ छ । ‘संघीय सरकारले सामान्य निर्देशन दिनेबाहेक केही गरेन । पर्याप्त स्रोत साधन दिएन,’ उनले अनलाइनखबरसँग भने, ‘स्थानीय पालिकाले मात्रै सबै गर्न सक्छ भन्ने सोचियो । सुरुमा प्रदेश सरकार त कहाँ छ भनेर खोज्नुपर्ने अवस्था देखियो ।’

प्रदेश सरकारले राहतका नाममा गाउँपालिकालाई ५ र नगरपालिकालाई १० लाख घोषणा गरे पनि उल्टै स्थानीय सरकारलाई सकस परेको उनको भनाइ थियो । ‘राहत पाइन्छ भनेर जनताले आशा गरे तर वडाध्यक्ष, गाउँ तथा नगर प्रमुखलाई टाउको दुखाइ बन्यो । सबैलाई राहत दिन सक्ने अवस्था रहेन । १ करोड रुपैयाँसम्म पालिकाहरुले राहत बाँडे,’ उनले भने ।

स्थानीय सरकारले पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीसमेत पाउन नसकेको उनले बताए । एउटै पालिकाले सयौंलाई व्यवस्थापन गर्नुपर्ने र स्रोत तथा साधन केही नहुँदा पनि प्रभावकारी भूमिका देखाउन सफल भएको उनको बुझाइ छ । ‘जनताको सरकार भनेकै स्थानीय सरकार भन्ने देखियो । जो जनतासँग असली रुपमा जोडिए । जनप्रतिनिधि २४ सै घन्टा खटिए,’ उनले भने, ‘जनताको सेवामा अहोरात्र खटिने, खटाउने स्थानीय सरकारलाई सलाम !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment