Comments Add Comment

च्याम्पियन्स लिग फाइनलमा बायर्न र पीएसजी भिड्दै

७ भदौ्, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ ।

नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।

बायर्न सेमिफाइनलमा लियोन र पीएसजी आरबी लाइपजिगलाई पराजित गर्दै फाइनल पुगेको हो । स्थापनाको ५० औं वर्ष मनाउँदै गरेको फ्रेन्च क्लब पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । उता ५ पटकको च्याम्पियन बायर्न ११ औं पटक च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

बायर्नले पछिल्लो पटक २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । ७ वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।

त्यसअघि २०१० र २०१२ मा भने बायर्न फाइनलमा पराजित भएको थियो । बायर्नलाई फाइनल जित्दै लिभरपुलसमान ६  पटक उपाधि जित्ने अवसर छ । अहिलेसम्म स्पानिस जायन्ट रियल मड्रिडले सर्वाधिक १३ पटक च्याम्पियन्स लिग जितेको छ ।

यस्तै इटालियन क्लब एसी मिलानले ७ पटक जितेको छ । लिभरपुलले ६ तथा बायर्न र बार्सिलोनाले समान ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । पीएसजीलाई हराएमा बायर्न सर्वाधिक उपाधि जित्नेमा लिभरपुलसंगै तेस्रो स्थानमा रहनेछ ।

उता पहिलो पटक फाइनल पुगेको पीएसजी उपाधि जित्ने नयाँ टिम बन्ने लक्ष्यमा छ । युरोपियन प्रतियोगितामा फाइनल पुग्ने पीएसजी समग्रमा ४१ औं क्लब हो । यदि पीएसजीले बायर्नलाई पराजित गरेमा च्याम्पियन्स लिग जित्ने २३ औं क्लब हुनेछ र दोस्रो फ्रेन्च क्लब ।

अहिलेसम्म २२ क्लबले उपाधि जित्दा सन् १९९३ मा फ्रान्सको मार्सेले उपाधि जितेको थियो । पछिल्लो पटक फ्रान्सको मोनाको २००४ मा फाइनल खेलेको थियो तर पोर्चुगलको पोर्टोसंग पराजित भयो । पीएसजी च्याम्पियन्स लिग फाइनल खेल्ने १६ वर्षपछि पहिलो फ्रेन्च क्लब बन्दैछ ।

बायर्न र पीएसजी बीचको खेललाई धेरैले प्रतिक्षा गरेका छन् । विश्वकै उत्कृष्ट अट्याक भएको दुई क्लबबीचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । पीएसजीमा नेमार युवा स्टार केलियन एमबाप्पे जस्ता अट्याकिङ लाइनअप छ । उनीहरुलाई एन्जल डि मारियाले साथ दिनेछन् ।

कप्तान थिएगो सिल्भाको नेतृत्वमा रहेको डिफेन्स लाइनमा प्रिससनल किम्बेम्पेको साथ रहनेछ । यस्तै मिडफिल्डमा मार्किन्होम्स र आन्दरे हरेराले उत्कृष्ट खेलिरहेका छन् ।

उता आफ्नो करियरकै उत्कृष्ट फर्ममा रहेका बायर्नमा गोलमेसिन रोवर्ट लेवान्डवस्की पीएसजीका लागि चुनौती बन्न सक्छ । सर्जी नाब्री र थोमस मुलर जस्ता खेलाडी उत्कृष्ट फर्ममा छन् । गोलकिपरमा मानुएल नोएको प्रदर्शन उत्कृष्ट छ ।

डिफेन्समा जेरोमी बोएटेङ, डेविड अलावा, अल्फोल्स डेभिस छन् । युवा स्टार अल्फोन्स च्याम्पियन्स लिग फाइनल खेल्ने पहिलो क्यानडेली खेलाडी बन्दैछन् । मिडफिल्डमा लियोन गोरेट्ज्का थियागो अलकान्टरा इभान पेरिसिक जस्ता खेलाडी छन् ।

पीएसजीका गोलकिपर केइलर नाभाले चोटका कारण सेमिफाइनल खेलेका थिएनन् । उनी फाइनल खेल्ने सम्भावना कम छ । यस्तोमा सर्जि रिकोले नै पोष्टको जिम्मेवारी पाउनेछन् ।

बायर्नका पोलिस फरवार्ड लेवान्डोस्की रोनाल्डोको कीर्तिमानबाट पनि दुई गोल मात्र टाढा छन् । उनले यस सिजन १५ गोल गरेका छन् र एकै सिजन सर्वाधिक गोल गर्ने रोनाल्डोले १७ गोल गरेका छन् । लेवान्डोस्कीले पीएसजीविरुद्ध २ गोल गरेमा रोनाल्डोकी कीर्तिमान बराबरी गर्नेछन् ।

घरेलु लिगको उपाधि पनि जितेको र उत्कृष्ट प्रदर्शन गरिरहेको दुई क्लबले उपाधि आफ्नो बनाउन चाहन्छन् । बायर्नले जर्मन बुण्डेसलिगा र जर्मन कपकको उपाधि जितिसकेको छ । अब च्याम्पियन्स लिग जित्दै दोस्रो पटक ट्रेबल उपाधि जित्न चाहन्छ । बायर्नले यसअघि २०१३ मा ट्रेबल जितेको थियो ।

उता पीएसजीले कोरोना महामारीका कारण गत मार्चमै फ्रेन्च लिग वानको च्याम्पियन घोषित भएको थियो । त्यसयता पीएसजीले फ्रेन्च कप र लिग कपको उपाधि जितिसकेको छ । च्याम्पियन्स लिग पनि जितेमा पीएसजी ट्रेबल उपाधि जित्ने पहिलो फ्रेन्च क्लब हुनेछ ।

बायर्न र पीएसजीबीचको हेड टु हेडमा भने पीएसजी अघि छ । अहिलेसम्म यी दुई टिमबीच ८ पटक खेल भएकोमा पीएसजीले ५ पटक जित हात पारेको छ । ३ पटक बायर्न विजयी भएको छ । हेड टु हेडमा पीएसजी अघि रहेपनि प्रतियोगिताको इतिहास भने बायर्नको पक्षमा रहेको छ । र अन्त्यमा एउटा सत्य कुरा के हो भने दुई उत्कृष्ट अट्याकिङ टिमबीचको खेलमा अब जसले धेरै गोल गर्छ उही विजेता हुनेछ ।

पीएसजीका प्रशिक्षक थोमस टुचालले टिममा युवा खेलाडीहरुको मिश्रण रहेको र उपाधि जित्ने भोक रहेको बताएका छन् । उनले टिममा रहेका अनुभवी खेलाडीहरु केइलर नाभास एन्जल डि मारिया र नेमारसंग पनि कुरा गरेको बताए । तीनै खेलाडीले यसअघि चयाम्पियन्स लिग जितिसकेका छन् ।

टुचालले धेरै पटक फाइनल पुगेकोले बायर्नले केही फाइदा रहेको भए पनि यो नै निर्णायक फाइदा नहुने उनले बताए । ‘बायर्नलाई अलिकति फाइदा यो छ उनीहरुले यस्तो अवस्थामा यसअघि पनि खेलेका थिए र अहिले पनि खेल्दैछन् । यद्यपी त्यो नै निर्णायक फाइदा भने हुने छैन’ टुचालले भने ।

उता बायर्नका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट फुटबलका लागि आफूहरु उत्कृष्ट खेल प्रदर्शन गर्न गइरहेको बताए । यदि त्यो गर्न सके र शतप्रतिशत प्रदर्शन दिन सके खेल जित्ने उनको भनाइ छ । फ्लिकिले पीएसजीले यस सिजन च्याम्पियन्स लिगमा ५ गोल मात्रै बेहोरेको भन्दै उनीहरुको फ्रन्टलाइन जस्तै ब्याक लाइनले पनि राम्रो प्रदर्शन गरेको बताए । ‘हामीसंग गेम प्लान छ र मलाई आशा छ त्यसलाई हामी लागु गर्न सकौँ’ फ्लिकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment