+

माल्दिनीबाट प्रभावित रोहित चन्द : अब युरोपमा खेल्ने सम्भावना कम

२०७७ भदौ  ८ गते १४:३१ २०७७ भदौ ८ गते १४:३१
माल्दिनीबाट प्रभावित रोहित चन्द : अब युरोपमा खेल्ने सम्भावना कम

८ भदौ काठमाडौं । नेपाली फुटबलर रोहित चन्दले आफूले युरोपमा खेल्ने आफ्नो सम्भावना कम भएको बताएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बेवसाइट फिफा डट कममा फिचर्ड भएका रोहितले युरोपियन क्लबहरु युवामा केन्द्रित रहेको बताए । ‘लामो समयसम्‍म युरोपमा खेल्न जाने आशा थियो, तर यो उमेर म युरोपमा खेल्ने सम्भावनातिर छैन’ उनले भनेका छन् ।

भिसाको समस्या हुँदा युरोपमा खेल्न जाने अवसर गुमेको पनि उनले  ‘फुटबल इन बैंग्लोर’ को भर्चुअल कुराकानीमा बताएका छन् ।

सोमबार फिफाले माल्दिनीबाट प्रभावित रोहित चन्द नेपालका लागि उचाई खोज्दै भनेर लेखेको छ, जसमा सुर्खेतदेखि अन्तर्राष्ट्रिय स्तरसम्म तय गरेको यात्राबारे चर्चा गरिएको छ ।

चन्दले भारतको एचएएल एससीबाट विदेशमा खेल्न सुरु गरेका थिए । सन् २०१० देखि २०१२ सम्म हलमा खेलेपछि रोहित एक सिजन इन्डोनेसियाको पिएसपिएस पेकनबरुबाट खेले । २०१३ देखि २०१५ सम्म पर्सिजा जाकार्ताबाट खेलेका उनी त्यसपछि मलेसियन क्लब टी टिममा अनुबन्ध भए । तर चोटका कारण उनले पूरा खेल्न सकेनन् ।

नेपालमै फर्किएर २०१६ मा मनाङ मर्स्याङ्दी क्लबका लागि खेलेका रोहित २०१७ मा पुनः पर्सिजामै अनुबन्ध भए । लिग र कप दुई उपाधि जिते । त्यही सिजन इन्डोनेसियन लिगको मोस्ट भ्यालुएबल प्लेअर बने । ‘मेरो क्षमतामा सुधार भएको छ र मेरो प्रदर्शन अझ राम्रो लेभलमा पुगेको छ’ रोहितले पर्सिजामा गरेको प्रदर्शनको आधारमा भनेका छन्, ‘मलाई विश्वास गरेकेमा क्लबको व्यवस्थापनलाई धन्यवाद ।’

एन्फा एकेडेमी उत्पादन रोहितले सन् २००९ मा प्यालेस्टाइनबाट खेल्दै नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

त्यसबेला उनी मात्र १६ वर्षका थिए र नेपालका लागि डेब्यु गर्ने सबैभन्दा कान्छो खेलाडी थिए । २०१२ मा विमल घर्ती मगरले १४ वर्षको उमेर डेब्यु गर्दै रोहितको कीर्तिमान तोडे ।

११ वर्षको अन्तर्राष्ट्रिय करियरमा रोहितले नेपालका लागि ६३ क्याप जितेका छन् । उनी वर्तमान नेपाली टिमका गोलकिपर किरण चेम्जोङपछि धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।

सन् २०११ मा टिनएजर रोहितले फिफा विश्वकप क्वालिफायरमा पहिलो पटक खेलेका थिए । ब्राजिल विश्वकपको क्वालिफायर अन्तर्गत घरेलु मैदानमा नेपालले जोर्डनसँग १–१ को बराबरी खेल्दा रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही वर्ष उनले घरेलु क्लब मछिन्द्र क्लबबाट खेल्दै लिगमा बेस्ट डिफेण्डरको अवार्डसमेत जितेका थिए ।

माल्दिनीबाट प्रभावित

अहिले रोहित चन्द क्लब र देश दुवैमा ‘मोडल’ हुन् । मैदानभित्र र बाहिर उनलाई फलो गर्ने छन् । तर यो स्थानसम्म आइपुग्न उनले लगातार दुई दशक मिहिनेत गरेका छन् ।

रोहितले बाल्यकालका आर्दश खेलाडी पाउलो माल्दिनीलाई सम्झिए, जो उनको लागि निरन्तर प्रेरणाको स्रोत पनि हुन् । ‘’जब म बच्चा थिएँ, माल्दिनी मेरो आइडल थिए । अहिले पनि मेरो आइडलको रुपमा छन्’ इटली र एसी मिलानका लेजेण्डबारे उनले भनेका छन्, मेरा लागि उनी उनी विश्वको उत्कृष्ट डिफेण्डर भन्दा धेरै हुन् । उनी उत्कृष्ट व्यक्तित्व, नेतृत्वदायी र एकरुपको प्रदर्शन भएका खेलाडी हुन् ।’

विश्वकप छनोटको बाँकी खेलमा ध्यान

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत नेपालले अहिलेसम्म एसियन क्षेत्रको क्वालिफायरमा ५ खेल खेलेको छ । रोहितले सबै खेल खेलेका छन् । समूह बी मा रहेको नेपालले पाँचमध्ये १ खेलमात्र जित्दा ४ खेलमा हार बेहोरेको छ ।

नेपाल ३ अंकसहित पाँचमध्ये चौथो स्थानमा छ । नेपालको समूह्यमा अष्ट्रेलिया जोर्डन कुवेत र चाइनिज ताइपेई छन् । नेपालले विश्वकप क्वालिफायरको अर्को चरणमा स्थान बनाउन नसकेपछि रोहितले अर्को वर्ष सुरु हुने छनोटमा सुधारिएको प्रदर्शन गनै चाहन्छन् ।

‘सुरुमा हामीले कोभिड–१९ को असरलाई पार गर्नुपर्‍यो । त्यसपछि बाँकी खेलमा केन्द्रित हुनुपर्छ’ उनले भने, अष्ट्रेलिया र जोर्डन दुबै बलियो टिम हुन् । चाइनिज ताइपेईलाई कमजोर आँक्न मिल्दैन ।’

नेपालले अहिलेसम्म ५ खेल खेल्दा चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले हराएको थियो ।

अब नेपालले अष्ट्रेलिया जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ । ’विश्वकप खेल्ने हरेक खेलाडीको लागि सपना हुन्छ । तर उक्त लक्ष्य पूरा गर्न पहिला हामीले साफ च्याम्पियनसिप र एसिया कपमा राम्रो गरेर तयारी गर्नुपर्छ’ रोहितले भनेका छन् ।

खेलकुद फुटबल रोहित चन्द

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय