
८ भदौ, काठमाडौं । सामान्य अवस्थामा मकवानपुरको थाहा नगरपालिकाबाट काठमाडौंका लागि दैनिक ५० देखि ६० वटा तरकारीको गाडीहरु आउँथे । यो सिजनमा काउली, मुला, भेण्डी र हरियो तथा अकबरे खुर्सानी लगायत तरकारी थाहाबाट आउँछन् ।
बुधबार कालीमाटी र बल्खु बजारका लागि थाहा नगरपालिकाबाट नेपाल तरकारी तथा फलफूल व्यवसायी संघले ६० वटा तरकारीको गाडि पठाएको थियो । व्यवसायी संघका अध्यक्ष एवम् कृषक राजेन्द्र बिडारीका अनुसार बिहीबार काठमाडौंका लागि तरकारी पठाउन पाइएन ।
‘अघिल्लो दिन नै बजारमा पठाएको तरकारी नबिकेको भन्दै बजारबाट फोन आएपछि हामीले तरकारी टिपेनौँ, बजार पठाएनौँ,’ बिडारीले मकवानपुरबाट फोनमा भने ।
त्यसपछि तरकारीको बजारमा थाहाबाट नियमित जसरी बजारमा तरकारीको आपूर्ति हुन सकेोको छैन ।
पाँचखालबाट काठमाडौंका लागि गोविन्द रम्तेल लगायतको समूहले तरकारी पठाउँछ । पछिल्लो समय पाँचखालमा तरकारीहरु खासै फलेका छैनन्, नजिकका गाउँहरुबाट खोजेर केही मात्रामा तरकारी काठमाडौं ल्याइरहेको रम्तेल बताउँछन् ।
‘बोडी, करेला, घिरौँला, सिमी लगायतका तरकारी काठमाडौं लगिरहेका थियौं, अहिले समस्या परेको छ,’ उनले भने ।
नेपालले पहिलो पटक चैत्र ११ गतेदेखि देशब्यापी लकडाउन सुरु भएको केही सातामा कृषि उत्पादनहरु स्रोतमै कुहिन थाले । गोलबेडा, बन्दा, काउली जस्ता तरकारीहरु लकडाउनका कारण बजारसम्म आउन नपाएपछि कृषकहरु मारमा परे ।
चार महिना लामो लकडाउन अन्त्य भएको एक महिनापछि तरकारीको मुख्य खपत हुने पुनः काठमाडौंसहितका सहरमा निषेधाज्ञा छ ।
जसले गर्दा तरकारीको बजार श्रृंखंला भत्किने चिन्ता किसानलाई छ । त्यसको स्पष्ट संकत पनि देखिसकेको छ ।
होलसेल बजारको अवस्था
निषेधाज्ञा सुरु भएदेखि नै बजारमा तरकारीको आयात कम भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । सामान्य अवस्थामा बजारमा दैनिक ७ लाख किलोसम्म तरकारी भित्रिने गरेकोमा तरकारी निकै कम मात्रामा बजारमा आएको छ ।
अझ निषेधाज्ञा सुरु भएपछि बजारमा आउने तरकारी मात्रा निकै घटेको समितिले जनाएको छ । निषेधाज्ञाको दोस्रो दिन कालीमाटी तरकारी बजारमा ९७ हजार ६२ किलो मात्रै तरकारी भित्रिएको थियो ।
बजारमा किसानबाट तरकारी ल्याउन मात्रै हैन, खुद्रा ग्राहक पनि तरकारी लिन आउन छोडेको कालीमाटीका व्यापारीहरुले बताएका छन् ।
‘बजार खुल्न निश्चित समय छुट्याइएको भएपनि प्रहरीको डर वा सवारी साधन नभएको हो, खुद्रा ग्राहक एकदमै कम आउँछन्,’ कालीमाटी फलफूल तथा तरकारी बिक्रि संस्थाका अध्यक्ष गीता आचार्यले भने ।
यसवर्ष निरन्तरको वर्षा र लकडाउनका कारण तरकारीको उत्पादन कम भएको र अहिले निषेधाज्ञाका कारण बजारमा तरकारी भित्रिन पनि कम भएको आचार्यले दावी गरे ।
‘सामान्य अवस्थामा दैनिक दुई गाडी तरकारी मेरो पसलमा किसानले झार्थे, तर मुस्किलले एक गाडी मात्रै तरकारी आउन थालेको छ,’ उनले भने । खुद्रा ग्राहक नआउँदा पहिले एकैदिनमा बिक्ने तरकारी दुई दिनसम्म गोदाममा बस्ने गरेको आचार्यले बताए ।
कालीमाटी जान र ल्याएर बेच्न समस्या
काठमाडौं महानगरपालिका १६ का किराना व्यवसायी दुर्गादत्त पौडेल बिहान तरकारी किन्न कालीमाटी जाँदैनन् । हरेक दिन बिहान पाँच बजे कालीमाटी पुगेर साढे ६ बजेसम्म तरकारी लिएर पसल आइपुग्ने उनले बिहीबारबाट पर्याप्त तरकारी बिक्री गर्न पाएका छैनन् ।
‘गएको बेलामा टन्नै तरकारी ल्याउँछु, विहान पसल खोल्नासाथ प्रहरी आएर पसल बन्द गराउँछन्, तरकारी बेच्नै मुस्किल छ,’ उनी भन्छन् ।
काठमाडौंका धेरै खुद्रा व्यपारी पछिल्लो केही दिनमा होलसेल बजार नगएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
निषेधाज्ञामा के कस्तो सुविधा कसरी सञ्चालन हुने भन्ने अन्यौलता र कानून कार्यान्वयनको आाफ्नो व्यख्याले तरकारी आपूर्ति, उपभोगको श्रृंखला टुट्ने डर बढेको विकास समितिका एक अधिकारी बताउँछन् ।
प्रभावकारी समन्वय गरिरहेको दावी
कृषिजन्य उत्पादनको बजार आपूर्ति अवस्था टुट्न नदिन प्रभावकारी समन्वय गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञाको सूचना लगत्तै गृह मन्त्रालयलाई पत्राचार गरेर कृषि उपजको श्रंखलामा अवरोध नहुने अवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।
पशुपन्छीतर्फ पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्मा र कृषि उपजतर्फको आपूर्ति समन्वयको काम आफूले गरिरहरको केसीले बताए ।
आपूर्ति श्रृंखला सहजताका लागि मन्त्रीको सचिवलयबाट सदस्य खटिएको र समस्या आउने बित्तिकै सहजाताका लागि पहल गरिरहेको केसीको दाबी छ ।
लकडाउनको बेलाको पाठले यसपटक सजग गराएको भन्दै उनले कोभिडको डरका कारण बजार सुस्त भएको बताए ।
दूग्धजन्य पदार्थ, तरकारी तथा पशुपन्छीको आयातका बेला अनावश्यक यात्रु बोक्ने कारणबाट त्यस्ता सवारीमा साधनले पाउने दुःख भने पाएको मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा छिटफूट बाहेकको अबरोधबारे मन्त्रालयमा गुनासो नआएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4