Comments Add Comment

डेरावाल संक्रमितलाई घरबेटीले नै बनाइदिए आइसोलेसन

८ भदौ, विराटनगर । पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फैलिएको मोरङको विराटनगरमा डेरा बस्नेलाई घरबेटीले घर छोड्न बाध्य बनाएको घटना नौलो हुन छाडेको छ । तर यहाँका एक घरबेटीले भने डेरावाल संक्रमितका लागि छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरिदिएका छन् ।

विराटनगर महानगरपालिका– ३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरोना संक्रमितका लागि घरमै आइसोलेसन व्यवस्था गरिदिएका हुन् ।

एक साताअघि सुवेदीको घरमा भाडामा बस्ने एक जनालाई कोरोना संक्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण संक्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् ।

‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’

सुवेदीको दुई तल्ले घर छ । भुई तल्लामा संक्रमित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरिदिएका छन् । युवतीको परिवारलाई पनि छुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् ।

‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’

संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘घरमा सतर्कता अपनाएका छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन । संक्रमितको अवस्था दिनमा एक पटक बुझ्छु ।’

संक्रमण पुष्टि भएका युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर ३ का ५७ वर्षका कोरोना संक्रमितको मृत्यु भएको थियो ।

संक्रमित युवती मृतक पुरुषका आफन्त हुन् । युवतीको आफन्तको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment