Comments Add Comment

भारतमा वार्षिक झण्डै पाँच लाखको ज्यान लिने एउटा रोग

काठमाडौं । मुम्बईमा बस्ने ४१ वर्षीय पंकज भवनानीको जिन्दगी एक वर्षअघिसम्म गजबले चलिरहेको थियो । एउटा बिजनेस हाउसमा राम्रो ओहदाको नोकरी गरिरहेका उनी आफ्नी पत्नी राखी र दुई जुम्ल्याहा सन्तानसँग सुखी जीवन बाँचिरहेका थिए । तर अक्टोबर २०१९ मा पंकजलाई ट्युबरक्लासिस अर्थात् क्षयरोगले समात्यो ।

टीबीले पंकजको फोक्सोमा हमला गर्‍यो । ६ महिनाको उपचारपछि उनी ८० प्रतिशत स्वस्थ पनि भए । तर अरू संकटले उनलाई पछ्याइरहेको थियो । फेब्रुअरीको टेस्टमा थाहा भयो कि टीबीको ब्याक्टेरियाले पंकजको मस्तिष्कलाई संक्रमित तुल्याएको रहेछ । तीन महिनाभित्र उनको आँखाको ज्योति पनि गायब भयो भने खुट्टाको सन्तुलन पनि बिग्रियो ।

लकडाउन समाप्त भएको थियो, १७ जुलाईका दिन ६ घण्टासम्म उनको मस्तिष्कको शल्यक्रिया गरियो र संक्रमण हटाइयो । १० दिनसम्म कडा औषधि खुवाएर उनलाई अस्पतालबाट डिस्चार्ज गरियो ।

पंकज भन्छन्, ‘टीबीका रोगीहरूको बीचमा औषधि रोकियो भने रोग ठीक हुँदैन र ज्यान जाने खतरा हुन्छ । औषधि सकिन लाग्यो र कतै पनि किन्न पाइएन । त्यसबेला मेरो परिवार पाँच रातसम्म सुत्न सकेन । डर यो पनि थियो कि कतै मेरो संक्रमण बच्चामा त सर्दैन ?’

पंकजको परिवारले प्रधानमन्त्री कार्यालय, महाराष्ट्र सरकार, सबै ठूला अस्पताल तथा निजी संस्थाहरूमा औषधिका लागि गुहार्‍यो । यो औषधि जापानबाट आयात हुन्थ्यो र कोरोना भाइरसको विश्वव्यापी संकटका कारण औषधिको आपूर्ति अवरुद्ध भइरहेको थियो । पंकजकी श्रीमतीले आफ्नो पीडा ट्विटरमा पोखिन् । अनि, त्यही माध्यमबाट के–कसो गरेर औषधिको जोहो भयो । त्यसबेलाको कठिन अवस्था सम्झेर पंकज भावुक बन्दै भन्छन्, ‘मलाई लागेको थियो अब मर्नुबाहेक अर्को विकल्प छैन ।’

०००

शाकिब खानको परिवार गाजियावाद–नोएडा सीमामा अवस्थित एक गाउँमा तीन वर्षदेखि बस्दै आएको थियो । शाकिबका ७१ वर्षीय बाबुको टीबीको उपचार दिल्लीको पटेल चेस्ट अस्पतालमा जारी थियो ।

मजदुरी गरेर परिवार पाल्दै आएका शाकिबलाई लकडाउनले घर चलाउन समस्या पर्‍यो । आफ्ना छिमेकीहरूसँगै उनी लकडाउन सकिना साथ बिजनौरस्थित आफ्नो गाउँ फर्किए । उनी भन्छन्, ‘बुबाको औषधि लाकडाउनमा नै सकियो । फेरि यसलाई निरन्तरता दिन तीन हप्ताभन्दा बढी समय लाग्यो । डाक्टरका अनुसार फेरि दोहो¥याएर एक वर्षसम्म औषधि खानुपर्ने भएको छ ।’

कोरोनाको ओझेलमा टीबी

अहिले नेपाल र भारतसहित विश्वभर कोभिड १९ अर्थात् कोरोनको व्यापक चर्चा छ, अन्य रोगहरू कोरोनाको ओझेलमा परेका छन् । जबकि कोरोनाभन्दा कयौं गुण खतरनाक रोगहरूले अहिले पनि मानव जीवनलाई दुःख दिइरहेको छ । त्यसमध्येको एक टीबी पनि हो । टीबी रोगबाट विश्वमै सबैभन्दा आक्रान्त देश हो, भारत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष भारतमा ४ लाख ८० हजार व्यक्तिहरूको मृत्यु हुन्छ । यो विश्वव्यापी मृत्युको एक तिहाइ संख्या हो ।

यो आँकडालाई टुक्र्याउँदा अझै चिन्ताजनक चित्रहरू प्रकट हुन्छन् । भारत सरकारको आकलनअनुसार दैनिक एक हजार ३०० जनाको ज्यान जाने गरेको छ । जबकि अहिले उत्कर्षमा रहेको कोरोनाले दैनिक एक हजारको हाराहारीमा ज्यान लिइरहेको छ । दुई आँकडालाई तुलना गर्दा अहिले पनि भारतमा कोरोनाभन्दा टीवीका कारण धेरै मृत्यु हुने गरेको देखिन्छ । भारतले ५० वर्षदेखि टीबीको रोकथाम नियन्त्रणको प्रयास गर्दै आइरहेको छ तर पनि सफल हुन सकेको छैन । यस रोगलाई भारतीयहरूले ‘साइलेन्ट किलर’ मान्ने गर्छन् ।

भारतमा गत जनवरीको अन्तिम सातादेखि कोरोनाको प्रकोप बढ्न थालेको थियो । २४ मार्चमा देशव्यापी लकडाउन घोषणा भयो । त्यसयता टीवी रोगका बिरामीहरूको संख्यामा ह्वात्तै गिरावट देखिएको छ । तर यो तथ्यांकले वास्तविकता दर्शाउँदैन । लकडाउनका कारण बिरामीहरू अस्पतालसम्म पुग्न नसक्नुले मात्रै संख्या कम देखिएको हो ।

उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान, महाराष्ट्र, गुजरात, बिहारलगायतका राज्यहरूमा टीबीका अत्यधिक बिरामीहरू देखिन्छन् । बिहारका प्रमुख टीबी अधिकारी डा. केएन सहायको भनाइमा अहिले सम्पूर्ण ध्यान कोभिड १९ मा केन्द्रित गर्नु परेकाले टीबीका बिरामीहरू प्राथमिकतामा परेका छैनन् । उनले भने, ‘सरकारी अस्पताल मात्र नभएर टीबीका निजी क्लिनिकहरू पनि लगभग सबै बन्द भएका थिए । यसले गर्दा टीबीका बिरामीहरूको संख्या आधा हुन गयो ।’

कोभिड महामारीका कारण टिबीका धेरै बिरामीहरूले औषधोपचारका लागि दुःख र हण्डर खेप्नुपरेको उनी बताउँछन् । धेरै बिरामीहरूले औषधिलाई निरन्तरता दिन नसक्दा मृत्युसमेत भएको छ ।

संक्रमणको खतरा

लकडाउनमा उत्पन्न गतिरोधले गर्दा अब भारतमा टिबी रोगको फैलावट उच्च दरमा बढ्ने आशंका गरिएको छ । टीबी रोगको सफल उपचारका लागि समयमै यसको पहिचान हुनु महत्वपूर्ण हुन्छ । टिबी रोगीहरूलाई औषधिको पूरा कोर्स तथा सरकारको तर्फबाट पौष्टिक आहारका लागि भनेर मासिक पाँच सय भारु आर्थिक सहयोग प्राप्त हुन्छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०२५ सम्ममा टीवीलाई निमिट्यान्न पार्ने प्रण गरेको थियो । तर अहिले कोभिडको कहरका बीच टीबी समुदायमा फैलिन सक्ने आशंका व्यक्त गर्न थालिएको छ ।

म्याकगिल अन्तर्राष्ट्रिय टीबी सेन्टरका प्रमुख डा. मधु पाई अहिले टीभीको अध्ययनमा जुटेका छन् । उनको भनाइमा भारतले टीबी उन्मूलन गर्ने लक्ष्य अब कम्तीमा पनि पाँच वर्ष तन्काउनुपर्ने हुन सक्छ ।

उनी भन्छन्, ‘कोभिडका कारण मानिसहरू घरभित्रै बस्नुपर्‍यो । उनीहरूमध्ये लाखौं टीबीका रोगीहरू पनि थिए । यसैगरी हजारौंको संख्यामा आशंकित रोगीहरू थिए जसले समयमा अस्पताल जान पाएनन् । अहिले ४० प्रतिशतले रोगीको संख्यामा गिरावट आउनुको कारण यही हो ।’

लकडाउन अन्त्य भएसँगै आशंकित टीबी रोगीहरू अस्पताल पुग्न थालेका छन् । यसको अर्थ आगामी दिनमा आँकडा ह्वात्तै बढ्न सक्छ । डाक्टर मधु पाई भन्छन्, ‘लकडाउन अन्त्य भए पनि कोरोनाको महामारी घटेको छैन । जहाँ–जहाँ संक्रमण अत्यधिक हुन्छ, त्यहाँ फेरि लकडाउन गरिन्छ । यस्तो अनिश्चितताबीच अब टीबी रोगीहरूलाई सरकारले एकैपटक तीन–तीन महिनाको औषधि दिनु आवश्यक छ ।’

(बीबीसी हिन्दीबाट अनुवादित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment