Comments Add Comment

चितवनमा २३९ सक्रिय संक्रमित, १८ जना आईसीयूमा

८ भदौ, चितवन । चितवनमा २३९ जना सक्रिय संक्रमित हाल विभिन्न अस्पताल र होम आइसोलेसनमा छन् । १२६ जना निको भएर घर फर्किएका छन् । ६३ जनामा लक्षण देखिएको छ भने, १७६ मा लक्षण छैन । १८ जना आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा उपचारमध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा १०, पुष्पाञ्जली अस्पतालमा एक र पुरानो मेडिकल कलेजमा एक जना रहेका छन् ।

अहिलेसम्म होम आइसोलेसनमा ४९ जना सशस्त्र प्रहरीसहित ११५ जना छन् । बाँकी अस्पतालमा छन् । राप्ती नगरपालिकामा ७ जना, खैरहनीमा ४ जना, भरतपुरमा ५५ जना होम आइसोलेसनमा छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी भरतपुर अस्पतालमा ६८, चितवन मेडिकल कलेजमा १७, क्यान्सर अस्पतालमा २१, पुरानो मेडिकल कलेजमा ६, नारायणी सामुदायिकमा ५, पुष्पाञ्जली अस्पतालमा १, सेन्ट्रल अस्पतलामा ५, मौलाकालिका अस्पतालमा १ जना संक्रमित उपचाररत छन् ।

जिल्लामा अहिलेसम्म पूर्वी चितवनको रत्ननगरका एक जना पुरुष, खैरहनी नगरपालिकाका एक महिला र भरतपुर महानगरपालिकाका एक जना पुरुष कोरोनाका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिका १ बागेश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेसन सेन्टर बनाउने तयारी थालिएको छ । पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर नगरपालिका वडा नं. ५ को कृषि सहकारीको भवनमा आइसोलेसन सेन्टर तयार गरेका छन् ।

यस्तै माडी नगरपालिकाले वडा नम्बर ५ छरछरेमा आइसोलेसन सेन्टर बनाएको छ । जिल्लाको माडी नगरपालिकाबाहेक अन्य बाँकी ६ वटा स्थानीय तहमा कोरोना संक्रमित छन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिका र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा दुई जना संक्रमित छन् ।

जिल्लामा भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेजको ल्यावमा आरटी पीसीआर परीक्षण हुँदै आएको छ । जिल्लामा दैनिक औसत २५ जना नयाँ संक्रमित थपिने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर नै लागु हुने गरी भदौ ५ गतेदेखि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । यसअघि साउन ३२ गतेबाट माडी बाहेकका ६ स्थानीय तहमा एक साता निषेधाज्ञा लगाएको थियो । अहिले जिल्लाभर निषेधाज्ञा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment