Comments Add Comment

कोरोना महामारीमा स्थानीय तरकारीले बजार पायो 

८ भदौ, महेन्द्रनगर । लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सीमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता घटेको छ ।

गत चैत दोस्रो सातादेखि लकडाउन भएर नेपाल–भारत सीमानाका बन्द हुँदा बजारमा तरकारीको कुनै अभाव देखिएन् । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको बताए ।

‘लकडाउनमा सवारी नचल्दा चैत वैशाखमा यहाँका किसानले फलाएको तरकारी बजारसम्म बजार पुर्‍याउन गाह्रो भयो’, अध्यक्ष सोनारले भने, ‘लकडाउनले हामी तरकारीमा आत्मनिर्भर भइसकेको रहेछौं भन्ने थाहा भयो ।’

उनले किसानहरुले उत्पादन गरेको तरकारी काठमाडौं बुटवल लगायतका शहरहरुमा निर्यात गर्न नसक्दा किसानहरुले नोक्सानी व्यहोरोको बताए । ‘बगरको लौकी त बगरमा सड्यो पनि’, उनले भने ‘आलु र प्याज भारतबाट ल्याउने गरेको भएपनि अरु सबै प्रकारको तरकारी कञ्चनपुरमै प्रशस्त पाउन थालेको छ ।’

महेन्द्रनगरस्थित मण्डीमा वार्षिक ७/८ टन तरकारी खपत हुने गरेको सोनारको भनाइ छ । उनले स्थानीय प्रशासनले कञ्चनपुरमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिए पनि बिहान र साँझ तरकारी बिक्री वितरणमा सहज भएको बताए ।

‘तरकारी बिक्रेताले पनि सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रयोग गर्नुपर्छ’, उनले भने, ‘किसानको खेतमा फलेको तरकारी बजारससम्म सहज ढुवानी गर्न दिन पनि प्रशासनले सहयोग गर्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment