Comments Add Comment

रेसुङ्गा विमानस्थलको काम सुस्त, १४ वर्षमा ३० प्रतिशतमात्रै काम

९ भदौ, गुल्मी । निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि गुल्मीको रेसुङ्गा विमानस्थलको भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ ।

रेसुङ्गा नगरपालिका नम्बर–१० सिमीचौर थालेमालेमा ०६३ सालबाट बिमानस्थल सञ्चालनको आधिकारिक सुरुवात भएको थियो । तर १४ वर्षसम्म पनि निर्माणको कामले गति लिएको छैन ।

०७५ साल जेठ २७ गते कच्ची विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल नियमित सञ्चालनको लागि धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, टावर र तारजालीको काम पूरा गर्न बाँकी छ ।

ती काम पूरा गर्न करिब २१ करोडको लागतमा तीनवटा निर्माण कम्पनीले काम गरिरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का वडाअध्यक्ष पदम अर्यालले जानकारी दिए । विगतमा काम खासै नभए पनि निर्वाचित जनप्रतिनिधि आएपछि निर्माणले गति लिएको अर्याल बताउँछन् ।

धावनमार्ग कालोपत्रे गर्न १४ करोड, टर्मिनल भवन र टावर निर्माण गर्न ६ करोड तथा तारजाली लगायत फिनिसिङ्गको काम गर्न डेढ करोड बजेट छुट्याइएको छ । विमानस्थलको धावनमार्ग गएको असारसम्म पूरा गरिसक्नुपर्ने थियो । तर कोरोना संक्रमणका कारण कालोपत्रे गर्ने सामाग्री, जनशक्ति लगायतको अभावले लक्ष्यअनुसार काम पूरा हुन सकेन ।

विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम आउँदो बैशाखसम्म पूरा हुने र अन्य भवन निर्माण तथा तारजाली लगाउने काम मंसिरसम्म सकिने बताए ।

धावनमार्ग ५ सय ६० मिटर लम्बाइ र ५० मिटर चौडाइको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने ४६ जना घरधुरी तथा जग्गाधनीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । विमानस्थल ७८ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । कुल क्षेत्रफलमध्ये करिब ५६ रोपनी जग्गा सार्वजनिक हो ।

विमानस्थल ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । शिलान्यासकर्ता ज्ञवाली पुनः मन्त्री बनेकै बेला उनकै उपस्थितिमा परीक्षण उडान पनि भयो । अहिले पनि ज्ञवाली मन्त्री रहेकाले उनकै अग्रसरतामा विमानस्थलको काम पूरा होस् भन्ने अपेक्षा रेसुङ्गावासीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment