Comments Add Comment

६० सहसचिवको सरुवा, एकमात्र मुख्य मनोविज्ञानवेत्ता प्रदेश ५ मा

१० भदौ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो ।

यो सरुवाको सूचीमा नेपालको एकमात्र ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् ।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय पठाइएको छ ।

सन्चार मन्त्रालयकी सहसचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृहमन्त्रालयका महादेव पन्थलाई प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

डा. सुवेदीको पनि सरुवा

यसैगरी लोक सेवा आयोगका डा. खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । डा. सुवेदी लोक सेवा आयोगका ‘मुख्य मनोविज्ञानवेत्ता’ पदमा कार्यरत छन् । मुख्य मनोविज्ञानवेत्ता नेपालको एकमात्र पद हो । लोक सेवाको नीति निर्माण तथा पाठ्यक्रम बनाउने मुख्य जिम्मेवारी सुवेदीको हो ।

सुवेदीलाई प्रदेश ५ मा सरुवा गरेर लोक सेवामा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शंकर प्रसाद खरेललाई तानिएको छ ।

डा. सुवेदीले आफ्नो सरुवा भए पनि लोक सेवालाई असर नपर्ने बताए । उनले भने, ‘मैले काम गर्ने भनेको पोलिसी लेभलमा हो । त्यो काम बाहिरै रहेर पनि गर्न सकिन्छ । इम्प्लिमेन्टसनको काम अरु साथीहरुले गरिहाल्नु हुन्छ ।’

हाल नेपालको एकमात्र पद भएकाले लोक सेवामा अर्को मुख्य मनोविज्ञानवेत्ताको रुपमा कोही नआउने उनले बताए । डा. सुवेदीले भने, ‘मलाई लोक सेवाबाट सरुवा गरेर लोक सेवामा जसलाई ल्याइन्छ, त्यो मेरो रिप्लेसमेन्ट होइन । हालसम्म मुख्य मनोविज्ञानवेत्ता पदको अर्को विकल्प नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment