
काठमाडौं । इन्टरनेटको दुनिया अहिले यस्ता अनगिन्ती सामग्रीहरुको खुल्ला संग्रह बनेको छ, जहाँ दुनियालाई नै चकित पार्ने खालका कैयन् मानिसहरुका गतिविधि तथा प्रसंगहरु हेर्न तथा अध्ययन गर्न पाइन्छ । कतिपय मानिसहरुले आफ्नो ढल्किँदो उमेरमा पनि यस्तो कार्य गरिरहेका हुन्छन् कि त्यसबाट उमेर भन्नु त केवल संख्या मात्रै हो भन्ने पुष्टि हुन्छ ।
दृढ आत्मविश्वासी ती मानिसहरुले आफूले चाहेको कुरा प्राप्त गर्ने मार्गमा आफ्नो बढ्दो उमेरलाई तगारो बन्न दिँदैनन् । हालै एकजना यस्तै व्यक्तिको समाचार सोसल मिडियामा निकै चर्चित बनेको छ ।
छिमेकी मुलुक भारतको हरियाणास्थित पानीपतका बासिन्दा जसमेर सिंह सिद्दुले गत अगष्ट २५ का दिन आफ्नो ६२ औँ जन्मोत्सव मनाए । उनले आफ्नो ६२ औँ बर्थडेलाई निकै स्मरणीय बनाएका छन् । उनले आफ्नो जन्मदिनमा ६२ दशमलव ४ किलोमिटर दौडिएर आफ्नो बर्थडे मनाएका छन् ।
रोचक त के भने सिद्दुले यसअघि पनि आफ्नो बर्थडेमा आफू जति वर्षको भयो उति नै किलोमिटर दौडिने गरेका थिए ।
बर्थडेका दिन दौडिँदै गरेको भिडियो उनले आफ्नो ट्वीटरमा शेयर गरेका छन् । उक्त भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘मैले आज आफ्नो जिन्दगीको ६२ वर्ष पूरा गरेँ । र, यही मौकामा ६२.४ किलोमिटर दौड पूरा गरेँ । अहिले पनि म आफ्नो उमेरभन्दा अगाडि छु ।’
ट्वीटरमा उनले अपलोड गरेको भिडियो निकै भाइरल बन्यो जसले २ लाखभन्दा धेरै भ्यूज तथा हजारौँ लाइक्स प्राप्त गरिसकेको छ । उक्त भिडियोमा धेरै मानिसहरुले अनेक खालका प्रतिक्रिया दिएका छन् र अधिकांशले उनको प्रशंसा गरेका छन् ।
–एजेन्सी
प्रतिक्रिया 4