
११ भदौ, काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।
विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआएनए) का प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
कुन देशको समस्या कस्तो हो, कस्ता नेपालीहरुलाई उद्धार गर्नुपर्ने र सम्बन्धित देशमा कोरोना भाइरस (कोभिड–१९) को अवस्था के छ भन्ने समेत नहेरी सरकारले विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या भएको राजदूतहरको गुनासो थियो ।
सरकारले खोलेको नियमित उडान र स्वदेश फिर्ता गराउनुपर्ने नेपालीबीच तालमेल नमिलेको राजदूतहरुले बताएका थिए ।
समितिले वैदेशिक रोजगारीमा देखिएका समस्या दीर्घकालीन समस्या समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि समितिले निर्देशन दिएको छ ।
त्यस्तो संयन्त्रमा एनआरएनए, महिला मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम परराष्ट्र मन्त्रालय र राजदुतवासहरुको सहभागितालाई ध्यान दिन समिति सभापति निरुदेवी पालले आग्रह गरेकी छन् ।
महिला कामदारको संख्या यकीन गर्नु
महिला तथा सामाजिक समितिले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको संख्या यकीन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
‘महिला कामदारहरुको तथ्याङ्क यकीन नहुँदा पनि समस्या भएको छ । महिला कामदारको विवरण तत्काल अद्यावधिक गर्न र उद्धार गर्न तथा नेपाल आएपछि मनोसामाजिक परामर्शको व्यवस्था मिलाउन समिति निर्देश गर्दछ’ निर्णय सुनाउँदै सभापति पालले भनिन् ।
बैठकमा अवैधानिक रुपमा विदेश गएका नेपालहरु ठूलो समस्यामा रहेको विषय उठेको थियो । यसलाई सम्बोधन गर्दै समितिले सरकारलाई भनेको छ, ‘अवैधानिक रुपमा विदेश जाने कार्य शून्यमा झार्ने गरी काम गर्न सम्बन्धित नियकायहरुलाई समिति ध्यानाकर्षण र निर्देशन गर्दछ ।’
प्रतिक्रिया 4