+
+
Shares

कविता : एकदिन

काशीराम बजगाईं काशीराम बजगाईं
२०७७ भदौ १३ गते ७:५६

एकदिन टाढिँदै–टाढिँदै जानेछन् आफ्नाहरू

बिर्सिनेछन् साथीहरूले तिम्रो नाम

तोडिनेछन् वाचाहरू

छाडी जानेछन् कहिल्यै नछुट्टिने कसम खाएकाहरूले

च्यात्तिएर–फुटेर–हराएर जानेछन् कोशेलीहरू

 

भत्किनेछन् तिमीले हिँड्ने बाटाहरू

काइ जम्नेछ तिमीले देखेका सपनामा

कहीँ हुने छैन पुग्नुपर्ने ठाउँ

मरिजानेछ बाँच्नुपर्ने मोह

भेटिहाले पनि गन्तव्य : भेटिनेछैन त्यहाँ कुनै आकर्षण

 

सौन्दर्यविहीन,

भावविहीन,

अस्तित्वविहीन,

गतिविहीन,

जीवनविहीन,

युगांैसम्म मुर्झाउन पुग्ने अनुहार बोकेर

घृणा, अपमान र तिरस्कारको दुनियाँमा

बाँच्नुपर्नेछ पलपल, युग–युगको दुर्घटना बोकेर

 

जसको काँधमा बितेका थिए स्वप्नसौन्दर्यजस्ता दिनहरू

जोसँग काटिएका थिए लाखौं प्रेमील स्वर्गीय रातहरू

जसको आवाज सुनेर थाक्दैन थियो हृदय

अब कतै सुनिहाले पनि त्यो आवाज सुनिनेछ तिम्रा विरुद्धमा

शून्य सामिप्यतासित एक्लै काट्नुपर्नेछ

पृथ्वीभन्दा भारी सानो कोठामा

उदासी, सन्नाटा र छटपटीका रातहरू

 

ओठ लिएर जानेछन्– जसको खुसीमा मुस्कुराउँथ्यौ तिमी

आँखा झिकेर लानेछन्– जसका घाउमा आँसु खसाल्थ्यौ तिमी

त्यो दिन

हुने छैन तिम्रै भगवान् पनि तिम्रो साथमा

हुने छैन पाइतालामुनिको एक पाइला जमिन

हुने छैन शिरमाथिको एक मुठ्ठी आकाश

 

त्यो दिन

सम्झिनू बिर्सिसकेको त्यो मान्छेलाई

जो छातीको दायाँखल्तीमा राखेर तिम्रो तस्वीर

मुटुभरि बोकेर यादहरू

तिम्रैजस्तो रित्तो जिन्दगी लिएर

वर्षौंदेखि चुपचाप–चुपचाप हराएको छ तिम्रो सहरबाट !

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?