+
+
Shares

फेरि फर्किने कागज गराएर कैदीलाई घर पठाउन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १७:०५

१४ भदौ, काठमाडौं । सांसदहरुले पछि फर्किने सम्झौता गरेर जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका छन् ।

पछिल्लो समय कैदी र बन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले यस विषयमा भर्चुअल माध्यमबाट बैठक राखी छलफल गरेको थियो ।

उक्त बैठकमा सांसदहरुले जेलमा क्षमता भन्दा धेरै कैदी बन्दी रहेको भन्दै कैद छुट गर्न मिल्नेको छुट गर्न र अन्यलाई पछि फर्काउन मिल्ने गरी घर पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सुझाव दिएका हुन् ।

मापदण्ड बनाएर कोभिड प्यारोलको रुपमा घर जान दिनुपर्छ । म्याद पनि सकिन लागेको छ, अरु मापदण्ड पूरा गरेको छ भने जान दिऔं । यसरी कोभिड प्यारोल सुरु गरौं’ जनता समाजवादीका सांसद राजेन्द्र श्रेष्ठले भने, ‘प्रहरीले सुरक्षा दिन नपर्ने, स्थानीय तह वा प्रहरीको निगरानीमा रहने गरी बन्दीलाई घर पठाउन सकिन्छ ।’

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पछि फर्काउन सक्ने गरी, बोलाएको बेला आउने गरी करार गरेर कैदीबन्दीलाई घर पठाउने प्रस्ताव गरे । यसो गर्दा कारागारमै कोरोना फैलिएर स्थिति भयाभह हुनबाट जोगाउन सकिने उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले ५० प्रतिशत कैद भुक्तान गरिसकेका, गम्भीर प्रकृतिका मुद्धाका बाहेक अन्य मुद्धाका दोषीलाई कैद छुट दिन प्रस्ताव गरे ।

पूर्व मन्त्रीसमेत रहेका (नेकपा) का सांसद लालबाबु पण्डितले ५० प्रतिशत कैद भुक्तान गरिसकेकालाई बाँकी सजाय छुट दिने र अन्यलाई पछि फर्किने करार गरेर पठाउन सकिने बताए ।

नेकपाकी सांसद रेखा शर्माले कैद छुट दिन कानुन बाधक भए फुकाउनुपर्ने बताइन् । ‘अहिलेको विद्यमान व्यवस्था अनुसार पेरोलमा जाने र थप नीति र मापदण्ड बनाएर उनीहरुलाई छोड्न सकिन्छ’ उनले भनिन् ।

नेकपाकी सांसद यशोदा सुवेदीले मन्त्रिपरिषदबाट निर्णय गरेर कैद छुट गर्न आग्रह गरिन् । राज्यले चाह्यो भने मन्त्रिपरिषदबाट निर्णय गरेर पनि ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई रिहाइ गर्न सक्छ, गर्नुपर्छ’ उनले भनिन्, ‘विभिन्न सन्र्दभमा माफी मिनाहा गर्ने गरेका छौं । यो समयमा पनि रिहाइ गर्न सकिन्छ ।’

सांसदहरुले कोरोना संक्रमित कैदी बन्दीलाई छुट्टै राखेर उपचार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले कानुनले ५० प्रतिशत कैद भुक्तान गरेका कैदी बन्दीलाई छोडिहाल्न नसकिने बताए । तर, विभिन्न सन्दर्भ पारेर दिइने छुटका विषयमा अध्ययन गरिरहेको उनले उल्लेख गरे ।

‘हाल देशभर २४ हजार १६३ कैदीहरु छन् । कारगारको क्षमता १६ हजार जनाको हो’ उनले भने, ‘यो संख्या कसरी घटाउन सकिन्छ भनेर प्रयास गरिराखेका छौं । असोज ३ (संविधान दिवस) गते आउँदै छ त्यसको तयारी गर्दैछौं ।’

महानिर्देशक पोखरेलले कोरोना संक्रमित कैदी बन्दीलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको पनि बताए ।

ब्यारेक र जेलमा कोरोना बढेकोमा गृहमन्त्री चिन्तित

बैठकको सुरुमै धारणा राखेका गृहमन्त्री रामबहादुर थापा वादलले ब्यारेक र जेलमा कोरोना बढेको चिन्ता व्यक्त गरे ।

कैदीबन्दीहरु र सुरक्षाकर्मीहरुमा बढ्दै गएको संक्रमणले चिन्ता बढाएको भएपनि सरकारले नियन्त्रणका लागि काम गरिरहेको उनले बताए ।

कारागार व्यवस्थापन विभागका अनुसार केन्द्रीय कारागारमा ३१ सय कैदीबन्दी छन् । केही समयअघि एकैपटक करिब १५० जना कैदीबन्दीलाई ज्वरो आएको थियो । कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको र त्यसमध्ये १० जनामा कुनै लक्षण नदेखिएको जनाइएको छ ।

लक्षण देखिएका ३ जनालाई कोभिड अस्पताल पठाउने तयारी भएको र लक्षण नदेखिएका १० जनालाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?