Comments Add Comment

आईसीयूमा बेड छैन, फिभर क्लिनिकमै गयो संक्रमितको ज्यान

१४ भदौ, बुटवल । बुटवल–५, रुपन्देहीका ६७ वर्षीय पुरुषलाई शनिबार रातिदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भयो । आइतबार बिहान साढे ४ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल पुगे । जिन एक्सर्पट मेसिनमार्फत् स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो ।

मुटुको शल्यक्रिया गरेका, उच्च रक्तचाप र मधुमेहको बिरामी भएकाले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर बुटवलको कोभिड विशेष अस्पतालमा आईसीयू बेड खाली थिएन ।

चिकित्सकहरुले फिभर क्लिनिकमा राखेर उपचार थाले । तर, मध्यान्ह साढे १२ बजे उनको मृत्यु भयो ।

‘उहाँलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो’ अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘तर हामीसँग भएका सबै आईसीयू बेड बिरामीले भरिएका थिए । भरतपुर वा काठमाडौं लैजान रिफर त गरियो तर लैजान नपाउँदै केही घण्टामै बिरामीको ज्यान गयो ।’

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा १७ वटा आईसीयू बेड छ, तर सबै लक्षण भएका संक्रमितले भरिएका छन् । त्यहाँ थप संक्रमित राख्ने अवस्था छैन ।

स्वास प्रश्वासमा समस्या देखिएका बिरामीका आफन्तमा आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न सकेको भए बचाउन सकिन्थ्यो कि भन्ने आश हुने भए पनि बेड नहुँदा समस्या भएको डा. थापाले बताए । बेड अभाव भएपछि चिकित्कसले अन्यत्र रिफर गर्ने गरेका छन् । तर तत्काल एम्बुलेन्स उपलब्ध नहुने, अर्को अस्पताल पुर्‍याउन समय लाग्ने जस्ता समस्याले बिरामीको ज्यान जाने जोखिम पर्ने गरेको डा. थापा स्वीकार्छन् ।

यसअघि रुपन्देहीकै गैडहवाका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि युनिभर्सले मेडिकल कलेजले डिस्चार्ज गरेर भैरहवाको भीम अस्पतालमा रिफर गरेको थियो । तर आईसीयू बेड अभावमा रातभर जनरल वार्डमा बस्दाबस्दै उनको मृत्यु भएको थियो ।

भीम अस्पतालमा ५ वटा आइसीयू बेडका उपकरण जडान भएपनि जनशक्ति नहुँदासञ्चालनमा आउन सकेको छैन । संक्रमित थपिएसँगै आईसीयू बेड अभाव खड्किएकाले प्रदेश सरकारले तत्काल आईसीयू र भेन्टिलेटरसहितका बेड थप गर्नुपर्ने कोरोना सरोकार नागरिक अभियानका संयोजक पूर्वसभासद विनोद पहाडी बताउँछन् ।

सामाजिक विकास मन्त्रालयले प्रदेशमा आईसीयू र भेन्टिलेटर थप गर्न सवा अर्बको वजेट माग गर्दै मन्त्रिपरिषदमा पेश गरेपनि स्वीकृत भएको छैन । चार दिन अघि बसेको मन्त्रिपरिषद वैठकले अन्य निर्णयहरु गरेपनि मन्त्रालयको यो प्रस्वावबारे निर्णय गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment