Comments Add Comment

चिनियाँ विदेशमन्त्रीको युरोप भ्रमणको अर्थ

१४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी कोरोना भाइरस (कोभिड–१९) वैश्विक महामारी बनेपछि पहिलो भ्रमणको क्रममा बुधबार नेदरल्याण्ड्स पुगे । त्यहाँका प्रधानमन्त्री मार्क गटसँग भेटघाट गरे ।

भेटको क्रममा विश्वव्यापी अर्थतन्त्रमा सुधारको कदम चाल्नुका साथै एकतर्फीरुपमा लिइएको निर्णयको विषयमा चर्चा भएको थियो । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ विदेशमन्त्रीले भेटको क्रममा नेदरल्याण्ड्ससँगको स्वतन्त्र व्यापार र सबै मिलेर निर्णय गर्न सक्ने वातावरणको विकास हुने आशा राखेका छन् ।

नेदरल्याण्ड्सभन्दा पहिला वाङ यी इटाली गएका थिए । चिनियाँ विदेश मन्त्रालयका अनुसार एक साताको अवधिमा उनले पश्चिमी युरोपका तीन मुलुक नर्वे, फ्रान्स र जर्मनी जानेछन् ।

अगष्ट २५ देखि शुरु भएको यो भ्रमण १ सेप्टेम्बरसम्म जारी रहनेछन् । अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुका अनुसार अमेरिकाले एसियाली मुलुकलाई पाखा लगाउने नीति अख्तियार गरिरहेको अवस्थामा युरोपेली मुलुकसँग स्थायी सम्बन्ध विकास गर्ने दाउमा चीन लागेको छ ।

साथै पछिल्लो समय रोकिएका केही परियोजनाहरु पुनः शुरु गर्नका लागि पनि चीनले आफ्नो प्रयास शुरु गरेको हो । अहिले अमेरिका र चीनबीच व्यापारिक हितको रक्षा, चीनको बढ्दो विश्वव्यापी आर्थिक प्रभाव र दक्षिण चीन सागरको विषयमा विवाद देखिँदै आएको छ ।

अमेरिकी निर्वाचनमा चीनको मुद्दा

चीन कोरोना भाइरसको महामारीको शुरुवात, यसको विस्तार र आगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकाको राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा अल्झिएको छ ।

अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले चीनविरुद्ध धेरै किसिमको व्यापारिक निर्णय गरिरहेका मात्र छैनन् चिनियाँ कम्पनीहरुमाथि पनि प्रतिबन्ध लगाइरहेका छन् । तर विपक्षी डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडन भने चीनप्रति केही लचिलो मानिन्छन् ।

चीन र अमेरिकाले सोमबार पुनः एक व्यापार सम्झौता गरेका छन् । तर, पनि ट्रम्पले चुनावी र्‍यालीमा चीनसँग वार्ता नगर्ने दाबी गरिरहेका छन् । केहीले ट्रम्प यो मुद्दालाई उठाएर कोरोना भाइरसविरुद्धको लडाइँमा भोगेको असफलताला र आफ्नो कार्यकालमा अमेरिकी अर्थतन्त्रमा देखिएको नकारात्मक असरलगायतका विषय ढाक्ने प्रयासमा रहेको बताइरहेका छन् । यद्यपि अमेरिकामा चीनविरोधी भावना छिट्टै नसकिने जानकारहरुको भनाइ छ ।

साथै चिनियाँ कम्पनीहरुले पनि ट्रम्प वा बाइडन जो आए पनि आफूहरुमाथिको दबाब कम नहुने बताएका छन् ।

कूटनीतिक मामिलाका जानकारहरुले चिनियाँ विदेशमन्त्रीको युरोप भ्रमणलाई विशेष महत्व दिएका छन् । कोरोना भाइरसको महामारीपछिको पहिलो भ्रमण युरोपमा गरेको विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले युरोपसँगको सम्बन्ध चीनको प्राथमिकतामा रहेको बताएका छन् ।

उनले दुवै पक्ष मिलेर रणनीतिक तथा आर्थिक मुद्दालाई अघि बढाउने, कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग थप बढाउने र विश्वको औद्योगिक क्षेत्रको लागि सामग्री आवतजावत सहज पार्ने, डिजिटल र हरित अर्थतन्त्र लगायतका विषयमा पनि छलफल गर्ने बताए । साथै उनले मिलेर विश्वमा शान्ति, स्थायित्व र विकासको शुरुवात हुने कामलाई बढावा दिने लिजियानले बताए ।

अमेरिकाको विकल्प

अहिले अमेरिकासँग सम्बन्ध बिग्रिएको अवस्थामा चीनलाई विकल्प खोज्नु जरुरी देखिएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । वाङ यीसँगको भेटपछि इटालीका विदेशमन्त्री लुइजी डे मेयोले रोममा सञ्चारकर्मीसँग कुरा गर्दै ‘भेट निकै लाभदायक’ भएको बताएका थिए । साथै आर्थिक तथा औद्योगिक दृष्टिकोणले दुई मुलुकको कूटनीतिक साझेदारी पुनः स्थापित गर्ने विषयमा पनि छलफल भएको थियो ।

विश्वका सात विकसित मुलुकमा इटाली चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा हस्ताक्षर गर्ने पहिलो मुलुक हो । चीन आफ्नो बीआरआई परियोजनाको माध्यमबाट एसिया, युरोप र अफ्रिकालाई जोड्न चाहन्छ ।

इटाली यो परियोजनामा सामेल भएसँगै जर्मनीले पनि यसमा चासो व्यक्त गरेको थियो । गत वर्षको सेप्टेम्बरमा जर्मनी र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता पनि भएको थियो । यो परियोजनामा नेपाल, पाकिस्तान र बंगलादेश पनि सहभागी भइसकेका छन् तर भारत सामेल भएको छैन ।

यद्यपि चीनलाई युरोपेली मुलुकसँगको सम्बन्ध विस्तार गर्न त्यति सजिलो भने छैन । धेरै युरोपेली मुलुकले कोरोना भाइरसको उत्पत्तिको विषयमा चीनमाथि विभिन्न आरोप लगाउँदै आएका छन् ।

केही युरोपेली मुलुकले फाइभजी इन्टरनेटमा चिनियाँ कम्पनीमाथि रोक लगाउने निर्णय पनि गरिसकेका छन् । साथै युरोपेली मलुकले चीनमा वीगर मुसलमानमाथि हुने गरेको मानव अधिकार हनन तथा हङकङको मुद्दा पनि उठाउने गरेका छन् । नेदरल्याण्ड्स र इटालीका विदेशमन्त्रीले पनि यो मुद्दा उठाएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment