
१४ भदौ, गोरखा । गोरखामा आइतवार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखा नगरपालिका वडा नम्वर १३ का दश जना र वडा नम्वर ८ र १० का एक/एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । संक्रमित हुनेहरुमा ५ बर्षीय बालिका देखि ७५ बर्षीय महिलासम्म छन् ।
बिरामी भएर उपचारका लागि चितवनको भरतपुर अस्पताल गएका वडा नम्बर १३ का दुई जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १० जनामा संक्रमण देखिएको अर्यालले बताए ।
भरतपुर अस्पतालमा उपचाररत कोरोना पुष्टि भएका सोही वडाका ३८ बर्षीय पुरुषको भदौ १२ गते मुत्यु भइसकेको छ । संक्रमण पुष्टि भएका वडा नम्वर ८ का ३४ बर्षीय पुरुष भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । वडा नम्वर १० का संक्रमित भने मेडिकल सञ्चालक हुन् ।
नगरपालिकाका पाँच वटा वडा सिल
संक्रमितको संख्या बढेसँगै गोरखा नगरपालिकाका पाँच वटा वडा सिल गरिने भएको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले वडा नम्वर १० देखि १४ सम्मको क्षेत्र सोमबारदेखि सिल गर्ने जानकारी गराएको छ ।
अर्काे सूचना जारी नभएसम्मका लागि गोरखा नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा समेत बन्द गरिने नगर प्रमुख राजनराज पन्तले बताए । सिल गरिएका क्षेत्रमा अत्यावश्यकवाहेक अन्य सबै सेवा व्यापार व्यवसाय लगायतका सम्पूर्ण कार्यहरु नगर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया 4