Comments Add Comment

पर्यटन दशक मनाउने पर्यटनमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता

१७ भदौ, काठमाडौं । भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको अर्को प्रस्ताव थियो, ‘पर्यटन दशक २०२१-२०३०’ मनाउने ।

पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको यो कार्यक्रम ती दुबै दस्तावेजमा परेको थिएनन् । अन्ततः योसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाटै फिर्ता भएको पाइएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार २ असार २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले प्रस्ताव गरेको ‘पर्यटन दशक २०२१-२०३०’लाई फिर्ता गर्ने निर्णय गरेको हो । मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थान एवम् दीगो पर्यटन कार्यक्रमका लागि पर्यटन दशकको प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो ।

‘कोरोना महामारीका बेला यस्तो अभियान घोषणा गर्दा नकारात्मक सन्देश जान सक्ने भन्दै अहिलेका लागि प्रस्ताव आएको हुन सक्छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।
सरकारले वाषिर्क २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । यसको भब्य उद्घाटन भए पनि २० लाख पर्यटक भित्रने आधार भने तयार भएको थिएन ।

१६ पुसबाट शुरु भएको यो अभियान तीन महिना पनि नपुग्दै विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाले प्रभावित हुन पुग्यो । सरकारले १ वैशाख २०७७ बाट भ्रमण वर्षको सचिवालय खारेज गर्दै यो कार्यक्रम अन्त्य भएको घोषणा गर्‍यो ।

अर्कोतर्फ सरकारले सन् २०१८ बाटै भ्रमण वर्षको तयारी गरेपनि मूख्य पूर्वाधार तयार पार्न सकेको थिएन । सन् २०१९ मै सम्पन्न हुनुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले पनि सम्पन्न भएको छैन । सोहीकारण सन् २०२० कै अभियान सुरु गर्दा पनि सरकारको आलोचना भएको थियो ।

यद्यपी निजी क्षेत्रले समेत उत्तिकै साथ दिएका कारण सो अभियानले पर्यटकीय माहौल भने ल्याउने अपेक्षा गरिएको थियो । पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष असफल भएपनि अब पर्यटन दशकका रुपमा जाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

१० वर्षमा पर्यटन पूर्वाधारका बाँकि काम सम्पन्न गर्दै मुलुकको अर्थतन्त्रमा योगदान गर्ने एक प्रमुख माध्यम पर्यटनलाई बनाउने उनको प्रस्ताव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment