Comments Add Comment

चितवनमा कोरोना संक्रमणको नालीबेली

भरतपुर अस्पताल, चितवन

१७, भदौ, चितवन । पछिल्लो समय चितवनमा कोरोना संक्रमण ज्यामितीय रुपमा बढेको छ । गत साउन २४ गतेसम्म जिल्लामा कोरोना संक्रमित संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ थियो । तर, यसको झण्डै २२ दिनपछि चितवनमा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ ।

कोरोनाबाट स्वास्थ्यकर्मी, बालबालिका, बिरामी, वृद्धवृद्धासमेत संक्रमित हुन थालेका छन् । संक्रमणबाट जिल्लाका अस्पतालहरूमा बिरामीहरूको संख्या बढिरहेको छ । विगतभन्दा पछिल्ला दिनमा गम्भीर प्रकृतिका बिरामी थपिँदा अस्पतालको आईसीयू तथा भेन्टिलेटर भरिने अवस्थामा पुगेको छ ।

साउन २४ पछि मात्रै यस जिल्लामा १५ जना कोराना संक्रमितको मृत्यु भएको छ । अझै पनि गम्भीर प्रकृतिका बिरामीहरु आइसियू र भेन्टिलेरमा उपचारत छन् । संक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै छ ।

संक्रमण समुदायमा पुगेकोले नमूना परीक्षणको चापसमेत प्रयोगशालामा थपिन थालेको छ । भरतपुर अस्पताल मातहतमा भरतपुर कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेज कलेजको प्रयोगशालामा नमूना परीक्षण हुँदै आएको छ । भरतपुर कोभिड प्रयोगशालामा म्यानुअल विधिबाट नमूना परीक्षण हुन्छ ।

दैनिक औसत ३५० सम्म नमूनाहरु यहाँ परीक्षण हुँदै आएको छ । चितवन मेडिकल कलेजमा अटोमेटिक विधिबाट नमूनाको परीक्षण हुन्छ । दैनिक औसत दुई सयको हाराहारीमा परीक्षण हुँदै आएको छ । संक्रमित थपिँदा कन्ट्याक ट्रेसिङ्ग बढ्ने र एकजना संक्रमित बराबर झण्डै चालिस जनासम्मको नमूना संकलन गरी परीक्षण गर्नुपर्ने हुँदा निश्चित क्षमता र जनशक्तिको प्रयोगशालामा निकै चाप परेको छ । अधिक चाप भएपछि काठमाडौं टेकु र काभ्रेमा समेत लगेर चितवनको नमूना परीक्षण गरिएको थियो ।

जिल्लामा संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले गएको साउन ३२ गते मध्यरातबाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा दुईपटक एक एकसाताका लागि थप गरे पनि संक्रमणमा भने कमी आएको छैन । अहिले देखिएको संक्रमण साउन ७ गतेपछि लकडाउन खुल्दाको परीणाम भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् । उनले यतिबेला समुदायमा कोरोना फैंलिएकोले संक्रमणको स्रोत पत्ता लगाउन नै मुस्किल परेको बताए ।

प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा भदौ १९ गते रातिबाट सकिँदैछ । जिल्लामा निषेधाज्ञा जारी गरेर पनि संक्रमणको संख्यामा तुलानात्मक रूपमा कमी नआएको तथा अन्य आर्थिक क्षेत्र तहस-नहस भएको भन्दैं जिल्लाका उद्योगी व्यससायी तथा विभिन्न पेशागत संघसंस्थामा आवद्ध व्यक्तिहरूले निषेधाज्ञा भदौ १५ गतेबाट नै हटाउन माग गर्दै आइतवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो पनि पढ्नुहोस मल किन्न महाभारत, कोरोनालाई गिज्याउने भीड

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निषेधाज्ञा प्रशासनको रहर नभएको बताए । जनताले जनस्वास्थ्यका मापदण्ड पूरा गरेर सावधानी र सचेतना अपनाए निषेधाज्ञा लगाउनुपर्ने अवस्था नै नआउने उनको भनाइ छ । उद्योग चलाउने मजदुर क्वारेन्टाइनमा राख्न प्रशासनले गरेको आग्रहलाई पूरा गर्न नसक्ने भन्दैं व्यवसायीहरुले निषेधाज्ञा खोल्न दबाव दिइरहेका छन् ।

प्रजिअ भट्टराईले अहिलेको परिस्थितिको वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्ने बताए । व्यवसायीप्रति असन्तुष्टि जनाउँदै प्रजिअ भट्टराईले भने, ‘अरुका विषयमा सल्लाह सुझाव र विज्ञता देखाउन खोज्ने तर, आफूले गर्नुपर्ने व्यवहार, जिम्मेवारी, कर्तब्यमा चुक्ने वा बिचलित हुने कुरा त्यति राम्रो हैन ।’ उनले जिल्लाका अधिकांश उद्योगहरु निषेधाज्ञामा पनि चलेको दाबी गरे ।

बढी संक्रमित भरतपुर महानगरपालिकामा

चितवनमा अहिलेसम्म ८०९ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् । करीब १७० जना निको भएर डिस्चार्ज भएका छन् भने, जिल्लाका ९ जनाको मृत्यु भएको छ । बुधबार मात्रै जिल्लाका १३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा सबैभन्दा बढी संक्रमणको केन्द्र भरतपुर महानगरपालिका बनेको छ । अहिलेसम्म महानगरपालिका ५०५ जना संक्रमित बनेका छन् । ठूलो क्षेत्र, अस्पताल, उद्योग तथा व्यवसाय बढि भएकोले महानगरपालिका कोरोना संक्रमणको केन्द्र बनेको छ । गत शनिबार भदौ १३ गते सबैभन्दा बढी १०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

भरतपुरपछि सबैभन्दा बढी संक्रमित भएको स्थानीय तहमा रत्ननगर नगरपालिका परेको छ । यहाँ १०४ जना संक्रमित पुगेका छन् । राप्ती नगरपालिकाका ८८, खैरहनीमा ४७, कालिका नगरपालिका ११ र इच्छाकामना गाउँपालिकामा ४ जना संक्रमित छन् । राप्तीमा संक्रमितमध्ये अधिकांश सशस्त्र प्रहरी छन् । जिल्लाभर १३० भन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित बनेका छन् ।

४१ बिरामी आईसीयूमा, भेन्टिलेरमा ५ जना

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा मुख्य रुपमा कोरोना संक्रमितहरु राखेर उपचार भैरहेको छ । भरतपुर अस्पतालमा भन्दा बढी कोरोना संक्रमितहरु चितवन मेडिकल कलेजमा उपचार गराइरहेका छन् ।

कलेजका निर्देशक डा. दयाराम लम्सालले दिएको जानकारीअनुसार अस्पतालमा १०४ जना कोरोना संक्रमित छन् । तीमध्ये ३२ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा छन् । दुईजना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

चितवन मेडिकल कलेजले ५९ बेड आईसीयू, ६२ बेड आइसोलसेन वार्ड र २९ वेड संक्रमण आशंका रहेका बिरामी राख्नका लागि छुट्टाएको कलेजका निर्देशक डा. लम्सालले जानकारी दिए । भरतपुर अस्पतालमा ७३ जना कोरोना संक्रमित रहेका छन् । तीमध्ये ९ जना आईसीयूमा छन् । १ जना भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि क्यान्सर अस्पतालले तीन थान भेन्टिलेटर भरतपुर अस्पताललाई सहयोग गरेको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा ३० जना कोरोना संक्रमितको उपचार भैरहेको जनसम्पर्क प्रमुख दुर्गा न्यौपानले जानकारी दिए । उनका अनुसार कुनै पनि संक्रमित बिरामी आईसीयू र भेन्टिलेटरमा छैनन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४२ जना संक्रमित भएकामा ८ जनाले उपचार गराइरहेका छन्, ७ जना निको भएका छन् भने अरु होम आइसोलेसनमा रहेका छन्  ।

भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा ४ पुरुष र १ महिला गरी ५ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । पुष्पाञ्जली अस्पतालमा एक जना, मौलालकालिका अस्पतालमा ३ जना संक्रमित उपचाररत छन् ।

चितवनमा १७ को मृत्यु, जिल्लाका मात्रै ६ जना

चितवनमा पछिल्लो समयमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । हरेक दिनजसो एकजना संक्रमितको मृत्यु भएको पाइएको छ । भदौ १२ र  १४ गते एकैदिन तीन/तीनजना कोरोना संक्रमितको मृत्यु भयो ।

कोरोनाबाट मृत्यु हुनेमा चितवनका ९ जना छन्, बाँकी बाहिरी जिल्लाका छन् । मकवानपुरका चार, बारा, कैलाली र गोरखाका एक/एकजना संक्रमितको मृत्यु भएको छ । १० जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ ।

गत जेठ २७ गते भरतपुर महानगरपालिका ११ का ६८ बर्षका वृद्धको मृत्यु नै चितवनमा कोरोनाबाट भएको पहिलो मृत्यु हो । उनको मृत्युको कारण कोरोना भए पनि संक्रमणको स्रोत भने पत्ता लागेन । कोरोना संक्रमितहरूको एकाएक स्वास्थ्य अवस्था बिगि्रएको र संक्रमितको फोक्सामा दु्रत गतिमा देखिएको क्षतिको अवस्था देख्दा चिकित्सकहरू गम्भीर बनेका छन् ।

७ स्थानीय तहका तीन आइसोलेसन केन्द्र

जिल्लामा कोराना संक्रमितको संख्या बढ्दै जान थालेपछि जिल्लाका सात स्थानीय तहले तीनबाट आइसोलेसन केन्द्र तयार गरेका छन् । लक्षण नभएका कोरोना संक्रमितलाई राख्नका लागि आइसोलेसन केन्द्र तयार गरिएको हो । कोरोना लक्षण नभएका बिरामी अस्पतालमा राखेर उपचार गर्दा अस्पतालका बेड नै भरिन थालेपछि स्थानीय तहहरुले आइसोलेसन केन्द्र तयार गरेका हुन् ।

क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापनमा जिल्लाको माडी नगरपालिका सबैभन्दा अगाडि र व्यवस्थित देखिएको छ । नगरपालिकाले माडी नगरपालिका-५ छरछरेमा सुविधायुक्त आइसोलेसन केन्द्र तयार गरेर तीनजना संक्रमित राखेको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीका अनुसार यो केन्द्रमा २० जनासम्म संक्रमित राख्न सकिन्छ । आवश्यक परेमा अहिले चलिरहेको ३० बेडको क्वारेन्टाइनलाई आइसोलेसन बनाउन सोच नगरपालिकाको रहेको सुवेदीले बताए ।

पूर्वी चितवनका चारवटा नगरपालिकाले मिलेर संयुक्तरुपमा आइसोलेसन केन्द्र तयार गरेका छन् । संयुक्त रुपमा मिलेर आर्थिक लगायतका व्यवस्थापन गर्ने गरी रत्ननगर नगरपालिका वडा नं. ५ को टरौलीस्थित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन तयार गरिएको छ ।

रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका क्षेत्र भित्रका लक्षण नदेखिएका संक्रमितहरुलाई यहीँ नै राखेर उपचार तथा व्यवस्थापन गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

तालिम केन्द्रमा ६२ शय्याको आइसोलेसन सुरू गरिएको बताउदै प्रमुख बनले आवश्यक भएमा सोही ठाउँमा १०० जनासम्म राख्न सकिने भौतिक संरचना रहेको बताए । अहिले यहाँ २५ जना संक्रमित राखिएको छ । दुई स्वास्थ्यकर्मी, केही प्रहरी भान्से र जनप्रतिनिधीहरुले आइसोलेसन केन्द्रको रेखदेख गरिरहेको नगर प्रमुख नारायण बनले बताए । सबैभन्दा बढि संक्रमित देखिएको भरतपुर महानगरमा हिजो आइतवारबाट मात्रैं बल्ल आइसोलेसन केन्द्र तयार गरिएको छ । भरतपुरमा महानगरका कोरोना संक्रमित राख्न भरतपुर १ बागेश्वरी आश्रममा आइसोलेनस केन्द्र तयार गरिएको हो ।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ वेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

पुरानो मेडिकल कलेज भरतपुरले झण्डैं दुई दशक अघि बनाएको होस्टलका क्वाटरलाई मर्मत सम्भार गरी आइसोलेन केन्द्र तयार गरिएको हो । ५ वटा ब्लकमा तयार आइसेलेसन केन्द्रको प्रत्येकमा १५ जना अटाउँछन् । पछि आवश्यकता अनुुसार थप्दै लैजाने योजना बनाइएको छ ।

लक्षण नभएका कोरोना संक्रमितलाई यहाँ ल्याएर राख्ने योजना महानगरको छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् । अहिले यहाँ ७ जना संक्रमित राखिएको छ । यसको व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाले प्रदेश सरकारसँग एक करोड माग गरेको छ । यसअघि पनि बागमती प्रदेश सरकारले भरतपुर कोरोना अस्पताल चलाउन भन्दैं एक करोड रकम सहयोग गरेको थियो । गएको असार २ गतेबाट सो अस्पताल बन्द छ । यता, चितवनको एक मात्रैं गाउँपालिका इच्छाकामनाले अहिलेसम्म आइसोलेन केन्द्र बनाएको छ ।

गाउँपालिकामा तीनजना संक्रमित सबैजना भरतपुरमा नै छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले अहिलेसम्म गाउँपालिकाले आइसोलेसन केन्द्र नबनाएको बताए । ‘हामीले सोच त बनाएका छौं, तयार गर्न सकेका छैनौं’ लम्सालले भने, ‘अब चाँडै नै तयार गछौं ।’ उनले गाउँपालिका वडा नं. ४ कुरिनटार नजिक रहेको ट्रमा सेन्टरमा आइसोलेसन केन्द्र बनाउन सोच गाउँपालिकाको रहे पनि सहमति भैनसकेको बताए ।

क्रिटिकल केयरका लागि चितवनको क्षमता कति ?

अहिले यहाँका अस्पतालहरुमा गम्भीर प्रकृतिका बिरामीहरु बढ्न थालेका छन् । थप गम्भिर प्रकृतिका बिरामी थपिएको अवस्थामा बिरामीको उपचार कसरी गर्ने भन्ने समस्या हुनेसक्ने देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीका अनुसार चितवनका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल र निजी अस्पतालमा गरेर जम्मा १७६ वटा आईसीयू छन् । तिनमा ५० वटा मात्रैं भेन्टिेलेटर छन् ।

आइसोलेसन बेड संख्या पुग नपुग तीन सय छ । अन्य केही एनआइसस्यू र पीआईसीयूहरू छन् । जिल्लामा ५० बेेड माथिका वटा १९ वटा अस्पताल छन् । जिल्लामा एनएस्थेसियोलोजिष्ट २४, फिजिसियन ३९ र नर्सिङ ५३३ जना छन् । तर, समग्र जिल्लामा चिकित्सक ५ सय, नर्सिङ १५ सय, पारामेडिक्स करीव ४ सय, ल्याबमा काम गर्ने जनशक्ति ३ सय ५० को हाराहारीमा छ । कार्यालयका प्रमुख दिपकबाबु तिवारी क्रिटिकल केयरका लागि अहिले भएको ‘ब्याकअप’ कम भएको बताउँछन् ।

तिवारीले करीव २ सय आईसियू र ८० भेन्टिलेटर यहाँको न्यूनतम आवश्यकता भएको बताए । ‘हामी आइसोलेसन बेडलाई त बढाउन सकौंला, तर आइसीयू र भेन्टिलेटर त तत्कालै बढाउन सक्ने अवस्थामा छैनौं’ तिवारीले भने ।

कोरोना संक्रमण भएका बिरामीहरूको करीव ५ प्रतिशतलाई क्रिटिकल केयरमा राख्नुपर्दछ । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जिल्लामा तीन हजार मानिसमा संक्रमण देखिएमा अहिलेको उपकरणले नधान्ने बताए ।

डा. लम्सालले अहिले जिल्लामा भएको सबै आइसियू र भेन्टिलेटरलाई कोरोनाका बिरामीका लागी मात्रैं उपचार गराउन पनि नसकिने बताए । डा. लम्सालले भने, ‘अस्पतालले कोरोनाको बिरामीभन्दा बढी प्राथमिकता त मुटु, ब्रेन स्ट्रोक र अन्य आकस्मिक अप्रेशन गरेका बिरामीलाई पक्कै दिनुपर्छ नि ।’

उनका अनुसार, मुटु, बेन स्ट्रोक, आकस्मिक अप्रेशन गरिएका बिरामीलाई तत्काल आइसीयू र भेन्टिलेटर चाँहिने हुँदा अहिले भएको उपकरणलाई कोरोनाको मात्रैं उपचारका लागि दिन सक्ने अवस्था रहँदैन । यसो हुँदा अझैं ‘क्रिटिकल केयरको म्यानेजमेन्ट’ अति कम र जोखिमपूर्ण हुने देखिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी तीन अंकबाट संक्रमण बढेर चार अंकमा पुग्ने वित्तिकै एक सातामा सो संख्या दोब्बर हुन सक्ने बताउँछन् । नाकमुनि मास्क लगाएर हिँड्ने अहिलेको चलन, आर्थिक क्षेत्र चलायमान गराउने नाममा निषेधाज्ञा खोल्न दिइएको दबाव र सामाजिक दूरीविना गरिने व्यवहार कोरोना संक्रमणको प्राकृतिक चरण पूरा गर्ने दिन ‘क्याटलिष्ट’ भएको उनले बताए ।

तिवारीले कोरोना समुदायमा फैलिसकेकोले अबको पहिचान र उपचार निकै कठिन कठिन बन्दै जाने बताए । अहिले आइसीयू र भेन्टिलेटरका साथसाथैं आम नागरिक, समुदायका लागि सचेतना फैलाउनु र निषेधाज्ञालाई केही समय निरन्तरता दिनु राम्रो हुने तिवारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment