Comments Add Comment

स्वास्थ्य प्रोटोकल पालना गरी हिमाल आरोहणमा जान पाइने

१७ भदौ, काठमाडौं । सरकारले १५ साउनबाट पर्यटन क्षेत्र खुला गरेको थियो । यसको मतलव पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनी तथा उद्योगले क्रमशः सेवा सुरु गर्न सक्ने प्रावधान थियो । ह्वात्तै बढेको कोरोना भाइरसको संक्रमणपछि पुनः कार्यालयहरु भने बन्द भएका छन् । तर, सरकारी कार्यालय खुलै छन् ।

सरकारले शरद ऋतुमा हिमालय आरोहण खुला गरेको छ । सोहीअनुसार कम्तिमा १८ जना विदेशी पर्वतारोही नेपाल आउने निश्चित भइसकेको छ ।

पर्यटन विभागका अनुसार अब स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गरी हिमाल आरोहणमा जान भने पाइन्छ । ‘नेपाली वा विदेशी, सबै नागरिकले हिमाल चढ्न अनुमति पाउनुहुन्छ,’ विभागकी निर्देशक मिरा आचार्यले भनिन् ।

आचार्यका अनुसार विभागमा अहिले स्वदेशी कम्पनी तथा विदेशी नागरिकबाट पनि उत्तिकै जिज्ञासा आउने गरेको छ । धेरैको चासो सहज यात्रा गर्न पाउने वा नपाउने भन्ने मै छ ।

सरकारले भर्खरै अन्तर्राष्ट्रिय नियमित उडान खोलेको छ । त्यो पनि नेपाली नागरिक र सीमित विदेशी नागरिकका लागि मात्र हो । तत्काल पर्यटक नेपाल आउन पाउने गरी नेपाल खुला भइसकेको छैन ।

‘पर्यटकलाई नेपालसम्म ल्याउने वातावरण हाम्रो हातमा छैन,’ आचार्य भन्छिन्, ‘तर, नेपाल आएका विदेशी र नेपाली नागरिकले हिमाल चढ्न चाहनु भयो भने हामी अनुमति दिन्छौं ।’

नेपालमा वसन्त ऋतुपछि शरद ऋतुमा पर्वतारोहणका लागि धेरै पर्यटक आउने गर्छन् । यो सिजन सगरमाथाबाहेकका हिमालमा बढी भीड हुन्छ । शरद ऋतुमा हिमाल चढ्दा बसन्त ऋतुको तुलनामा आधा मात्र रोयल्टी लाग्ने गर्छ ।

सगरमाथा आरोहण गर्न एक विदेशीले वसन्त ऋतुमा ११ हजार डलर रोयल्टी तिर्नुपर्छ, शरदमा ५५ सय डलर तिर्दा मात्र पुग्छ ।

१८ जनालाई सरकारको अनुमति

मन्त्रिपरिषद्ले बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणकै प्रयोजनका लागि नेपाल आउने अनुमति दिइसकेको छ । यद्यपी यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन ।

लकडाउनपछि नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिने क्रममा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी १८ जनालाई नेपाल आउन दिने निर्णय गरेको हो ।

यो टोलीमा बहराइनका राजकुमारसहित १५ जना र ३ जना बेलायती नागरिक रहनेछन् । उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनीहरु चार्टर्ड विमानबाट नेपाल आउने छन् । यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने भएको छ ।

गन्तब्यसम्म पुग्न सहजीकरण

हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही र उनीहरुको सहयोगीका लागि भने  गन्तव्यसम्म पुग्न विभागले सहजिकरण गर्ने भएको छ । ‘सडकमा हुने अवरोधले  गन्तब्यसम्म जान नपाएमा भने पर्वतारोहीलाई गन्तब्यमा पुर्‍याउन हामी सहजिकरण गछौं,’ आचार्यले भनिन् ।

उनका अनुसार पर्वतारोही सबैले स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले बनाएका स्वास्थ्यसँग सम्बन्धित मापदण्ड पुरा गर्नुपर्नेछ । यात्रामा हुने अवरोध र महामारीको डर कायमै रहने भएकाले यो वर्ष व्यवसायिक पर्वतारोहणमा आउने मानिसको सख्ंया कम हुनेछ ।

सोहीकारण पर्यटन र पर्वतारोहण जिवित रहेको सन्देश दिने खालका प्रवर्द्धनात्मक अभियानमा बढी टोली आउने अपेक्षा विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment