Comments Add Comment

भरतपुर प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोवाइलमा दिने

१७ भदौ, चितवन । चितवनको भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको रिपोर्ट मोवाइलमै पठाउने भएको छ ।

कोभिड प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले त्यसका लागि प्रयोशालामा सफट्वेयर जडान गरिसकिएको बताइन् ।

‘सम्भवतः भोलिदेखि कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकाहरुलाई मोवाइलमै म्यासेज पठाउने कामको सुरुवात हुन्छ’ डा. अधिकारीले भनिन्, ‘त्यसका लागि नेपाल टेलिकमसँग पनि आवश्यक समन्वय गर्नुपर्ने काम मात्रै बाँकी छ ।’

अहिलेसम्म रिपोर्ट पोजेटिभ आएका संक्रमितहरुलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकाहरुलाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो ।

कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए । पोजेटिभको रिपोर्ट सम्बन्धित व्यक्तिको मोवाइलमा पठाउने वा नपठाउने भन्ने बारेमा अस्पताल प्रशासनले निर्णय लिने प्रयोगशाला प्रमुख डा. अधिकारीले बताइन् ।

नेगेटिभ रिपोर्ट आएकाहरुको भने मोवाइलमा जानकारी पुग्छ । नेगेटिभ वा पोजेटिभ रिपोर्ट आएकाहरुको मोवाइलमा एसएमएस जाने आइडी र पासपोर्ट, अस्पतालको वेभसाइटमा रहेको कोभिड रिपोर्टसम्बन्धी लिंकमा हालेर रिपोर्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रयोशशाला प्रमुख डा. नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो सही विवरण, नाम, ठेगना, उमेर र मोवाइल नम्बर दिन अनुरोध गरिन् । ‘कसैले झुटो विवरण टिपाए रिपोर्ट पनि त्यस्तैं आउँछ, सफ्टवेयरमा इन्ट्री भएपछि केही गर्न सकिदैन’ डा. अधिकारीले भनिन् ।

अहिलेसम्म म्यानुअल तरिकाबाट चलेको प्रयोगशालालाई स्वचालित प्रणालीबाट चलाउने मेसिनको माग भइरहेको छ । चैत्र २१ गते स्थापना भएको प्रयोशागालमा हालसम्म २० हजार ३ सय १० बटा नमूना परीक्षण गरिएको छ । चितवनसहित विभिन्न १५ जिल्लाका नमूना परीक्षणका लागि भरतपुर आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment