Comments Add Comment

रसायनको बढ्दो प्रयोग : दिगो कृषिका लागि चुनौती

Photo Credit : wk1003mike/Shutterstock.com

कृषिमा व्यावसायीकरण र कृषिक्रान्तिको विकल्प छैन भनिरहँदा, कृषि उत्पादनको मात्रात्मक बढोत्तरी मात्रै नभई उत्पादनको गुणस्तरीयतामा पनि जोड दिनु आवश्यक छ । भारतीय उत्पादनमा आश्रति नेपाली कृषि बजारमा प्रभावकारी रूपमा गुणस्तर चेकजाँच नगरी कृषि उपज आयात गरिनु, खाद्य स्वच्छतामा जनचेतनाको कमी हुनु र रासायनिक विषादीको प्रयोग बढदै जानुले नेपाली कृषि बजारमा आउने कृषि उपजमा रसायनको मात्रा हदभन्दा बढी भइरहेको तथ्यमा देखिन्छ ।

बजार मागअनुरुपको आपूर्ति गर्नु बजार प्रणालीको नियम नै हो । विषादी प्रयोग नगरिएका तरकारी र खाद्यवस्तुमा किरा लाग्ने र राम्रो नहुँने हुँदा उपभोक्ताले किन्न रूचाउँदैनन् । त्यसकारण त्यस्ता उपभोग्य वस्तु बजारले उत्पादन र बिक्री गर्न चाहँदैन । उपभोक्ताको रोजाइले पनि विषादी प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । वास्तवमा किसानहरू रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन नै नहुने ठान्दछन् । उत्पादन बढाउने नाममा जथाभावी विषादीको प्रयोग हुनु अहिलेको कृषि क्षेत्रमा प्रमुख चुनौती रहेको छ ।

बाली संरक्षण गर्न भन्दै अत्यधिक मात्रामा विषादीको प्रयोगले मानव स्वास्थलगायत अन्य भू तथा जलीय प्राणीहरूमा नकारात्मक असर परेको छ । माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको छ ।

वातावरणमा लामो समयसम्म विषादीको अवशेष रहने हुँदा वातावरण प्रदूषण बढेको छ भने विषादीको प्रयोगले शत्रुजीवसँगै लाभदायी मित्रजीवहरू पनि मर्ने हँुदा अलौकिक वातावरणीय सन्तुलन बिगि्ररहेको छ । सोही कारण वातावरणअनुकूल बाली संरक्षण प्रविधि र प्राङ्गारिक कृषि आजको आवश्यकता बनिरहेको छ । नेपालमा रासायनिक विषादीको प्रयोगको अवस्था, यसका असर र दिगो हरितक्रान्तिमा विषादीको विकल्प र प्राङ्गारिक कृषिको आवश्यकताबारे यहाँ चर्चा गर्न खोजिएको छ ।

नेपालमा विषादीको प्रयोगको अवस्था :

अन्य मुलुकको तुलनामा अहिले नेपालमा रासायनिक विषादीको प्रयोग कम भएपनि यसको प्रयोगको मात्रा हरेक वर्ष बढिरहेको छ । ‘प्लान्ट क्वारेन्टिन’ र विषादी व्यवस्थापन केन्द्र (हरिहरभवन ललितपुर) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ६ सय ८५ टन विषादी आयात भएको छ, जुन करिब ८३ करोड बराबरको हुन आउँछ ।

आयात गरिएको कुल विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुन्छ । त्यसकारण पनि हामीले जति तरकारी किनेर खाइरहेका छौं, त्यसमा अधिकांश तरकारी अप्राङ्गारिक छन् भन्न सकिन्छ । अरू कृषि उपजहरूमा पनि बीउमा, बोटमा र भण्डारणको क्रममा अत्यधिक विषादीको प्रयोग बढ्दो छ ।

एफएओ को २०११ को तथ्यांकअनुसार नेपालले ०।३९६ प्रति हेक्टर विषादी प्रयोग गर्छ जब कि भारतमा ०.३८, कोरियामा १६.५५, जापानमा १०.८ प्रतिहेक्टर विषादी प्रयोग भएको पाइन्छ । अन्य देशको तुलनामा कम मात्रामा विषादी प्रयोग भए पनि किसानमा विषादीको प्रयोगबिना उत्पादन नै नहुने गलत मनोविज्ञानको कारणले अनावश्यक रूपमा गलत विषादी, गलत मात्रामा, गलत तरिकाले प्रयोग गर्नाले झन् बढी नकारात्मक असर पर्ने देखिन्छ ।

विषादीको प्रयोग गरिसकेपछि कम्तिमा दुई हप्ता बालीनाली टिप्न मिल्दैन । पर्खनुपर्ने उक्त समय नपर्खनाले पनि किसान र उपभोक्ताको स्वास्थ्यमा झनै असर परेको छ ।
रासायनिक विषादीको असर :

प्रयोग गर्न सस्तो, छिटो र सजिलो भएको हुनाले बाली संरक्षणमा किसानले रासायनिक विधि नै छनोट गरेको पाइन्छ । तर, रासायनिक विषादीको जथाभावी प्रयोगले पर्ने असरबाट भने धेरै किसानहरू अनभिज्ञ छन् । रोगनाशक, ढुसीनाशक, कीरानाशक, मुसानाशक, सुलसुलेनाशक जस्ता विभिन्न विषादीहरू बाली संरक्षणको लागि प्रयोग गरिन्छ । यस्ता विषादीको मुख्य दुईवटा विशेषता हुन्छन् ।

पहिलो- खतरनाक विषादी हाम्रो शरीरमा प्रवेश गरेपछि अरू तरलजस्तो नाश भएर जाँदैन ।

दोस्रो- विषादी जुन तरिकाले जहाँ प्रयोग गरे पनि यसको अवशेष लामो समयसम्म रहिरहने हुँदा, यसले वातावरण प्रदूषित गर्नुका साथै वातावरणमा भएका अन्य जैविक तत्त्वहरूलाई नकारात्मक असर गर्छ ।

आवश्यक सुरक्षा नअपनाई जथाभावी विषादी प्रयोग गर्नाले र विषादीयुक्त उपज उपभोग गर्नाले मानिसमा प्रजनन क्षमतामा ह्रास आउने, विभिन्न प्रकारको क्यान्सर र मस्तिष्कसम्बन्धी रोग देखा पर्नसक्ने सम्भावना रहन्छ । साथै छालाको एलर्जी हुने, आँखा पोल्ने, रिंगटा लाग्ने ,टाउको, पेट, शरीर दुख्नेजस्ता समस्या देखा पर्छन् ।

विषादीले शत्रुजीवको मात्र विनाश गर्दैन यसले त्यहाँ रहेका उपयोगी मित्रजीवहरू जस्तै शिकारी कीरा, परागशेचन गराउने कीराहरू, जैविक वस्तुलाई सडाउने सूक्ष्म जीवहरू, गँडेउला, भ्यागुता, माछाहरूको पनि विनाश गर्छ । जसको कारणले पर्यावरणीय सन्तुलन बिग्रिरहेको छ ।

माटोमा भएका प्राङ्गारिक पदार्थ कुहाउने जीवहरूको विनाश हुनाले माटोको उर्वराशक्तिमा ह्रास आएको छ । जसकारण बालीमा रासायनिक मलको मात्रा पहिलेभन्दा दोब्बर-तेब्बर प्रयोग गर्नुपर्ने बाध्यताबाट किसानहरू पीडित छन् । एकपटकको विषादीको प्रयोगले सबै हानिकारक कीराहरू मर्दैनन् र यसले हानीकारक कीरा खाएर बाँच्ने शिकारी कीराको पनि विनाश गर्छ । जसको कारणले फेरि बालीमा बाँकी रहेका हानिकारक कीराहरूले संख्यामा वृद्धि गरेर झन् प्रकोप देखाउँछन् । फेरि यसलाई नियन्त्रण गर्न झन् खतरनाक विषादीको प्रयोग गर्नुपर्ने अवस्थाले उत्पादन लागत बढ्नुका साथै विषादीबाट हुने नकारात्मक असर झन् बढ्न जान्छ । निश्चित समूहका विषादीको असर निश्चित रोग तथा कीरामा मात्र रहन्छ त्यसकारण बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्न निरन्तर बालीमा एक वा एकभन्दा बढी समूहका विषादीको प्रयोगले शत्रुजीवमा प्रतिरोधात्मक क्षमताको विकास, एउटा कीरामा एकभन्दा बढी विषादी पचाउन सक्ने क्षमताको विकासले गर्दा झनझन् बढी मात्रामा विषादी प्रयोग गर्नुपरेको छ ।

रासायनिक विषादीको प्रयोगले समस्या समाधान गर्नुको साटो विभिन्न तरिकाले झन् धेरै समस्या निम्त्याउने र माटोको उर्वराशक्ति ह्रास भई उत्पादकत्वमा ह्रास आउँदै जाने हुन्छ । दिगो रूपमा कृषि उत्पादन लिन नसकिने हुँदा वातावरणमैत्री बाली संरक्षण प्रविधिको विकास र प्रभावकारी कार्यान्वयन गरी प्राङ्गारिक कृषिलाई परिष्कृत गर्नुपर्छ ।

विषादीको विकल्प

बाली संरक्षणमा रासायनिक विधिको उत्तम विकल्पको रूपमा जैविक विधि र आइपिएम विधि मानिएको छ । आइपिएम विधिमा दिगो कृषि, वातावरण र मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने तरिकाले उपयुक्त सबै प्रकारका बाली संरक्षण विधिको समष्टिगतरूपमा प्रयोग गरी शत्रुजीवको नियन्त्रण गरिन्छ । पछिल्लो समय यो बाली संरक्षण विधि पनि निकै प्रभावकारी सावित भएको छ ।

त्यस्तै कुनै पनि हानिकारक कीरालाई नियन्त्रण गर्न वा मार्नका लागि वातावरणमा पाइने उपयोगी सुक्ष्म जीवीय ब्याक्टेरिया, भाइरस तथा निमाटोडजन्य जीवद्वारा तयार गरिएको रसायन वा पदार्थलाई जैविक विषादी भनिन्छ । जैविक विषादीको प्रयोग गरी हानिकारक कीरा नियन्त्रण गर्ने विधि जैविक विधि हो । हानिकारक किरा मार्न उपयोगी जीवमा भएका तत्त्वलाई पदार्थमा उत्पादन गरी विषादीको रूपमा प्रयोग गरिन्छ ।

आजभोलि फाइदाजनक सुक्ष्म जीवका साथै वनस्पतिमा आधारित पदार्थलाई समेत जैविक विषादीको रूपमा लिइन्छ । सुक्ष्म जीवमा आधारित जैविक विषादीमा मुख्यतः ब्याक्टेरियाजन्य पदार्थ (बिटी), ढुसीजन्य पदार्थ (हरियो र सेतो ढुसी), भाइरसजन्य पदार्थ (न्युक्लियर पोलिहेडेरोसिस भाइरस, साइटोप्लाज्मिक भाइरस) र निमाटोडजन्य पदार्थमा (स्टाइनरनेमाटिड्स हेटेरोरहेवडाइटिस) मुख्य रूपमा आउँछन् । वनस्पतिमा आधारित जैविक पदार्थमा मुख्यतः स्निमको झोल (मार्गोसेभ, डेरिसोभ, बायोमल्टिनम) आदि पर्छन् ।

जैविक विषादीको प्रयोगको तरिका र नाम फरक भएपनि सबैको कीरा मार्ने तरिका समान हुन्छ । जैविक विषादीले रासायनिक विषादी यस्तो मानिस र वातावरणमा कुनैपनि प्रकारको नकारात्मक असर गर्दैन, एकपटक प्रयोग गरेपछि पछिसम्म काम गर्ने भएको हुनाले रासायनिक विषादीजस्तो पटकपटक प्रयोग गरिरहनु पर्दैन र यसको असर कीराअनुसार हुने भएकोले फाइदाजनक जीवलाई कुनै असर गर्दैन । केही जैविक विषादी र वनस्पतिमा आधारित पदार्थले किराका फूल, लार्भा र प्युपामा समेत असर गर्छ जुन रासायनिक विषादीबाट सम्भव छैन ।

यस्ता फाइदा हुँदाहुँदै जैविक विषादीको केही बेफाइदाहरू पनि छन् । यसको प्रयोग सुरुमा झन्झटिलो र महङ्गो हुन सक्छ र रासायनिक विषादीले जस्तो छिटो कीरा मार्दैन । साथै सुख्खा र उच्च तापक्रममा यसको असर नष्ट हुन्छ र प्रयोग गर्न मिहीन ज्ञान र सिपको आवश्यकता पर्छ । त्यसकारण किसानहरू जैविक विषादीको प्रयोगमा त्यति आकषिर्त भएको पाइँदैन । तर जैविक मल र विषादीको प्रयोगबाट दिगो उत्पादन लिन सकिन्छ ।

जैविक विषादीको प्रयोग गरी उत्पादन गरिएको कृषि उपज प्राङ्गारिक भएको हुनाले र प्राङगारिक कृषि उत्पादनबाट नै दिगो कृषि क्रान्तिको लक्ष्य हासिल गर्न सकिने भएकोले नेपालमा जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गर्न जरुरी छ । यसको लागि सरकारले प्रत्येक प्रदेशमा जैविक मल र विषादी उत्पादन केन्द्र स्थापना गरी यसको उत्पादन र प्रयोगलाई विभिन्न नीति तथा कार्यक्रममार्फत प्रभावकारी रूपमा अगाडि बढाउनु पर्छ ।

विषादीयुक्त कृषि उपज उपभोगले समग्र विश्व नै छट्पटाइरहेको अवस्थामा प्राङ्गारिक कृषि उत्पादन एउटा चुनौतीसँगै राम्रो अवसरको रूपमा खडा भएको यथार्थलाई सबैले मनन गर्नु आवश्यक भइसकेको छ।

(लेखक कृषि तथा वन विज्ञान विश्वविध्यालय, चितवनमा अध्ययनरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment