Comments Add Comment
कोरोनाबाट पोखरामा एक व्यवसायीको मृत्यु :

शंका लागेर आफैं स्वाब दिए, आईसीयूमा सारेकै दिन मृत्यु

१८ भदौ, पोखरा । कोरोना संक्रमणको शंका लागेर आफैं स्वाब दिन पुगेका पोखराका एक पुरुषको संक्रमण देखिएको ३ दिनपछि मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ का ३७ वर्षीय मृतक पुरुष सम्पर्कमा रहेका एक जनामा संक्रमण देखिएपछि शंका लागेर स्वाब दिन प्रदेश प्रयोगशाला पुगेका थिए ।

भदौ १५ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । सुरुमा कोरोनाको कुनै लक्षण नदेखिएका ती पुरुषलाई प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथको आइसोलेसनमा १५ गते नै पुर्‍याइएको थियो ।

सुरुमा लक्षण नदेखिएका र कुनै दीर्घ रोगसमेत नभएका ती पुरुषलाई बुधबार राति एक्कासी ज्वरो आएको थियो । ‘ज्वरो आउने र पखला लाग्ने भएपछि अक्सिजन लगाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार भएन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीले  भने, ‘स्वास्थ्य गम्भीर देखिएपछि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा रिफर गरेका हौं ।’

उनको आईसीयूमा उपचारकै क्रममा बिहीबार बेलुका मृत्यु भएको हो । उनी पोखराको एक फ्रेस हाउस सञ्चालक हुन् ।

कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । ‘लेखनाथबाट आज बिहानमात्र रिफर गरिएको थियो,’ प्रतिष्ठानका निर्देशक आचार्यले भने, ‘आईसीयूमा भर्ना गरेर उपचारका क्रममा साँझ ५ः५० मा मृत्यु भएको हो ।’

कोभिड अस्पतालका फोकल पर्सन डा. वुद्धिसागर लामिछानेका अनुसार उनको मृत्युको मुख्य कारण नै कोभिड–१९ हो । ‘उहाँमा अन्य दीर्घरोग थिएन । कडा खालको कोभिड संक्रमणले निमोनिया थियो । कडा खालको कोभिडमा हुने नै निमोनिया हो,’ डा. लामिछानेले भने, ‘कोभिड अस्पताल ल्याउँदा उहाँमा धेरै नै अक्सिजनको कमी भइसकेको थियो । अवस्था क्रिटिकल थियो ।’

योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबारमात्रै नवलपुरको गैंडाकोट नगरपालिका २ का ३७ वर्षका पुरुषको कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

कास्कीमा अहिलेसम्म कोरोनाले ५ जनाको ज्यान लिएको छ । तनहुँमा ३, नवलपुर र स्याङ्जामा २/२ जना, लमजुङ र बागलुङमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशमामा कोरोना संक्रमण हुनेको संख्या २ हजार ३ सय १२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment