
१९ भदौ, बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार थप दुईजनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।
मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ : ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिउको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष राजनजंग राणाले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उनी मिर्गौलाका बिरामी पनि थिए र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उनको घरमै मृत्यु भएको हो ।
योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नै बुटवलको कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको थियो ।
भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा शुक्रबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए ।
प्रतिक्रिया 4