Comments Add Comment

पूर्वमा विराटनगरपछि इटहरी र धरानमा संक्रमण तीव्र

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन कक्ष ।

१८ भदौ, विराटनगर । प्रदेश १ मा विराटनगर महानगरपालिका पछि इटहरी र धरान उपमहानगरपालिकामा कोरोना संक्रमणदर उच्च छ ।

यो प्रदेशमा बढी जनघनत्व भएको सहर विराटनगर, इटहरी र धरान हुन् । पछिल्लो समय तीनवटै सहर कोरोनाको चपेटामा छन् । विराटनगरपछि बढी प्रभावित धरानमा १९७ र इटहरीमा २१५ जना कोरोना संक्रमित छन् ।

१११० संक्रमित रहेको विराटनगरमा मृतकको संख्या ११ छ । धरानमा ६ जनाको मृत्यु भइसकेको छ । विराटनगरको तुलनामा धरानमा मृत्युदर बढी छ । धरानमा मृत्यु भएका ६ जना नै ६० वर्ष माथिका छन् ।

मंगलबार मोरङमा १५ र सुनसरीमा ५६ संक्रमित भेटिएकामा बुधबार मोरङमा ४७ र सुनसरीमा ७१ जना संक्रमित भेटिएका थिए । हिजो बिहीबार भने मोरङमा ४४ र सुनसरीमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार मोरङमा ७६ र सुनसरीमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म मोरङमा एकहजार ७४६ र सुनसरीमा ८६७ जना कोरोना संक्रमित छन् । मोरङमा ७१८ र सुनसरीमा २८१ जना संक्रमण मुक्त भएका छन् । मोरङमा सबभन्दा बढी संक्रमित विराटनगर महानगरपालिकामा छन् ।

सुनसरीका अधिकांश स्थानीय तहका समुदायस्तरमा कोराना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयकी फोकल पर्सन सृजना लिङथेम बताउछिन् । उनका अनुसार धरान, इटहरी, इनरुवा र दुहबीमा संक्रमणदर उच्च छ ।

जनघनत्वको आधारमा दुहबीमा संक्रमण उच्च रहेको उनले बताइन् । दुहबीमा १३४ कोरोना संक्रमित छन् । ‘सुनसरीमा देखिएका संक्रमितको ट्राभल हिस्ट्री छैन्, कारखाना मजदूरदेखि सुरक्षा निकायसम्मका कर्मचारी संक्रमित छन्’, उनी भन्छिन्, ‘समुदायस्तरमा संक्रमण फैलिएको छ ।’

धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहता धरानका मृतकहरुमा समुदायबाटै संक्रमण सरेको पाइएको बताउँछन् । उनका अनुसार, धरानमा ३० जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बस्नुपर्ने अवस्थाले जोखिम झन् बढेको उनले बताए ।

यता विराटनगरमा संक्रमण पुष्टि भए घरमै बस्नुपर्ने र समाजबाट तिरस्कृत हुने डरले परीक्षण गर्न आउनेहरुको संख्या घट्दै गएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन् ।

मोरङ र सुनसरीमा उस्तै पारा

विराटनगरका संक्रमितमध्ये आधाभन्दा बढी होम आइसोलेसनमै बसे । आइसोलेसनको अभावमा संक्रमितहरु घरमै बस्न वाध्य भएपछि महानगरपालिकाको नेतृत्व प्रदेश सरकार र संघीय सरकारको आलोचना गर्दै बस्यो ।

मेयर भीम पराजुली महानगरपालिकाले जोखिमयुक्त स्थानका मानिसहरुको स्वाब संकलन र परीक्षण गरिरहेको बताउछन् । इटहरीका मेयर द्वारिकलाल चौधरी भने उपमहानगरपालिका आफै आइसोलेसन बनाउन जुटेको बताउँछन् । ‘सय बेडको आइसोलेसन एकसाता भित्र तयार हुन्छ’, उनले भने, ‘घरमा बस्न मिल्नेलाई हाम्रो स्वास्थ्य टोलीले बातावरण मिलाउँछ ।’

इटहरीमा ६१ जना संक्रमित निको भएका छन्, तर होम आइसोलेसनमा बसेकाको यकीन तथ्याङक छैन । यसले संक्रमण फैलने जोखिम उच्च रहेको देखाउँछ ।

धेरै संक्रमित रहेको धरानमा पनि होम आइसोलेसनमा बस्नेको तथ्यांक छैन । धरानमा ३५ जना जति संक्रमित होम आइसोलेसनमा बसेको मेयर तिलक राईको अनुमान छ । संक्रमण नियन्त्रणका लागि बाहिरबाट हुने उपमहानगर प्रवेशमा कडाई गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment