Comments Add Comment

‘सागमा जितेको पदको साख जोगाउनु छ’

बास्केटबल कप्तान सदिनाको आगत र विगत

१९ भदौ, काठमाडौं । २०७६, मंसिर २३ गते । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलभित्र माहोल गरम थियो । दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला बास्केटबलको फाइनलमा पुग्न नेपाल र माल्दिभ्स भिडिरहेका थिए ।

यो खेल नेपालका लागि अति महत्वपूर्ण यसकारण थियो कि जितेको खण्डमा नेपालले फाइनलमा स्थान सुरक्षित गर्दै कम्तिमा रजत पदक पक्का गर्न सक्थ्यो । यसअघि नेपालले सागको महिला बास्केटबलमा सहभागी नै भएको थिएन ।

खेलको चौंथो अर्थात् अन्तिम क्वार्टरमा नेपालकी कप्ताान सदिना श्रेष्ठ भने दुवै हातले आँखा छोपेर बेन्चमा बसेकी थिइन् । उनी खेल्न नसक्ने भएकी होइनन् । डबल फलका कारण उनी बेन्चमा बस्न बाध्य भएकी उनी आँखा छोपेर भगवानको प्रार्थना गरिरहेकी थिइन् । उनले मनले भन्दै थियो जसरी भएपनि यो खेल जित्नुपर्छ ।

घरेलु कोर्ट र दर्शकको समर्थन पनि नेपाली खेलाडीको साथमा थियो । र, खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाल माल्दिभ्सलाई ६८-५५ ले हराउँदै ऐतिहासिक सफलताका साथ फाइनल पुग्यो । पहिलो सहभागीतामा नै नेपाली टोलीले फाइनलको यात्रा गर्यो । फाइनलमा भिड्नु थियो भारतसँग, जो दक्षिण एसियामै बलियो राष्ट्र हो । तर, नेपालले इतिहास रचिसकेको थियो ।

त्यो क्षण सम्झँदा सदिना अहिले पनि निकै रोमाञ्चित हुन्छिन् ।

‘हाम्रो लागि एकदमै ठूलो सफलता थियो त्यो । हामीले रजत पक्का गरिसकेका थियौँ । मलाई त त्यही खेल नै फाइनल जस्तो महसुस भएको थियो,’ सदिनाले ९ महिनाअघिको त्यो क्षण सम्झिइन् ।

१३ औं सागमा महिला टिमले मात्र होइन पुरुष टिमले पनि पदक जितेको थियो । नेपालका ४ वटै बास्केटबल टिमले पदक जितेर इतिहास रचे ।

सेमिफाइनलको रोमाञ्च

नेपालका लागि माल्दिभ्सविरुद्धको सेमिफाइनल म्याच फाइनलभन्दा कम रोमाञ्चकारी थिएन । घरेलु टोली भएकाले खेलाडीहरु दवावमा पनि थिए ।

सदिनाले भनिन्, ‘आफ्नै घरेलु कोर्टमा खेल्दा अलि नर्भस जस्तो हुनेर रहेछ । तर मैले बाहिर देखाइन । केटीहरुलाई मोटिभेट गरेँ ।’

खेल नसकिएसम्म सदिनामा उग्र छट्पटी थियो ।

‘अन्तिम क्वाटरमा म डबल फल्टका कारण बाहिर थिएँ । त्यो बेला के होला कसो होला भइरहेको थियो । म हात जोडेर भगवानलाई प्रार्थना गरिरहेको थिएँ । डराएको जस्तो भाथेँ ।’ उनले सम्झिइन् ।

माल्दिभ्सलाई हराएर फाइनलमा पुगेको क्षण उनी कहिल्यै बिर्सिन सक्दिनन् ।

‘त्यो खेल जित्दा त यति खुशी भयौँ कि हामीले उपलब्धी हात पार्‍यौँ जस्तै लाग्यो । त्यो क्षणको म बयान नै गर्न सक्दिन । मेरो जीवनकै सबैभन्दा गर्व गर्नलायक क्षण हो । हामी त नाच्दै, हाँस्दै, रुदै होटल गएका थियौँ ।’

त्यो क्षण सुनाउदा पनि सदिनामा छुट्टै उत्साह थियो । नहोस पनि किन । उनको कप्तानीमा नेपालले डेब्यू सहभागीतामै रजत जितेको थियो ।

फाइनलमा नेपाल भारतसंग पराजित भयो । त्यो नतिजा अनपेक्षित थिएन । फाइनलमा हारका बाबजुद नेपालले गर्व गर्नलायक प्रदर्शन देखाइसकेको थियो ।

नेपालको तुलनामा भारत धेरै राम्रो टोली हो । नेपालले माल्दिभ्सलाई हराएर फाइनलमा स्थान बनाएपछि भारतलाई कडा टक्कर दिने सोचेको थियो । भारतलाई हराउन भने सजिलो थिएन ।

‘हार्छु भनेर त कसलै खेल्दैन,’ सदिनाले भनिन्, ‘तर भारतलाई जित्ने भन्दा पनि कडा प्रतिस्पर्धा गर्ने सोचेका थियौं ।’

भारत र नेपालको स्तर धेरै फरक भएको बताउँछिन् सदिना । फाइनलमा भारतसँग गरेको प्रदर्शनमा उनलाई कुनै दुखमनाउ छैन ।

‘हामीले सतप्रतिशत दिएको हो । हाम्रो प्रदर्शन धेरै खराब पनि थिएन,’ उनले भनिन् ।

मिहेनतको फल

नेपालले ऐतिहासिक उपलब्धी त्यति सजिलै हात पारेको थिएन । खेलाडी तथा प्रशिक्षकहरु लगातार मिहिनेत गरेको फल प्राप्त भएको थियो ।

सन् २०१५ मा भारतमा भएको १२औं सागमा पदक जित्ने लक्ष्यसहित नेपाली बास्केटबल टोलीले काठमाडौं र बैंककमा प्रशिक्षण गरेको थियो । नेपालमा ३-४ महिना र बैंककमा डेढ महिना नेपाली खेलाडीले ट्रेनिङ गरे । नेपाली टिम उत्साहका साथ गुवाहटी पुग्यो ।

तर, अन्तिम क्षणमा सागबाट महिला बास्केटबललाई झिकियो । भारतमा बास्केटबलको दुई संघ भएकोले विवाद हुँदा खेल भएन । त्यो बेला नेपालले भुटान, पाकिस्तान र अफगानिस्तानसँग तीन मैत्रीपूर्ण खेल खेलेर फर्कियो ।

त्यसबेला पनि मुखैमा आएको मेडल खोएकिो बताउँछिन् सदिना । तर आफ्नै भूमिमा पहिलो पदक जित्न पाउँदा पनि उनी खुशी छिन् ।

सदिनाको टिमले १३ औं सागका लागि पनि कडा मिहिनेत गरेको थियो । कतिपय कुरामा संघर्ष नै गर्नुपर्‍यो । यतिसम्म कि खेल सुरु हुनुअघिसम्म नेपाली टिमका लागि आफ्नै घरेलु कोर्ट पनि विदेशी टोलीका लागि जस्तै बिरानो थियो ।

नेपालले सागका लागि धरानमा प्रशिक्षण गरेको थियो । धरानमा ३ महिनाको प्रशिक्षणपछि काठमाडौं आएर त्रिभुवन आर्मीको जगदलमा रहेको हलमा प्रशिक्षण गर्यो । तर धरानमा भन्दा काठमाडौंको प्रशिक्षण गर्दा सास्ती बेहोर्नुपरेको सदिना बताउँछिन् ।
‘धरानमा गर्मीका बावजुत पनि सबै सुविधा थियो । काठमाडौंमा आर्मीको जगदलमा प्रशिक्षण गर्दा यातायातको समस्या आयो । टिमका लागि बसको सुविधा नभएकाले आफैँले सवारीसाधन व्यवस्था गरेर जान्थ्यौं । साथै, जगदलमा एउटा मात्रै ट्वाइलेट हुँदा हामी महिला खेलाडीहरुको लागि समस्या भयो । कतिलाई इन्फेक्सन पनि भयो ।’

बास्केटबल टोलीले घरेलु कोर्टमा भने एक दिन पनि प्रशिक्षण गर्न पाएन । त्यसैले उनीहरुका लागि त्यो कोर्ट विदेशी टोलीलाई जस्तै नयाँ थियो । होम ग्राउन्ड भन्नुमात्रै भयो ।

बास्केटबल अघि कभर्डहलमा भलिबल खेल भएको थियो । भलिबल टोलीले भने सागअघि थोरै भएपनि प्रशिक्षण गर्न पाएको थियो ।

फुटबलबाट बास्केटबलतिर

सदिनाले सुरुमा फुटबल पनि खेलिन् । तर एउटा त्यस्तो क्षण आयो जसले उनलाई फुटबलबाट छुटाएर बास्केटबलमा जोड्यो । अहिले त्यही बास्केटबल नै उनको सबथोक भएको छ ।

फुटबलबाट कसरी बास्केटबलमा मोडिइन् त उनी । सदिनाको पारिवारिक माहोल नै फुटबलमय थियो । उनकी माइली दिदी सरिला श्रेष्ठ राष्ट्रिय टिमको पूर्वकप्तान थिइन् । दिदीको प्रेरणामा उनले पनि फुटबल खेलिन् । ती दिनमा फुटबलमै लागिपर्ने उनको सोच थियो । यू-१० देखि यू-१६ सम्म फुटबल खेलिन् उनले ।

तर नर्वेमा खेल्न जाने यू१६ को अन्तिम छनोटमा पर्न सकिनन् । त्यसले उनलाई एकदमै निराश बनायो । निकै दुखी भइन् ।
त्यसपछि जसै उनको स्कुल परिवर्तन भयो, त्यसपछि खेल पनि परिवर्तन भयो । रिब्स स्कुलमा गएपछि उनले बास्केटबल खेल्न थालिन् ।

‘मेरो उचाई पनि राम्रो थियो । स्कुलमा त्यहाँ बास्केटबलको माहोल भएकाले मैले त्यही खेल्न थालेँ । पछि राम्रो हुँदै गयो,’ त्यसपछि उनले स्कुल स्तरदेखि राष्ट्रिय टिमसम्म स्थान बनाइन् । राष्ट्रिय टिमको कप्तान नै बनिन् । अहिले उनलाई बास्केटबल लागेकोमा गुनासो छैन ।

भविष्यको लक्ष्य

खेल्नका साथसाथै उनी अहिले नयाँ खेलाडीहरुलाई सिकाउन थालेकी छिन् । जसरी उनले बास्केटबल सिकिन्, अहिले त्यसैगरी अरुलाई सिकाउँछिन् । नयाँ खेलाडीहरुले पनि फोन गरेर के गर्ने, कसो गर्ने भनेर सोध्नेगरेको सदिनाले सुनाइन् ।

अब उपत्यका बाहिर गएर खेलाडीहरु खोज्नुपर्ने उनको विचार छ ।

‘ठूला कर्पोरेट हाउसहरुले पनि बास्केटबललाई सपोर्ट गर्नुपर्छ । बास्केटबलको पनि ठूलो गेम हुनुपर्छ । यसमा संघले पनि केही गर्नुपर्छ । हामीले बर्षको एक-दुई गेम खेल्छौँ त्यसले पुग्दैन ।’ सदिनाले भनिन् ।

सदिनालाई पनि नेपाली बास्केटबलमा धेरै काम गर्ने इच्छा छ । भविष्यमा राष्ट्रिय टिमलाई प्रशिक्षण दिने सोच छ उनको ।

‘अब कति खेल्छु थाहा छैन । एक दिन सन्न्यास लिनैपर्छ । मैले अन्तर्राष्ट्रिय कोचिङ कोर्स पनि गरेको छु । त्यो राम्रो पनि भएको थियो । आफूले गरेको हिसावले म प्रशिक्षण गर्न सक्छु जस्तो लाग्छ ।’ उनले भनिन् ।

जर्मनीबाट बास्केटबलको अन्तर्राष्ट्रिय कोर्स पूरा गरेकी सदिनाले महिला मात्र होइन पुरुष टोलीलाई समेत प्रशिक्षण दिइसकेका छन् । गत सिजनमा भएको नेपाल बास्केटबल लिगमा सदिनाले पुरुष टिमको प्रशिक्षण सम्हालेकी थिइन् ।

‘टिममा मभन्दा ठूला दाईहरु पनि हुनुहुन्यो । मैले त्यहाँ प्रशिक्षक बनेर पनि धेरै कुरा सिक्ने मौका पाएँ । लिगमा मेरो पहिलो अनुभव हो केटाहरुको टिमको कोचिङ गरेको । पछि मेरो पनि गेम भएकोले प्रतियोगिताको आधा समय मात्र कोचिङ गर्न पाएँ ।’ सदिनाले भनिन् ।

खेल्दै कोचिङ गर्दा रमाइलो हुने र गाह्रो पनि हुने उनको अनुभव छ ।

सन् २०१४ मा इन्चोन एसियाड खेलेकी सदिनाले २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपाली यू२३ टिमको प्रशिक्षण सम्हालेकी थिइन् ।

‘हाम्रोमा खेलाडी आउन गाह्रो छ । पहिलाको जस्तो माहोल पनि नभएको जस्तो लाग्छ,’ सदिनाको यो भनाइमा तितो सत्य लुकेको छ । यसले पनि नेपाली बास्केटबलको स्तर कहाँ छ भन्ने संकेत गर्छ ।

‘एकपटक पदक जित्यो भन्दैमा सँधै उस्तै हुँदैन,’ सदिना भन्छिन्, ‘सरकार, संघलगायत कर्पोरेट हाउसले पनि सोच्नुपर्ने बेला आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment