Comments Add Comment

कथा : अन्जान

सन्देशको डायरीबाट…

अर्को जन्ममा भेटौंला । अनि, मलाई कुरे है अर्को जन्ममा ? भरिएका आँखाबाट आँशु झरे ।

अर्को जन्मको कुरामा म विश्वास गर्दिनँ । मुसुक्क हाँस्दै उत्तर दिइन् ।

त्यसो भए अर्को जन्म भएछ भने भेटौंला । सहजै भनें ।

अर्को जन्ममा म मान्छे नै हुन्छु भन्ने के छ र, कमिला भएँ भने ? जिस्किन खोजिन् ।

म पनि कमिला हुँला मैले थपें ।

ताँती मिलाएर चिनी चोर्न जाउँला । मुहार उज्यालो बनाएर भनिन् ।

मेरो भाग्य । कुरा छोट्याएँ ।

इसारा गर्दै भनिन्, भित्रै बसौं, भित्र कफी सप छ ।

सन्तोष खतिवडा

बन्दरा नाइके अन्तर्राष्ट्रिय एयरपोर्ट कोलम्बोभित्र छिर्न खोज्दा हामीलाई गार्डले रोक्यो । मैले मेरो टिकट र पासपोर्ट देखाएँ । उनले खै केको हो कार्ड देखाइन्, गार्डले दुवैलाई छाडिदियो ।

कफी सपमा उनैले बेरालाई बोलाइन् । कफीको स्पेसिफिकेशन त उही छ नि ?उनले सोधिन् ।

म झस्किएँ । सायद आँखा उनैलाई हेरिरहेका थिए ।

बेराले कफी ल्यायो, कालो कफी मेरो अगाडि राख्यो, अनि गिलासको पानी मात्रै उनको अगाडि ।

आफूलाई खै त ? मैले सोधें ।

‘म कफी, चिया केही खान्न त, बिर्सनु भयो ? तपाईंको चिनी नभएको कालो कफी मलाई त याद छ ।’ उनको अनुहार गर्विलो भयो ।

मनमनै भनें– (तिमीलाई के याद छ, अनि मलाई के याद छ त्यो सबै मलाई थाहा छ ।)

हैन तिमी खान्नौ भन्ने थाहा थियो, समयसँगै, मनसँगै बदलियौ कि भनेर ।

कफी चिसो भयो खानुस् ।

तिमीलाई केही मगाउ न । मलाई एक्लै खान अप्ठ्यारो लाग्यो ।

म तातो पानी पिउँदैछु त, हातको गिलासतर्फ इसारा गरिन् ।

सम्बादकै बीच पनि मौनता हावी थियो । ह्याण्ड ब्यागबाट एउटा भिजिटिङ कार्ड निकालिन् र म तर्फ तेस्र्याउँदै भनिन् । मेरो भिजिटिङ कार्ड देख्दा खुसी हुनुहुन्छ होला ।

मैले भनें, ल बधाई छ, बिजनेश मेन भयौ ।

उनले भनिन्, मेन होइन, बिजनेश उमेन भन्नुस् न । म बिजनेश उमेन भन्न रुचाउँछु ।

उनलाई सानो उपहार लगिदिएको थिएँ, तर दिने हिम्मत जुटाउन सकिरहेको थिइनँ ।

‘प्लेनको टाइम हुन लाग्यो, कहाँ हो तँ, नजाने हो कि क्या हो नेपाल ?’ भाइबरमा म्यासेज गर्यो सँगै गएको साथी बिराजले । कफी सकिइसकेको थियो ।

जान्छु है म ? उठ्न खोज्दै भनें । हातमा लगेको उपहारको सानो थैलो अघि नै टेबलमाथि राखिसकेको थिएँ । म हिँड्न खोंजे ।

सामान छुट्यो त, उनले भनिन् ।

तिम्रो लागि हो त्यो । काँपेका थिए आवाजहरु ।

मलाई दिनु पर्दैन त ? टेबलमा छोड्ने हो त ? उनले भनिन् ।

डर लाग्यो, उपहार लिन कहिल्यै मान्थेनौ नि त्यसैले… । थप बोल्नै परेन ।

उनले टिपेर ब्यागमा राखिन् ।

जान्छु है, अनुमति मागें ।

उनले हुन्छ भन्दै टाउको हल्लाइन् । उनको ओठबाट बाई भन्ने शब्द निक्लियो ।

सरी, बाई नभन ।

के भन्नु त टाटा ? योचाहिँ ठीक छ ?

बाइ फर इभर, यो ठीक छ । मैले भनें ।

अर्को जन्ममा भेटौंला, कमिला, ताँती अनि चिनी ।

उनी हाँसिन् ।

म हिँडे सरासर चेक इन काउण्टरतर्फ । उनीतर्फ नहेरीकनै मनमनै भनें, म मर्दैछु अन्जान । तिमीलाई बताउन सकिनँ, बताएरै पनि के फरक पर्थ्यो र तिमीलाई ।

बिराज चेक इन काउन्टर अगाडि नै कुरिरहेको थियो । बन्द हुन लागिसकेको काउन्टरको स्टाफलाई अनुरोध गरेर रोकिराखेको रहेछ उसले । दुवैका आँखामा मप्रतिको आक्रोश देख्न सक्थें मैले । बिराजको आँखामाचाहिँ आक्रोशभन्दा सहानुभूति बढी थियो कि !

औषधी खाइस् ? पासपोर्ट मेरो हातबाट थुत्दै बिराजले भन्यो ।

तल-माथि र दायाँ-वायाँ दुवै तिर हल्लियो मेरो टाउको ।

औषधी खाएको थिइनँ तर बिराजले गाली गर्छ भन्ने डरले तल-माथि पनि हल्लाइदिएँ । यसरी टाउको हल्लाउन पनि अन्जानसँगै सिकेको थिएँ मैले । दुवैतिर हल्लिएको अन्जानको टाउकोले धेरैपटक अन्यौलमा राखेको थियो मलाई ।

म केही दिनदेखि ब्लड क्यान्सरले पीडित थिएँ । उच्च आत्मविश्वासले मात्र होला मलाई रोगले ढाल्न सकेको थिएन ।

उनी आफ्नै पुरानो मान्छेको कथा सुनाउँथिन् । मसँग भएर पनि अन्तै कतै हराएकी हुन्थिन् उनी । झण्डै एक वर्ष हुन लागेको थियो हाम्रो साथको । एक्कासी उनले फोन गरिन् र हडबडाउँदै  सरप्राइज दिने कुरा सुनाइन्

श्रीलंकाको मात्रा भन्ने ठाउँमा तेश्रो अन्तर्राष्ट्रिय बिजनेश म्यानेजमेन्ट र इकोनोमिक्स (आईसीबिएमई) सम्वन्धी सम्मेलनमा वक्ताको रुपमा बिराजको साथमा पुगेको थिएँ म ।

प्लेनको सिटबेल्ट बाँधेर आँखा झकाउँदा आँखाको नानी अगाडिको डिलको भित्री भित्तामा अन्जान आइपुगिन् । केही वर्ष पहिलेकी अन्जान । मैले पहिलो पटक भेटेकी अन्जान ।

म अफिसबाट निस्किसकेको थिएँ । मेरो मोबाइलमा नचिनेको नम्बरबाट फोन आयो । फोन उठाउँ या नउठाउँको दुविधामा मैले फोन उठाएको थिएँ । उताबाट नारी आवाज आयो । तिमी कहाँ हो दिनभरि मलाई कुराएर ? आवाज अलि रुखो नै थियो, आक्रोशले रुखो बनाएको थियो सायद ।

म…? म त अफिसबाट निक्लिँदै छु त । मैले जवाफ दिएँ ।

मलाई थाहा भैसकेको थियो त्यो फोन मेरो लागि थिएन ।

ए सरी….रङ नम्बर परेछ, स्वभाविक मेरो अपेक्षाको उल्टो उताबाट को बोल्नु भयो भन्ने अर्को प्रश्न पाएँ मैले ।

म सन्देश बोल्दैछु । हजुरले कसलाई गर्नु भएको थियो र ? मैले पनि गरिदिएँ प्रतिप्रश्न ।

ए रङ नम्बर पो परेछ सरी… उताको आवाज सुनियो ।

रङ नम्बर भन्ने तपाईंलाई पहिले नै थाहा थियो । मैले फोन राखिदिएँ ।

यो नम्बरबाट कल वा मिसकल आउन थालेथ्यो । धेरैपटक मेरो मोबाइलमा त्यो नम्बर देखेपछि मैले सेभ गरें ‘अन्जान’ नाम दिएर ।

संयोग पनि कस्तो ? जतिबेला अन्जानले झुक्किएर मेरो मोबाइलमा कल गरेकी थिइन् र अन्जानमै मलाई गाली गरेकी थिइन् ढीला गरेको भन्दै, त्यतिबेलैदेखि हराएको रहेछ उनको खास मान्छे । पछाडिका पाँचवटै नम्बर मिलेको कारणले हतारमा गरिएको फोन मलाई आएको रहेछ ।

उनको यस्तै अरु दुई–चार कल आउँदा मलाई कत्ति शंका लागेन उनको नियतमाथि । कारण उनको हरेक कलमा उनी अत्तालिएजस्तो लाग्थ्यो । अनि मैले पनि उनीप्रति सहानुभूति नै राख्थें । तराई आन्दोलन चर्किरहँदा अपहरणमा परेको उनको मान्छेको खोजीको लागि साथी चाहिएको थियो उनलाई । सायद त्यसैले छिट्टै नजिकिएका थियौं हामी ।

अन्जानको वास्तविक नाम धेरै समयसम्म थाहा थिएन मलाई । थाहा पाएपछि पनि मैले उनलाई नमिता नभनेर अन्जान नै भन्ने गर्थें । अनि उनी त्यही नाममा खुसी थिइन् ।

उनको मान्छेको खोजीको लागि कहाँ–कहाँ पुगेनौं हामी ? कहिले प्रहरी, कहिले आन्दोलनरत राजनीतिक दल त कहिले आपराधिक समूह । उनको मान्छेको खोजीको लागि म नै सबैभन्दा नजिकको साथी बनें । जति समय उनी मसँग हुन्थिन्, उसैको कुरा गर्थिन् । कुरा गर्दागर्दै गहभरि आँशु पारेर ऊविना बाँच्न नसक्ने कुरा सुनाउँथिन् । सान्त्वना दिने नजिकको म मात्रै थिएँ । खोजीमा दिन, हप्ता र महिना बिते । तर उनको आँशु रोकिएन ।

आफ्नो मान्छेको कुरा यति गर्थिन् कि उनी, कयौं पटक आँशु रोक्न गाह्रो पर्थ्यो मलाई । उनको अनुपस्थितिमै पनि म प्रहरी प्रशासन धेरै पटक धाएको थिएँ । अनि, यो निष्कर्षमा पुगेको थिएँ कि उनको मान्छे फर्केर आउने सम्भावना छैन । म पहिलो पटक कोही केटी मान्छेसँग यति आत्मीय बनेको थिएँ र प्रेम के हो महसुस गरिरहेको थिएँ । सायद त्यसैले होला उनीसँगै जीवन बिताउने र साथ दिने प्रस्ताव राखेँ मैले डराइडराइ । तर मेरो डर धेरै समय कायम रहेन, उनले मौन स्वीकृति दिइन् ।

उनको पीडा सम्झँदा आफ्नै जस्तो लाग्थ्यो, अनि उनलाई पाएकोमा भाग्यमानी पनि । हामी जतिजति माया पिरतीका कुरा गर्थ्यौं, त्यतित्यति उनी आफ्नै पुरानो मान्छेको कथा सुनाउँथिन् । मसँग भएर पनि अन्तै कतै हराएकी हुन्थिन् उनी ।

झण्डै एक वर्ष हुन लागेको थियो हाम्रो साथको । एक्कासी उनले फोन गरिन् र हडबडाउँदै  सरप्राइज दिने कुरा सुनाइन् ।

मैले पनि अनुमति दिएँ ।

अन्जानको रुवाइ कोठैभरि गुन्जियो । मेरा आँखा असाध्यै पोल्यो । हेर्नै सकिनँ । आँखा चिम्लिएँ, आँखाको डिलको भित्री पर्दामा म र अन्जान दुवै हाँसिरहेका थियौं

उनी आइन् ।

तर यस पटक उनी एक्लै थिइनन् । हराएको उनको मान्छे र लुटिएको उनको खुसी सँगै थियो ।

अन्जानलाई म मायाँ गर्थें । प्रेमको त्यो गहिराइमा थिएँ म, जहाँ आफ्नो खुसीभन्दा अरुको खुसी हेरिन्छ । जहाँ आफ्नो सपनाभन्दा अरुको सपनालाई महत्व दिइन्छ, जहाँ आफ्नो लक्ष्य उद्देश्य र गन्तव्यभन्दा अरुको लक्ष्य, उद्देश्य र गन्तव्यको वढी चिन्ता हुन्छ । अन्जान मेरोलागि सबैथोक थिइन् । सधैं भन्ने गर्थें, तिमी हजारौं मान्छेहरुको भीडमा उभिएर आफू उनीहरुभन्दा पृथक भएको कुरा गर्न सक्ने हुन्छौं, बल्ल पूरा हुन्छ मेरो सपना, मेरो उद्देश्य । उनी भन्थिन्– मलाई पनि बिजनेस गर्नुछ । म हाँसेर भन्थें– मलाई पनि तिमीलाई बिजनेस गराउनुछ ।

अन्जान आफ्नो फरक पहिचान बनाउन चाहन्थिन् । अन्जान मेरी थिइन्, तर नमिता मेरी थिइनन् । अन्जान आफ्नो मान्छेसँग भइरहँदा पनि मसँग कुनै न कुनै किसिमले सम्पर्कमा रहिरहन्थिन् । लाग्थ्यो उनी अन्यौलमा थिइन् । सायद त्यसैले होला उनी टाढिन चाहन्थिन् मबाट, उनी श्रीलंका गएको कुरा धेरैपछि मात्रै थाहा पाएको थिएँ मैले ।

एयर होस्टेजले मेरो अगाडिको खाना राख्ने ट्रे खोलिदिएपछि म ब्युँझिएँ, निद्राबाट होइन तन्द्राबाट । बनावटी मुस्कानको औपचारिकतासहित उसले सोधी भेज अर नन भेज ? एयर होस्टेजको यो प्रश्नमा पनि मैले दुई तिर टाउको हल्लाएँ अन्जानले जस्तै । एयर होस्टेज कन्फ्युज भइ । जसरी म अन्जानको अगाडि धेरै पटक कन्फ्युज भएको थिएँ । अन्जान श्रीलंका जानु अगाडिसम्म पनि म कन्फ्युज नै थिएँ ।

काठमाडौं फर्किएपछि मलाई झन् रोगले गाल्दै लग्यो । राति ज्वरो आउने, थकान महसुस हुने । मेरो शरीरको तौल दिनदिनै घट्दै थियो, मानौं म तौलविहीन भएर नै यो संसार छाड्नेछु । म मर्दै थिएँ, मेरा सपनाहरु मर्दै थिए, मेरो लक्ष्य, जीवनका उद्देश्यहरु सबै अपुरो हुँदै थिए ।

मेरा संगी र आफन्तहरु अल्पायुको मेरो मृत्युको सम्झना गर्दा पनि भक्कानिन्थे । मेरो अगाडि रुँदा मलाई गाह्रो हुन्छ भेनेर होला, दायाँ–वायाँ कुनातिर फर्केर आँशु पुछ्थे । साक्कसुक्क बाहिर आउन खोज्ने आवाजहरु दवाएर घाँटी सफा गरे जस्तो गर्थे या तानेर बलैले खोक्थे । शरीर सुकेर आफ्नो शरीर आफैंलाई हलुका लाग्न थालेको थियो । मृत्यु जुनसुकै बेला मेरो सम्मुख आउन सक्थ्यो । मान्छे मृत्युको भयले भाग्छ, जीवनको औसत समय मृत्युको कल्पनामा पनि डरले काँप्न थाल्छ । आफूसँग भएका सबै कुरा दिएर आयु किन्न पनि तयार हुन्छ । तर म अपवाद निक्लिएँ । मलाई मर्न पटक्कै डर लागेको थिएन । बरु, छिटो मर्न पाए अर्को जन्म छिटै अन्जानसँगै जिउने गरी जन्मने इच्छाले मृत्युलाई नजिक बोलाउन मन लागिरहेको थियो ।

अस्पतालको बेडमा अस्थिपञ्जर मात्र बाँकी रहेको, किमोथेरापीले कमजोर र सिथिल बनाएको मेरो शरीर तर सम्झना भने तेज, झनै बुलन्द अनि सम्झनामा अन्जान । निद्रामा हो कि तन्द्रामा हो, अन्जानकै नाम लिएर बर्बराउँदो रहेछु ।

‘अन्जान मेरो यो जन्मको प्रेमिका अनि अर्को जन्मको सहयात्री । छिट्टै मर्दैछु म, तिमीलाई अर्को जन्ममा भेट्न आतुर छु म,’ यस्तै आवाजहरु कति स्पष्ट, कति अस्पष्ट मुखबाट बाहिरिँदा रहेछन् ।

मुडुलो टाउको, गालाको रंगसँग ठ्याक्कै मिल्ने गरी मुडुलो । आफ्नो अनुहार ऐनामा हेर्दा आफैंलाई बिरानो लाग्थ्यो । किमो थेरापीको साइड इफेक्ट होला, आँखा असाध्यै पोल्थ्यो । हेर्न गाह्रो हुने, आँखा चिम्ल्यो, आँखा अगाडि अन्जान आइपुग्थिन् । आँखा अगाडिको अन्जानसँग गफ गर्दा हाँस्दा रहेछन् मेरा ओठहरु । मलाई हस्पिटलमा कुर्न बसेका आफन्तहरु पनि कुरा गरिरहन्थे, कस्तो अचम्म ! यस्तो पीडामा पनि हाँस्ने बिरामी ।

बिराज बेला–बेलामा आउँथ्यो । आँखा चिम्लिएर म अन्जानसँगै कुरा गर्दै थिएँ । बिराजकै आवाज जस्तो लाग्यो । सन्देश, के बोल्दैछस् ? आँखा खोल् त । आँखा बलैले खोलें । खै खोलिएन कि क्या हो । अन्जान नै देखें । तर यस पटक भने अन्जान साँच्चै आएकी थिइन् । उनीसँग बिराज, भाइ र अन्य थुप्रै आफन्तहरु पनि देखें । सबैका आँखा रोइरहेका देखें । अन्जान पनि रोइरहेकी थिइन् । अन्जानको आँखाको आँसुले केमो थेरापीको पीडा अनि क्यान्सरको चर्काइभन्दा धेरै पोल्यो मलाई ।

अन्जान तिमी किन रोएको ? भक्कानिएँ म पनि ।

के भयो तपाईंलाई ? अन्जानले रुन्चे स्वरमा सोधिन् ।

केही भएको छैन त, तिमी आयौं, जे भएको भए पनि ठीक हुन्छ, ओठहरु हाँस्न खोजे मेरा । म हाँसे । कोठाभित्र भएका सबैजना रोए ।

मलाई त छिटो मर्नु थियो अन्जान, अर्को जन्ममा तिमीलाई पाउनलाई । अर्को जन्ममा मलाई आफ्नो बनाउँछौं अन्जान ? तिमी कमिला भयौ भने म पनि कमिला नै हुँला, ताँती मिलाएर… मेरो आवाज रोकियो । अन्जानको रुवाइ कोठैभरि गुन्जियो । मेरा आँखा असाध्यै पोल्यो । हेर्नै सकिनँ । आँखा चिम्लिएँ, आँखाको डिलको भित्री पर्दामा म र अन्जान दुवै हाँसिरहेका थियौं । सायद म कल्पनाको अर्को जन्ममा पुगिसकेको थिएँ ।

बिराजको कलमबाट

सन्देश अचेत भएपछि नमिता कोठाबाट रुँदै बाहिरिइन् । सबै जना रुन थाले । म डाक्टर बोलाउन गएँ । डाक्टर र नर्सहरु कोठाभरि भए । सन्देशलाई निकै गाह्रो भैसकेको थियो । उसको श्वाशप्रश्वास बढिरहेको थियो । हात खुट्टाहरु चिसिएका थिए । अस्थिपञ्जर मात्र बाँकी रहेको शरीर छटपटिरहेको थियो । हात काँपीरहेका थिए, काँपेका हातका औंलाले विस्तारै मलाई बोलाएझैं लाग्यो । उसले इसारा गरेपछि उसको डायरी बटुलें । जुन डायरी ऊ आफैसँग राख्थ्यो र भर्खरसम्म पनि लेखिरहेको थियो ।

उसले केही बोलेझैं लाग्यो, मसिनो आवाज कोठामा सुनिएन । म उसको नजिक पुगें । घ्यार–घ्यार बढेको श्वाससँगै अन्जान… अन्जान… भन्दै थियो । एकैछिनमा बढेको श्वास मसिनो हुँदै बिलायो । अर्को जन्ममा अन्जानसँगै फेरि जन्मने चाहना राख्दै बिलायो मेरो साथी सन्देश, कथा जस्तो लाग्ने यो वास्तविक प्रेम कथा उसैका शब्दमा छोडेर । सधैं सधैंका लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment