+
+

यस वर्षको मनसुन : २६२ जनाको ज्यान लियो, अब बाहिरिने तर्खरमा

विनोद घिमिरे विनोद घिमिरे
२०७७ भदौ २१ गते १६:१४

२१ भदौ, काठमाडौं । नेपालमा गत जेठ ३० गते भित्रिएको यो वर्षको मनसुन कमजोर भएको छ । अब नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको मौसमविदहरु बताउँछन् ।

नेपालमा मनसुन भित्रिने औसत मिति १० जुन हो भने बाहिरिने मिति २३ सेप्टेम्बर हो । तर, कहिलेकाहिँ दुई-चार दिन ढिला हुन सक्ने मौसमविद बताउँछन् ।

२३ सेप्टेम्बर (असोज ७ गते) आउन अझै १६ दिन बाँकी रहेकाले यस वर्षको मनसुन कहिले बाहिरिन्छ भनेर एकिनका साथ मौसमविदले भन्न सकेका छैनन् ।

वरिष्ठ मौसमविद बरुण पौडेल भन्छन्, ‘अहिले मनसुन कमजोर हुँदै गएको छ र तर मनसुन कहिले बाहिरिन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । त्यसका बिभिन्न मापकहरु हुन्छन् ।’

मनसुन पूर्वी नेपालबाट भित्रिएर पश्चिम नेपालबाट बाहिरिन्छ । मनसुन बाहिरिन पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ ।

जाडोको वायु पश्चिमबाट चल्छ । ‘जाडोको वायुका साथै मनसुनका अरु धेरै प्रणालीहरु पनि छन्, त्यो सबै बाहिरिँदै जानुपर्छ ।
स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर यो वर्षको मनसुन बाहिरियो भनेर हामी भन्न सक्छौं,’ वरिष्ठ मौसमविद पौडेलले भने ।

यस वर्षको मनसुन कस्तो रह्यो ?

जल तथा मौसम विज्ञान विभागले मनसुन नभित्रिँदै नेपालमा औसत वषर्ा हुने प्रक्षेपण गरेको थियो । सोही प्रक्षेपणअनुसार नेपालमा सरदर नै पानी परेको छ ।

‘मनसुनको समग्र रिपोर्ट मनसुन बाहिरिसकेपछि मात्रै सार्वजनिक गर्छौं,’ मौसमविद पौडेलले भने, ‘तर अहिले सरसर्ती हेर्दाचाहिँ चार महिनाको मनसुन अवधिमा नियमित वर्षा जति हुनुपर्ने हो, त्यति नै भएको छ । कतिपय ठाउँमा औसतभन्दा बढी पनि वर्षा भएको रेकर्ड छ ।’

मौसमविदका अनुसार मनसुनको सुरुको महिना (जून महिना)बाहेक अरु महिनामा औसत र औसतभन्दा बढी पनि वर्षा भएको छ । अगष्ट महिनामा पनि औसतभन्दा बढी नै पानी परेको छ । यो वर्ष मनसुनमा औसत पानी परेकाले कृषि प्रणालीमा सकारात्मक प्रभाव परेको बताइन्छ ।

मनसुन अवधिमा भएको क्षति

मनसुनको प्रकृतिअनुसार कतिपय स्थानहरुमा बाढी पहिरो र डुबानका समस्या देखिए । बाढी पहिरोमा परेर दर्जनौंको ज्यान गुम्यो भने भौतिक संरचना र खेतियोग्य जमिन पनि गुमेको छ ।

यस वर्ष मनसुन सुरु भएपछि भदौ १८ गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी २६२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ ।

गृहमन्त्रालयका अनुसार पहिरोका कारण ३ करोड ६४ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । सबैभन्दा धेरै भौतिक क्षति व्यहोर्ने जिल्ला ताप्लेजुङ हो ।

यसैगरी आर्थिकरुपमा बढी क्षति व्यहोर्ने जिल्लाको सूचीमा मोरङलाई गृहमन्त्रालयले पहिलो नम्बरमा राखेको छ ।

तत्कालको अवस्था कस्तो छ ?

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । निम्न चापीय रेखा नेपालमाथि परेको भए मध्यमदेखि भारीसम्म वर्षा हुन्थ्यो । निम्न चापीय रेखा नेपालको ठीक माथि नभएकाले तत्कालका लागि भारी वषर्ाको सम्भावना छैन ।

यद्यपि अन्य मौसमी प्रणालीका कारण एक-दुई स्थानमा भारी वषर्ा हुन सक्ने अनुमान मौसमविद गर्छन् ।

शनिबार रातिकै कुरा गर्ने हो भने लम्जुङका बेंसीशहर, खुदीबजार लगायतका स्थान र ती स्थान आसपासमा भारी वषर्ा मापन भएको छ । यसैगरी शनिबार राति नै गोरखाको बारपाक र आसपासका क्षेत्रमा अति भारी वषर्ा भएको थियो ।

आज (आइतबार) कोशी, नारायणी, कन्काई, कमला र बागमती जलाधार क्षेत्रका केही स्थानमा मध्यमखालको वषर्ाको सम्भावना औंल्याइएको छ ।

‘मनसुन एक्टिभ गर्नेखालको प्रणाली कुनै विकसित भयो भने पानी पर्ने सम्भावना त हुन सक्छ । नत्र सामान्य रुपमा भन्दा अब मनसुन कमजोर भइसकेको छ,’ मौसमविद पौडेल भन्छन्, ‘यो हप्ता बिभिन्न ठाउँमा अलिअलि वर्षा हुन सक्ने देखिन्छ । उदाहरणको लागि गण्डकी प्रदेशको पोखरातिर बढी पानी पर्ने, प्रदेश १ को धनकुटातिर बढी पानी पर्ने, यस्तो खालको हुनसक्छ ।’

काठमाडौं उपत्यकाको हकमा सोमबार र मंगलबार पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । ‘काठमाडौंमा आज अलिअलि बदलीजस्तो छ । भोलि पनि बदली हुने सम्भावना छ । भोलि-पर्सि काठमाडौं भ्यालीभित्र पानी पर्ने सम्भावना देखिन्छ,’ उनले भने ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?