Comments Add Comment

अन्तिम लिग खेलमा पनि जमैका पराजित, सन्दीपको १ विकेट

२२ भदौ, काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा हार व्यहोरेको छ ।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको जमैका लिग चरणकै अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको हो । खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरेपनि ब्याटिङमा जमैकाले राम्रो गर्न नसक्दा पराजित हुन पुग्यो ।

जमैकाले आफ्नो पहिलो लिग खेलमा जुक्सलाई पराजित गरेको थियो । ६ टिममध्ये लिगमा चौथो भएको जमैकाले सेमिफाइनलमा लिगको शीर्ष स्थानमा रहेको ट्रिनबागो नाइट राइडर्ससँग खेल्नेछ ।

सोमबार बिहान भएको खेलमा  जुक्सले दिएको १४६ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्सले ४९ तथा जर्मेन ब्ल्याकउड र निकोलस किर्तनले समान २५ रन बनाए । जुक्सका लागि जाहिर खान र जेभिले ग्लेनले ३-३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । जुक्सका लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ३५ रन बनाए । यस्तै रकिम कर्नवेलले ३२ रन जोड्दा रोस्टन चेजले अविजित ३२ रन बनाए ।

जमैकाका लागि मुजिव उर रहेमानले २ विकेट लिए । यस्तै सन्दीपसहित फिडेल एडवार्ड्स भिरास्वामी परमुल र कार्लोस ब्रेथवेइटले १-१ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर १ विकेट लिए । सन्दीपले लिग चरणमा खेलेका १० मध्ये ९ खेलमा विकेट लिए । वर्षाले नतिजाविहिन भएको एक खेलमा भने सन्दीपले बलिङ नै गर्न पाएनन् ।

ट्रिनबागोको लगातार १०औं जित

यस सिजन अपराजित रहेको ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिट प्याट्रिओट्सलाई ९ विकेटले पारजित गर्दै लिगमा लगातार १०औं जित हात पारेको छ ।

ट्रिनबागोले प्याट्रिओट्सले दिएको ७८ रनको सामान्य लक्ष्य ११.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो । ट्रिनबागोका लागि टिओन वेब्स्टरले अविजित ४१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रिट्स १८.२ ओभरमा ७७ रनमा अलआउट भएको थियो । प्याट्रिओट्सका दिनेश रामदिनले सर्वाधिक १९ रन बनाए । प्याट्रिओट्सलाई अलआउट गर्न ट्रिनबागोका फवाद अहमदले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै अकिल हवसेनले २ विकेट लिए ।

अब पहिलो सेमिफाइनलमा ट्रिनबागोले मंगलबार जमैकासँग खेल्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनल गाएना अमेजन वारियर्स र जुक्सबीच बुधबार बिहान नेपाली समयअनुसार ३:१५ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment